शनिबार, वैशाख ५, २०८३

किसानलाई सहुलियत कर्जा माग गर्दै आजपाद्वारा जनकपुरमा प्रदर्शन

मेरोन्यूज २०८० फागुन २९ गते १९:५७

मधेश प्रदेश। प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा)ले विभिन्न माग गर्दै आज मधेस प्रदेशको राजधानी जनकपुरधाममा प्रदर्शन गरेको छ। 

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

आजपा महासचिव उपेन्द्र साहको नेतृत्वमा जनकपुरधामको बारहविग्घाबाट सुरु भएको प्रदर्शन जिल्ला प्रशासन कार्यालय धनुषासम्म पुगेको थियो। सो क्रममा जनकपुरस्थित राष्ट्र बैंकको कार्यालय अगाडी समेत प्रदर्शनकारीले नारावाजी गरेका थिए। 

आजपा मधेस प्रदेश कमिटीको आयोजनामा भएको प्रदर्शनमा सहभागीहरूले आफूहरुको माग सम्बोधन नभए यो भन्दा कडा आन्दोलनका कार्यक्रम घोषणा गरिने चेतावनी दिएका छन्। प्रदर्शनमा सहभागी आजपाका महासचिव साहले आफूहरूको माग गम्भिर रूपमा लिएर सम्बोधन नगरिए मधेस बन्द गर्नुपर्ने चेतावनी सरकारलाई दिएका छन्।

‘हामीले शान्तिपूर्ण रुपमा विरोधका कार्यक्रम गरिरहेका छौं। किसान, सर्वसधारणदेखी आम जनताका माग सम्बोधन गर्नमा सरकारले ढिलाई गरेमा हामी मधेस बन्दसम्मको कडा आन्दोलनका कार्यक्रम ल्याउँन बाध्य हुनेछौं। त्यसको जिम्मेवारी सरकारले नै लिनुपर्ने हुन्छ,’ आजपा महासचिव साहले भने। 

आजपाले बैंकहरुले लिने गरेको मनोमानी ब्याज फिर्ता गर्नुपर्ने, लघुबित र सहकारीहरुको सम्पूर्ण ऋण मिनाहा गर्नुपर्ने, किसानहरुलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराउनुपर्ने लगायतका माग गरेको छ। 

यसैगरी आजपाले मधेसमा भइरहेको सरकारी योजना र बजेटको खरीद बिक्री जस्ता भ्रष्टाचारजन्य कार्य रोक्न भ्रष्टाचारीलाई कारबाही गर्नुपर्ने लगायतका माग गरेको छ।

आजपा महासचिव साहले पार्टीको हालै सम्पन्न स्थायी कमिटीको बैठक र मधेस प्रदेश कमिटीको बैठकको निर्णय अनुसार सर्वसधारणका मुद्धा सरकार समक्ष पुर्याउँनका लागि पार्टीले संघर्षका विभिन्न कार्यक्रमहरु अगाडी बढाउँने निर्णय अनुसार विरोध प्रदर्शन गरिएको बताए।

प्रतिक्रिया