बुधबार, माघ ७, २०८२

हरिजनको आत्महत्याबारे छानबिन गर्न गृहद्वारा समिति गठन

मेरोन्यूज २०७९ जेठ १७ गते १७:२८

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले रोल्पा कारागार कार्यालयमा गत जेठ ४ गते आत्महत्या गरेका कैदी सुन्दर हरिजनको घटनाबारे छानबिन गर्न समिति गठन गरेका छन् । स्थलगत रूपमा सत्यतथ्य छानबिन गरी प्रतिवेदन पेस गर्न मन्त्रालयको सहसचिवको नेतृत्वमा छानबिन समिति गठन गरिएको हो ।

गृहमन्त्री खाँणले मंगलबार मन्त्रालयका सहसचिव सूर्यप्रसाद सेढाईको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेका हुन् । समितिलाई काम सुरु गरेको मितिले ७ दिनभित्र प्रतिवेदन पेस गर्न मन्त्रिस्तरीय निर्णयबाट कार्यादेश दिइएको मन्त्रालयका सूचना अधिकारी बसन्त भट्टराईले जानकारी दिए ।

समितिमा मन्त्रालयका उपसचिव झंकनाथ ढकाल, नेपाल प्रहरीका उपरीक्षक भुपेन्द्र खत्री, राष्ट्रिय अनुसन्धान विभागका उप अनुसन्धान निर्देशक विश्वमणि आचार्य र जिल्ला प्रशासन कार्यालय बाँकेका प्रशासकीय अधिकृत सदस्य रहेका छन् ।

यसअघि हरिजनको आत्महत्या सम्बन्धमा छानबिन गर्न बनाइएको कारागार विभागका निर्देशक झरेन्द्रप्रसाद चापागाईं नेतृत्वको समितिले सोमबार प्रतिवेदन बुझाइसकेको मन्त्रालयका सूचना अधिकारी भट्टराईले जानकारी दिए ।

प्रतिक्रिया