बिहीबार, माघ १५, २०८२

प्रचण्डले निवासमै बोलाएर भेटे मध्यपुर थिमिका गठबन्धनका उम्मेदवारहरुलाई

मेरोन्यूज २०७९ वैशाख १५ गते १७:०६

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले मध्यपुर थिमि नगरपालिकामा गठबन्धनको मेयर तथा उपमेयर उम्मेद्वारहरुलाई स्थानीय तह निर्वाचनका सन्दर्भमा आवश्यक निर्देशन दिएका छन् ।

आफ्नै निवास खुमलटारमा बोलाएर प्रचण्डले निर्वाचन तयारी लगायतका विषयमा जानकारी लिदै आवश्यक निर्देशन दिएको प्रचण्डको सचिवालयले जनाएको छ ।

प्रचण्डले बोलाएपछि बिहीबार बिहान गठबन्धनका तर्फबाट मेयरका उम्मेदवार सुरेन्द्र श्रेष्ठ र उपमेयरका उम्मेदवार विजयकृष्ण श्रेष्ठ प्रचण्ड निवास खुमलटार पुगेका थिए ।
उम्मेदवारहरुलाई पार्टीका केन्द्रीय सदस्यद्वय दिलिप प्रजापति ‘भिष्म’ र डिपी ढकालले प्रचण्ड निवास लिएर पुगेका थिए ।

प्रचण्डले वर्तमान गठबन्धनको विरुद्धमा देशीविदेशी शक्तिहरु लागिरहेकाले उनीहरुको भ्रम र प्रहारलाई परास्त गर्दै एकढिक्का भएर चुनावी अभियानमा लाग्न निर्देशन दिएको नेता डिपी ढकालले जानकारी दिए ।

राजधानीसँगै जोडिएको भक्तपुरको मध्यपुर थिमिका जनता सचेत समाजका प्रतिनिधि पात्र भएका भन्दै प्रचण्डले लोकतन्त्र र संविधान रक्षाको लागि जनताले गठबन्धनका उम्मेदवारहरुलाई मतदान गर्ने विश्वास समेत व्यक्त गरेका थिए ।

देशैभर गठबन्धनको पक्षमा जनता खुलेर लागेका जानकारी गराउँदै उनले स्थानीय चुनावले प्रतिगामी र यथास्थितिवादीहरुलाई पाखा लगाउँदै लोकतान्त्रिक र अग्रगामी शक्तिलाई स्थानीय सरकारको साँचो सुम्पने दावी गरे ।

व्यवस्था परिवर्तनमा नेपाली काँग्रेस र माओवादी केन्द्रको नेतृत्वदायी भूमिका रहँदै आएको स्मरण गर्दै प्रचण्डले वर्तमान गठबन्धन व्यवस्था रक्षाको लागि भएको र सम्पूर्ण मतदातालाई यो कुरा बुझाउनु आवश्यक भएको बताएका थिए ।

अध्यक्ष प्रचण्डले मध्यपुर थिमिमा आफू पटक–पटक आइरहेको र यहाँको समस्याबारे जानकार रहेको भन्दै मध्यपुरलाई नमूना नगरपालिकाको रुपमा विकास गर्न आफ्नो र पार्टीको तर्फबाट सक्दो पहल गर्ने प्रचण्डले बताएका थिए ।
‘अध्यक्षले अगाडि बढ्नुस्, मध्यपुरलाई नमूना नगर बनाउन मेरो साथ रहन्छ भन्नुभएकोले उत्साहित भएर आएका छौं।’ उपमेयर उम्मेदवार विजयकृष्ण श्रेष्ठले भने ।
मध्यपुर थिमिमा गठबन्धनका तर्फबाट मेयरका उम्मेदवार सुरेन्द्र श्रेष्ठ नेपाली काँग्रेसका निवर्तमान नगर सभापति हुन् भने उपमेयर उम्मेदवार विजयकृष्ण श्रेष्ठ नेकपा (माओवादी केन्द्र)का नगर अध्यक्ष ।

प्रतिक्रिया