बिहीबार, मंसिर २५, २०८२

बाघ गणना पुस १ गतेदेखि

मेरोन्यूज २०८२ मंसिर २५ गते १३:५४

चितवन । अगामी पुस १ गतेदेखि बाघ गणनाको काम थालिने भएको छ ।

चितवन र पर्सा राष्ट्रिय निकुञ्जलाई एउटा ‘व्लक’ बनाएर गणना गर्न लागिएको हो । यसँंगै बाघ भएका बाँके, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पनि बाघ गणना गरिँदै छ ।

तीन महिना लगाएर बाघ गणना गर्न लागिएको हो । हरेक चार–चार वर्षमा बाघ गणना गरिँदै आएको छ । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार पुस १ र २ गते गणनामा सहभागीलाई तालिम दिइदै छ । निकुञ्जका कर्मचारी, राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिक, स्थानीय स्वयंम सेवी, विद्यार्थी र संरक्षणका साझेदार तालिममा सहभागी हुँदैछन् । करिब एक सय ५० जना तालिम लिएर गणनामा खटिने उनले बताए ।

पुस ३ गते तालिम लिएका गणनाका लागि कार्यक्षेत्रमा परिचालन हुनेछन् । मगरका अनुसार दुई निकुञ्जमा नौ सय ग्रिड बनाइएको छ । यसको अर्थ दुई वर्ग किलोमिटर क्षेत्रलाई एउटा ग्रिड बनाएर गणना गरिने छ । गणनाका क्रममा दुई निकुञ्जलाई तीन भागमा बाँडेर गणना गरिने छ । हरेक भागमा २० दिन क्यामेरा राखिने छ । एक भागमा ३०० ग्रिड हुनेछन् । एउटा ग्रिडमा २० दिन एउटा क्यामेरा राखिने छ । ग्रिडहरुकोबीच भागपर्ने ठाउँमा गणना गर्ने प्राविधिक क्याम्प खडा गरेर बस्ने छन् ।

प्रतिक्रिया