स्थानीय तह निर्वाचन-२०७९ जारी : कुन मतदान केन्द्रमा के-के भयो ?
कतै उत्साह, कतै झडप

काठमाडौं । आज बिहानैदेखि देशभर स्थानीय तहको निर्वाचन जारी छ । अधिकांश मतदान केन्द्रका उत्साहपूर्ण मतदान भइरहेको छ भने केही स्थानमा झडपको सिर्जना भएको छ ।
पाँच वर्षका लागि स्थानीय तहका जनप्रतिनिधि चुन्न मतदान सुरु भईसकेको छ । देशैभर मतदान सुरु भएको निर्वाचन आयोगले जानकारी दिएको छ । मतदान साँझ ५ बजेसम्म जारी हुनेछ ।
६ महानगरपालिका, ११ उपमहानगरपालिका, २७६ नगरपालिका र ४६० गाउँपालिका गरी ७५३ स्ठानीय तह र ६७४३ वडाका ३५ हजार २२१ जनप्रतिनिध चयन गर्न आज मतदान हुँदैछ ।
कपिलवस्तुको महाराजगंज नगरपालिका र दाङको तुलसीपुर उपमहानगरपालिकाको एक वडासहित केही ठाउँमा भने आज मतदान हुनेछैन । उम्मेदवारको मृत्यु भएका कारण ती ठाउँमा छुट्टै मिति तय गरी निर्वाचन प्रकृया सुरु गरएको छ । ती ठाउँमा केही दिनपछि मात्रै मतदान हुनेछ ।
यसपटक मतदान गर्ने योग्य व्यक्ति एक करोड ७७ लाख ३३ हजार ७२३ जना रहेका छन् । जसमध्ये ८९ लाख ९२ हजार १० पुरुष छन् भने ८७ लाख ४१ हजार ५३० महिला, र १८३ अन्य छन् ।
कुन ठाँउको अवस्था कस्तो छ ?
स्थानीय तह निर्वाचनअन्तर्गत दोलखाको वैतेश्वर गाउँपालिकामा मतदान स्थगित भएको छ । मतदानका विषयमा दुई पक्षीय झडप हुँदा मतदान स्थगित भएको हो । वैतेश्वर कालिढुंगा मावि मतदान केन्द्रमा विवाद भएको प्रहरी प्रवक्ता एसएसपी विष्णु केसीले बताए ।
त्यस्तै मेलुङ गाउँपालिकाको वडा नम्बर ४ स्थित मतदान केन्द्रमा पनि तनाव भएपछि हवाई फायर भएको छ । दुई स्थानमा गरी १३ राउण्ड हवाई फायर भएको दोलखाका एसपी गंगा पौडेलले जानकारी दिए । दुवै स्थानमा मतदान स्थगित भएको छ भने अवस्थामा सामान्य बनाउन सर्वदलीय छलफल चलिरहेको छ । यस्तै, हुम्लामा मतदानका क्रममा झडप भएको छ । एक समूहले प्रहरीमाथि नै ढुंगामुढा गरेपछि प्रहरीले ७ राउण्ड गोली चलाएको छ ।
स्थानीयको ढुंगामुढाबाट मतदान अधिकृतसहित २ जना घाइते भएका छन् । माथिल्लो हुम्लाको तंखेली गाउँपालिका २ स्थित महादेव मावि मतदान केन्द्रमा सो तनाव भएको हो ।
ढुंगामुढाबाट मतदान अधिकृत कृष्ण प्रसाद आचार्य र कार्यालय सहयोगी घाइते भएको कर्णाली प्रदेश कार्यालयका एसएसपी राजेशनाथ बास्तोलाले जानकारी दिए । यता रामेछापमा पनि दुई स्थानमा गोली चलेको छ । दुई पक्षीय झडप हुँदा मतदान प्रभावित बनेको जिल्ला प्रहरी कार्यालय रामेछापका डीएसपी राजकुमार थिङले जानकारी दिए ।
दोरम्बा सैलुङ गाउँपालिकाको मानपुरकृष्ण मावि मतदान केन्द्रमा दुई पक्षीय झडप हुँदा एक राउण्ड गोली चलेको उनले बताए । यस्तै खाँणदेवी गाउँपालिका स्थित वडा नम्बर १ राकाथममा मतदान केन्द्रमा दुई पक्षीय झडपलाई नियन्त्रणमा लिन ७ राउण्ड हवाइ फायर भएको उनले बताए । दुबै स्थानमा मतदान सुचारु गराउन पहल भइरहेको निर्वाचन कार्यलयले जनाएको छ ।
सिन्धुपाल्चोकको ज्यामिरेमा मतदानका क्रममा झडप भएको छ । सिन्धुपाल्चोकको मेलम्ची–४ मा अशक्त र अपांगता भएका व्यक्तिहरुलाई आफन्तले नभई दलका प्रतिनिधिहरुले मतदान गर्न सघाएपछि केहीबेर तनाव भएको हो ।
मेलम्ची नगरपालिकाको ज्यामिरेमा रहेको स्वास्थ्य चौकीको बुथ कब्जाको प्रयास भएपछि नेपाली सेनाले स्थिति नियन्त्रणमा लिएको थियो । नेपाली सेनाले हतियार तेर्स्याएको तस्वीरमा देख्न सकिन्छ । अहिले सो स्थानमा स्थिति सामान्य रहेको छ ।
यस्तै पाँचपोखरी थाङपाल–२ को याङ्ग्री मतदान केन्द्रमा एउटा मतपत्रमा निर्वाचन अधिकृतको हस्ताक्षर छुटेको मतपत्र भेटिएपछि पनि केहीबेर तनाव भएको छ । सो मतदान केन्द्रको स्थिति पनि अहिले सामान्य रहेको छ ।
सिन्धुपाल्चोकका निर्वाचन अधिकृत विकाश शर्मा रिजालले जिल्लाका सबै स्थानमा शान्तिपूर्ण रुपले मतदान भइरहेको जानकारी दिए । यस्तै, बाजुराको बुढीनन्दा नगरपालिकास्थित मतदान केन्द्रमा तनाव भएपछि हवाई फायर भएको छ ।
बाजुराका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रबहादुर विष्टका अनुसार दुई पक्षबीच सामान्य विवादमा ढुंगा हानाहान भएपछि स्थितिलाई नियन्त्रणमा लिन हवाई फायर गरिएको छ । थप विवरण भने आउन बाँकी छ । त्यस्तै, ओखलढुंगाको चम्पादेवी गाउँपालिका–९ मिश्रभञ्ज्याङ मतदानस्थलमा मतदानको विषयलाई लिएर नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच विवाद भएको छ ।
विवाद भएपछि उत्पन्न स्थिति तनावग्रस्त हुँदा प्रहरीले ९ राउन्ड हवाई फायरसमेत गरेको छ । हाल मतदान स्थगित भई पुनः मतदान गर्ने विषयमा सर्वदलीय बैठक बसिरहेको छ । मत हाल्नका लागि अशक्त मतदाता नरबहादुर श्रेष्ठको नातिलाई लगेपछि विवाद सुरु भएको थियो । सोही विवाद चर्किँदा मतदानस्थलभित्रै कांग्रेस र एमालेका कार्यकर्ता प्रवेश गरेका थिए ।
















युक्रेनबारे यसै साता अबुधाबीमा वार्ता हुने क्रेमलिनद्वारा पुष्टि
बोर्डले सार्वजनिक ग-यो प्रदर्शनरत नेपाली चलचित्रको व्यावसायिक विवरण
पुस महिनाको मुद्रास्फीति दुई दशमलव ४२ प्रतिशत
त्रिभुवन विश्वविद्यालयद्वारा परीक्षा प्रणाली विकेन्द्रीकरण सुरु
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
माघ १७ गते शनिबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
कम्युनिष्ट एकता आजको आवश्यकता होः संयोजक दाहाल
प्रतिक्रिया