गोकर्णेश्वरलाई ‘योग नगर’ घोषणा

काठमाडौं । काठमाडौँको गोकर्णेश्वर नगरपालिकालाई ‘योग नगर’ घोषणा गरिएको छ।
प्रतिनिधिसभा अर्थ समिति सभापति सन्तोष चालिसे र नगर प्रमुख दीपककुमार रिसाललगायतले स्थानीय गराडोलमा आज आयोजित कार्यक्रममा ‘योग नगर’को औपचारिक घोषणा गरे।
सोअवसरमा सभापति चालिसेले विश्वभर विभिन्न नयाँ–नयाँ रोग फैलिएका र अशान्ति बढिरहेका बेला मानिसलाई त्यसबाट मुक्ति दिलाउन योगाभ्यास महत्त्वपूर्ण विधि हुनसक्ने धारणा राखे।
गोकर्णेश्वर नगरपालिकाले जनस्वास्थ्य कार्यक्रमलाई प्राथमिकतामा राखेर काम गरिरहेको अवस्थामा आगामी दिनमा योग र ध्यानलाई उच्च महत्व दिइने नगर प्रमुख रिसालले बताए।
योगगुरुहरूको सहभागिता रहेको सो कार्यक्रममा पतञ्जली योग समिति नेपालका शङ्कर योगी र अर्जना घिमिरेले योग साधना र ध्यानबारे प्रशिक्षणसहित जानकारी गराएका थिए।
उक्त नगरपालिकाका नौवटै वडाका ४० योग केन्द्रमा नियमित योगाभ्यास हुने गरेको छ। नेपालमा पतञ्जली, जीवन विज्ञान, आर्ट अफ लिभिङ, ओशो, ब्रह्मकुमारी राजयोगलगायतका संस्थाले नियमित ध्यान र योग सिकाउँदै आएका छन्।
योगाभ्यासले मानिसलाई शारीरिक स्वास्थ्य मात्र नभई अनुशासित बनाउँछ। पछिल्लो समय बढ्दो सहरीकरण र मिसावटयुक्त खानेकुराले अनेक रोग देखा परिरहेको अवस्थामा त्यसका निदानका लागि योग अभ्यासको महत्व दिनानुदिन बढिरहेको छ।
यसअघि भक्तपुरलाई ‘योग जिल्ला’ र ललितपुरको गोदावरीलाई ‘योग नगर’ घोषणा गरिएको थियो। नेपालले हरेक वर्ष माघ १ गते राष्ट्रिय योग दिवस मनाउँदै आएको छ। अन्तर्राष्ट्रियरुपमा जुन २१ का दिन योग दिवस मनाइने गरिन्छ। नेपाल भूमिमा ऋषिमुनिले समेत योगाभ्यास र साधना गरेकाले योगभूमि भएको विश्वास गरिँदै आएको छ।










बालुवाटारमा प्रधानमन्त्री कार्की र रास्वपा सभापति रवि लामिछाने भेटवार्ता जारी
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
निर्वाचनको तयारीबारे भोलि प्रधानमन्त्रीसहितको सर्वपक्षीय छलफल
गहना चोरी गरी बिक्री गर्ने दुई जना पक्राउ
टी-२० विश्वकपका लागि २४ सदस्यीय प्रारम्भिक टोली घोषणा
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
प्रतिक्रिया