शनिबार, वैशाख ६, २०८२

कर्णालीमा समानुपातिक प्रदेशसभा सदस्य सबै नेताका श्रीमती मात्रै

मेरोन्यूज २०७९ पुष १ गते ७:२५

सुर्खेत । नेकपा (माओवादी केन्द्र)ले कर्णाली प्रदेश सभाका लागि छानेका चार जना महिला सांसद सबै नेताका आफन्त परेका छन् । माओवादीले समानुपातिकबाट प्रदेश सांसद बनाएकी उर्मिला विक, यशोदा न्यौपाने, मिलन खड्का रोका र जुम्कित लामा कार्की सवैं कर्णाली प्रदेशका विभिन्न जिल्लामा नेतृत्वदायी भूमिकामा रहेका माओवादी केन्द्रका नेताका श्रीमति हुन् ।
विक नेकपा (माओवादी केन्द्र) केन्द्रीय सदस्य रामलाल विककी श्रीमती हुन् ।

यस्तै, न्यौपाने कालिकोट संयोजक रहेका लक्ष्मी चौलागाईंकी श्रीमती, मिलन रुकुम पश्चिम संयोजक गोविन्द रोका (सचिन)की श्रीमती तथा कार्की हुम्लाको सर्केगाड गाउँपालिकाका माओवादी अध्यक्ष चन्द्रबहादुर कार्कीकी श्रीमती हुन् । चन्द्रबहादुर गाउँपालिका उपाध्यक्षसमेत हुन् ।


नेताहरुले समानुपातिकको बन्दसूची निर्माणकै क्रममा आफना आफन्त र श्रीमतिलाई प्राथमिकता सूचीमा पहिलो दोस्रो नम्बरमा राख्दा कर्णाली माओवादीले समानुपातिकतर्फ पाएको सिटका आधारमा सांसद छनौट गर्दा नेताका श्रमीति र आफन्त प्रदेश सांसदका रुपमा छानिएका हुन् ।

आयोगमा बन्दसूची बुझाउँदा नै प्राथमिकता सूचीमा नेताका आफन्त र श्रीमति पहिलो, दोस्रो नम्बरमा परेपछि जनयुद्धका घाइते, अपांङ्ग, शहीद परिवार तथा लामो समयसम्म पार्टीमा योगदान गरेका नेता कार्यकर्ताहरुले भने असन्तुष्टि पोखेका थिए ।

प्रदेशमा मात्रै होइन, केन्द्रमा पनि माओवादी केन्द्रका केही समानुपातिक सांसद नेताहरुका आफन्त परेका छन् । त्यसमा पनि कर्णाली प्रदेशका उपल्लो स्तरका नेताका आफन्तहरु समानुपातिक सांसदमा परेका छन् । प्रतिनिधिसभामा उपमहासचिव शक्तिबहादुर बस्नेतकी बहिनी ज्ञानु बस्नेत सुवेदी (चितवन) र उपमहासचिव जनार्दन शर्माकी बहिनी नारायणी शर्मा (दाङ्ग) सामानुपातिक सांसद छानिएकी छिन् ।

उनीहरु समानुपातिक सूचीमा खस आर्यको महिलातर्फ पहिलो र तेस्रो नम्बरको सूचीमा परेका थिए । आयोगले माओवादीलाई १४ मध्ये १२ जना महिला छनौट गर्नुपर्ने र त्यसमा पनि खस आर्यबाट ४ जना छान्नै पर्ने गरी बाध्यकारी बनाएपछि प्राथमिकता सूचीमा पहिलो र तेस्रो खस आर्यमा रहेका ज्ञानु र नारायणी प्रतिनिधिसभामा समानुपातिक सांसदमा छानिएका हुन् ।

ज्ञानु र नारायणी माओवादीकी नेतृ पनि हुन् । उनीहरु आफैं जनयुद्दकाल देखि नै माओवादीको सक्रिय राजनीतिमा थिए । दुवै नेतृ माओवादीको केन्द्रीय समितिमा पनि छन् ।

तर पार्टीका उपल्लो तहमा रहेका नेताहरुले समानुपातिक सूची आयोगमा बुझाउँदा नै आफना नजिकका आफन्त, नेताहरुलाई नै छानि छानि प्राथमिकताको सूचीमा राखेको भन्दै माओवादीभित्र असन्तुष्टि भने थियो । त्यस्तै असन्तुष्टि जनाउनेमध्येकी एक हुन् सुर्खेतकी हरिमाया शर्मा । प्रतिनिधिसभामामा समानुपातिकमा रिफारिस भएकी शर्माले सांसद बन्न नपाएपछि असन्तुष्टि पोखेकी छिन् ।

प्रदेशसभा तर्फ जाजरकोटबाट माओवादीका कोही पनि सांसद छैनन । केन्द्रमा उपमहासचिव समेत रहेका शक्ति बस्नेत कांग्रेससँगको गठबन्धनमा उम्मेदवार बन्दा प्रत्यक्ष तर्फको प्रदेश सभाका दुवै क्षेत्र कांग्रेसलाई छोडिएको थियो । समानुपातिक तर्फबाट पनि प्रदेश सभामा जाजरकोटका कोही पनि नछानिएपछि माओवादीको जाजरकोटमा केही असन्तुष्टि चुलिएको छ ।

त्यस्तो असन्तुष्टि उनीहरुले पार्टीको कर्णाली प्रदेश कमिटिमा लिखित रुपमा नै पनि राखेका छन् । बिहीबार नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशले केन्द्रमा पठाएको पत्र समेत केही सिमित व्यक्ति बसेर तयार गरी पठाएको आरोप लागेको छ । प्रदेश अध्यक्ष विमला केसीले एक्लै पत्र तयार गरी कर्णाली प्रदेशको बैठकको निर्णय भनि केन्द्रमा पत्र पठाएको र त्यही आधारमा समानुपातिक सांसदको सूची केन्द्रले बनाएको आरोप कतिपय कर्णालीका माओवादी नेता कार्यकर्ताले लगाएका छन् ।


 

प्रतिक्रिया