बिहीबार, माघ ८, २०८२

सत्तागठबन्धनप्रति ओलीको आरोप : मिल्ने भए धरहरा र रानीपोखरी पनि भत्काउँथे

काङ्ग्रेसको बुढो रूख बचाउन निर्वाचन आयोगले मतपत्रको रङ नै हरियो बनाउन खोजेको छ

मेरोन्यूज २०७८ फागुन २५ गते १६:४९

विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी ओलीले आफु नेतृत्वको सरकारले गरेको कामको विरोध र भन्डाफोरमा सत्ता गठबन्धन दल उत्रेको भन्दै त्यसको चर्काे आलोचना गरेका छन् । आफु नेतृत्वको सरकारलाई परमादेशको आदेशवाट हटाएको बताएका ओलीले अहिले सत्तागठबन्धन दलले एमालेले गरेको कामको भन्डाफोर अभियान चलाउने भन्दै गरेको चुनावी अभियानलाई निक्कै आलोचना गरेका छन् ।

ओलीले गरेको भनेपछि राम्रा कामको पनि उनीहरुलाई नराम्रै लाग्छ भन्दै ओलीले मिल्ने भएको भए उनीहरुले धरहरा र रानीपोखरी पनि भत्काएर अगाडी जान खोज्थे भन्दै व्यंग्य गरेका छन् ।

मोरङको रंगेलीका माओवादीबाट निर्वाचित मेयर, उपमेयर र वडाध्यक्षसहित लाई पार्टी प्रवेश गराउन विराटनगरको रंगेली पुगेका ओलीले सत्ता गठबन्धन दलको चर्काे आलोचना गरेका हुन् ।


हामीले एकैचोटी ३९६ वटा अस्पतालको सुरुआत गर्‍यौं, केही अहिले बनिरहेका छन्, केही बजेट अहिलेको सरकारले सारेको छ । हामीले हरेक पालिका सदरमुकाम जोड्ने २६५ सडक एकैपटक शिलान्यास गर्‍यौं । तीनको पनि बजेट काटिएको छ । विकासविरोधीहरुले गर्ने भण्डाफोर भनेको यही होला , ओलीले सत्रागठबन्धन दलका नेताहरुलाई व्यंग्य गदै भने,मिल्ने भएको भए उनीहरु धरहरा र रानीपोखरी पनि भत्काउँथे । त्यो हामीले गरेको विकासको काम हो । उनीहरुले त्यसलाई विकास विरोधी देख्न सक्छन् ।

एमाले नेतृत्वको सरकारले गरेका कामको भण्डाफोर गर्ने भनेर विकासको विरोध गर्दै हिड्ने रु भन्ने प्रश्न समेत ओलीले कांग्रेसलाई गरेका छन् । काग्रेसले एक महिने चुनावी अभियानका क्रममा ओली नेतृत्वको सरकारले गरेका कामको भन्डाफोर अभियान पनि चलाउने निर्णय गरेर चुनावी अभियान घोषणा गरेपछि ओली कांग्रेससँग चिढिएका हुन् । आफ्नो पालामा सडक विस्तार, निर्माण र सुरुङमार्गको काम अघि बढेको भन्दै त्यसलाई रोक्न अदालत प्रयोग गरेर आफ्नो सरकार ढालेको आरोप ओलीको थियो ।

कांग्रेस वचाउन मतपत्रमा हरियो रंग

ओलीले निर्वाचन आयोगले मतपत्रमा हरियो रंग प्रयोग गर्न लागेकोमा पनि आपत्ति जनाएका छन् । उनले मतपत्रमा हरियो नभई रातो रङ राख्नुपर्ने बताए । मतपत्रको रङबारे निर्वाचन आयोगको निर्णय कांग्रेसतिर झुकेको भन्दै ओलीले भने, ‘ काङ्ग्रेसको बुढो रूख बचाउन निर्वाचन आयोगले मतपत्रको रङ नै हरियो बनाउन खोजेको छ ।’

निर्वाचन आयोगले ३० वैशाखमा हुने निर्वाचनमा मतपत्र चुनाव चिह्नको रङ हरियो बनाउने निर्णय गरेको थियो । ओलीले मंगलबार आयोजित कार्यक्रममा पनि आयोगको उक्त निर्णयको आलोचना गरेका थिए ।

एमाले अध्यक्ष ओलीले कांग्रेसलाई सुकेको रुखको संज्ञा दिए । ‘सुकेको रुखको कुरा गर्न आवश्यक छैन, पातमात्रै झरेको छैन रूख नै सुकेको छ’ उनले भने ।

नेता माधवकुमार नेपालले पार्टी छाडेपछि हाइसन्चो भएको ओलीले टिप्पणी गरे । केही व्यक्तिले पार्टी छाडेपनि एमाले झन् बलियो भएको उनको दावी छ ।

प्रतिक्रिया