संघीय निर्वाचन-२०७९
प्रत्यक्षमा मात्रै ८० बढी सिट जित्ने कांग्रेसको दाबी

काठमाडौं । सरकारको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसले ४ मंसिरको चुनावमा कूल १२० भन्दामाथि सिटमा जित निकाल्ने रणनीति बनाएको छ । प्रत्यक्षतर्फ ८० सिट जित्ने कांग्रेसको दाबी छ ।
सत्ता गठबन्धन दलको बलमा कांग्रेसले प्रत्यक्षमा त्यो संख्याको जित निकाल्ने दाबी गरेको हो । ‘एक्लै कुनै पनि दलको बहुमत आउने हामी कहाँ निर्वाचन प्रणाली छैन, त्यही कारण गठबन्धनमा कांग्रेस छ,’ कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले भने, ‘गठबन्धनमै रहेर कांग्रेसले प्रत्यक्षतर्फ ८० बढी सिट जित्छ ।’
कांग्रेसले प्रत्यक्षतर्फ ८९ सिटमा उम्मेदवारी दिएको छ । बाँकी प्रतिनिधिसभातर्फको निर्वाचन क्षेत्र उसले गठबन्धनमा रहेका अन्य दलका लागि छाडिदिएको छ । ०७४ सालको चुनावमा कांग्रेसले प्रत्यक्षतर्फ जम्मा २३ सिट मात्र चुनाव जितेको थियो ।
त्यस चुनावमा एमाले र माओवादी वाम गठबन्धन बनाएर चुनावमा गएका कारण कांग्रेस प्रत्यक्ष सिटमा नराम्ररी खुम्चिएको थियो । प्रत्यक्ष चुनाव जित्नेमा माओवादी भन्दा पनि कांग्रेस त्यसवेला तल थियो ।
तर, यसपटक कांग्रेसलाई आफ्नो सिट बढाउने अवसर मिलेको छ । त्यो हो कांग्रेसले चुनाव जित हारका लागि निर्णायक मानिएको माओवादी केन्द्रलाई आफ्नो गठबन्धनमा ल्याउनु । कांग्रेस र एमाले प्रतिस्पर्धी भइरहँदा प्रत्यक्षतर्फका धेरै निर्वाचन क्षेत्रमा माओवादीले कता साथ दिन्छ, उसैले चुनाव जित्ने स्थिति र मतभार नेपालको सर्न्दभमा देखिन्छ ।
माओवादीलाई अन्यत्र मिल्न जानबाट रोक्ने र आफू नेतृत्वकै गठबन्धनमा राख्न सफल भएकाले पनि यसपटक कांग्रेसले प्रत्यक्षतर्फ उठाएका उम्मेदवारहरूमा अधिकांश उम्मेदवार जित्ने दाबी कांग्रेसको छ । त्यसमाथि एमाले विभाजित बनेको, एमाले अध्यक्ष केपी ओलीले सरकारमा रहँदा बहुमतको सरकार टिकाउन नसकेको, पटक पटक संसद विघटन गरेको जस्ता कामको फाइदा उठाउने दाउमा पनि यसपटक कांग्रेस छ ।
एमालेलाई एक्लाएर मूलधारका पार्टीहरुमध्ये जसपाबाहेक अन्यलाई आफ्नै गठबन्धनमा राखेकाले पनि कांग्रेसले यसपटक चुनावमा आफ्नो पार्टीको राम्रो नतिजा आउने विश्लेषण छ । तर यो गठबन्धनका पार्टी र नेताहरूको जितमा गठबन्धनमा आबद्ध दलहरुको मत टान्सफर के कति हुन्छन् भन्नेले निर्धारण गर्ने देखिन्छ ।
गठबन्धनमा राम्रो मत टान्सफर भएमा कांग्रेसले राखेको लक्ष्य भेट्न कांग्रेसलाई गाह्रो हुने देखिन्न । तर मत टान्सफरमा गठबन्धनभित्र समस्या पैदा भएमा भने कांग्रेसको आफूले राखेको लक्ष्य भेट्न उसलाई मुस्किल पर्न सक्ने विश्लेषण कांग्रेसभित्रै छ ।
कांग्रेसले आफूले ८० सिट प्रत्यक्षमा जिते समानुपातिकबाट कम्तीमा ४० सिट जित्ने र कूलमा १२० सिटका साथ पहिलो दल बन्ने लक्ष्य लिएको छ । उसले त्यसपछि गठबन्धनमा रहेका अन्य दलहरुको साथमा अबको ५ वर्ष सरकारको नेतृत्व गर्ने जिकिर गरेको छ ।
















China pledges support for Nepal’s economic transformation with new government
एकै वर्ष मुलुकमा तीन प्रधानमन्त्री
यस्तो बन्याे प्रधानमन्त्री बालेनको सचिवालय टिम
Ather Rizta S Launches Nationwide in Nepal at an Unmissable Introductory Price
साफ यु–२० फुटबलः नेपाल सेमिफाइनलमा प्रवेश
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
चैत ११ गते बुधबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
रास्वपा सभापति रवि लामिछानेलाई अमेरिकाले दियाे बधाई
प्रतिक्रिया