स्थानीय तह निर्वाचन-२०७९ जारी : कुन मतदान केन्द्रमा के-के भयो ?
कतै उत्साह, कतै झडप

काठमाडौं । आज बिहानैदेखि देशभर स्थानीय तहको निर्वाचन जारी छ । अधिकांश मतदान केन्द्रका उत्साहपूर्ण मतदान भइरहेको छ भने केही स्थानमा झडपको सिर्जना भएको छ ।
पाँच वर्षका लागि स्थानीय तहका जनप्रतिनिधि चुन्न मतदान सुरु भईसकेको छ । देशैभर मतदान सुरु भएको निर्वाचन आयोगले जानकारी दिएको छ । मतदान साँझ ५ बजेसम्म जारी हुनेछ ।
६ महानगरपालिका, ११ उपमहानगरपालिका, २७६ नगरपालिका र ४६० गाउँपालिका गरी ७५३ स्ठानीय तह र ६७४३ वडाका ३५ हजार २२१ जनप्रतिनिध चयन गर्न आज मतदान हुँदैछ ।
कपिलवस्तुको महाराजगंज नगरपालिका र दाङको तुलसीपुर उपमहानगरपालिकाको एक वडासहित केही ठाउँमा भने आज मतदान हुनेछैन । उम्मेदवारको मृत्यु भएका कारण ती ठाउँमा छुट्टै मिति तय गरी निर्वाचन प्रकृया सुरु गरएको छ । ती ठाउँमा केही दिनपछि मात्रै मतदान हुनेछ ।
यसपटक मतदान गर्ने योग्य व्यक्ति एक करोड ७७ लाख ३३ हजार ७२३ जना रहेका छन् । जसमध्ये ८९ लाख ९२ हजार १० पुरुष छन् भने ८७ लाख ४१ हजार ५३० महिला, र १८३ अन्य छन् ।
कुन ठाँउको अवस्था कस्तो छ ?
स्थानीय तह निर्वाचनअन्तर्गत दोलखाको वैतेश्वर गाउँपालिकामा मतदान स्थगित भएको छ । मतदानका विषयमा दुई पक्षीय झडप हुँदा मतदान स्थगित भएको हो । वैतेश्वर कालिढुंगा मावि मतदान केन्द्रमा विवाद भएको प्रहरी प्रवक्ता एसएसपी विष्णु केसीले बताए ।
त्यस्तै मेलुङ गाउँपालिकाको वडा नम्बर ४ स्थित मतदान केन्द्रमा पनि तनाव भएपछि हवाई फायर भएको छ । दुई स्थानमा गरी १३ राउण्ड हवाई फायर भएको दोलखाका एसपी गंगा पौडेलले जानकारी दिए । दुवै स्थानमा मतदान स्थगित भएको छ भने अवस्थामा सामान्य बनाउन सर्वदलीय छलफल चलिरहेको छ । यस्तै, हुम्लामा मतदानका क्रममा झडप भएको छ । एक समूहले प्रहरीमाथि नै ढुंगामुढा गरेपछि प्रहरीले ७ राउण्ड गोली चलाएको छ ।
स्थानीयको ढुंगामुढाबाट मतदान अधिकृतसहित २ जना घाइते भएका छन् । माथिल्लो हुम्लाको तंखेली गाउँपालिका २ स्थित महादेव मावि मतदान केन्द्रमा सो तनाव भएको हो ।
ढुंगामुढाबाट मतदान अधिकृत कृष्ण प्रसाद आचार्य र कार्यालय सहयोगी घाइते भएको कर्णाली प्रदेश कार्यालयका एसएसपी राजेशनाथ बास्तोलाले जानकारी दिए । यता रामेछापमा पनि दुई स्थानमा गोली चलेको छ । दुई पक्षीय झडप हुँदा मतदान प्रभावित बनेको जिल्ला प्रहरी कार्यालय रामेछापका डीएसपी राजकुमार थिङले जानकारी दिए ।
दोरम्बा सैलुङ गाउँपालिकाको मानपुरकृष्ण मावि मतदान केन्द्रमा दुई पक्षीय झडप हुँदा एक राउण्ड गोली चलेको उनले बताए । यस्तै खाँणदेवी गाउँपालिका स्थित वडा नम्बर १ राकाथममा मतदान केन्द्रमा दुई पक्षीय झडपलाई नियन्त्रणमा लिन ७ राउण्ड हवाइ फायर भएको उनले बताए । दुबै स्थानमा मतदान सुचारु गराउन पहल भइरहेको निर्वाचन कार्यलयले जनाएको छ ।
सिन्धुपाल्चोकको ज्यामिरेमा मतदानका क्रममा झडप भएको छ । सिन्धुपाल्चोकको मेलम्ची–४ मा अशक्त र अपांगता भएका व्यक्तिहरुलाई आफन्तले नभई दलका प्रतिनिधिहरुले मतदान गर्न सघाएपछि केहीबेर तनाव भएको हो ।
मेलम्ची नगरपालिकाको ज्यामिरेमा रहेको स्वास्थ्य चौकीको बुथ कब्जाको प्रयास भएपछि नेपाली सेनाले स्थिति नियन्त्रणमा लिएको थियो । नेपाली सेनाले हतियार तेर्स्याएको तस्वीरमा देख्न सकिन्छ । अहिले सो स्थानमा स्थिति सामान्य रहेको छ ।
यस्तै पाँचपोखरी थाङपाल–२ को याङ्ग्री मतदान केन्द्रमा एउटा मतपत्रमा निर्वाचन अधिकृतको हस्ताक्षर छुटेको मतपत्र भेटिएपछि पनि केहीबेर तनाव भएको छ । सो मतदान केन्द्रको स्थिति पनि अहिले सामान्य रहेको छ ।
सिन्धुपाल्चोकका निर्वाचन अधिकृत विकाश शर्मा रिजालले जिल्लाका सबै स्थानमा शान्तिपूर्ण रुपले मतदान भइरहेको जानकारी दिए । यस्तै, बाजुराको बुढीनन्दा नगरपालिकास्थित मतदान केन्द्रमा तनाव भएपछि हवाई फायर भएको छ ।
बाजुराका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रबहादुर विष्टका अनुसार दुई पक्षबीच सामान्य विवादमा ढुंगा हानाहान भएपछि स्थितिलाई नियन्त्रणमा लिन हवाई फायर गरिएको छ । थप विवरण भने आउन बाँकी छ । त्यस्तै, ओखलढुंगाको चम्पादेवी गाउँपालिका–९ मिश्रभञ्ज्याङ मतदानस्थलमा मतदानको विषयलाई लिएर नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच विवाद भएको छ ।
विवाद भएपछि उत्पन्न स्थिति तनावग्रस्त हुँदा प्रहरीले ९ राउन्ड हवाई फायरसमेत गरेको छ । हाल मतदान स्थगित भई पुनः मतदान गर्ने विषयमा सर्वदलीय बैठक बसिरहेको छ । मत हाल्नका लागि अशक्त मतदाता नरबहादुर श्रेष्ठको नातिलाई लगेपछि विवाद सुरु भएको थियो । सोही विवाद चर्किँदा मतदानस्थलभित्रै कांग्रेस र एमालेका कार्यकर्ता प्रवेश गरेका थिए ।
प्रतिक्रिया