शुक्रबार, माघ २, २०८२

काठमाडौँ जिल्ला अदालत बारको अध्यक्षमा पौडेल विजयी

मेरोन्यूज २०७९ साउन १ गते १५:३४

काठमाडौँ जिल्ला अदालत बार एसोसिएसनको अध्यक्षमा रामचन्द्र पौडेल (आरसी विमल) निर्वाचित भएका छन् । शनिबार काठमाडौँमा भएको निर्वाचनमा कूल १२५२ मत खसेकोमा पौडेलले ९६४ मत ल्याएका हुन् ।

लोकतान्त्रिक वैचारिक प्रतिष्ठानका केन्द्रीय अध्यक्ष तथा पिपुल्स लिगल एसोसिएट्सका संस्थापकसमेत रहेका पौडेलले कानुन व्यवसायीको संस्था डेमोक्रटिक लयर्स एसोसिएसनका तर्फबाट प्रतिनिधित्व गर्दै काठमाडौँ जिल्ला अदालत बार एशोसिएसनको अध्यक्षमा लोकप्रिय मतसहित जित हासिल गरेका हुन् ।

यसअघि डेमोक्रटिक लयर्स एसोसिएसन काठमाडौँको असार १८ मा भएको आन्तरिक प्रतिस्पर्धामा जित हासिल गर्दै पौडेल डिएलएका तर्फबाट आधिकारिक उम्मेदवार चयन भएका थिए ।

न्यायालयलाई जिम्मेवार बनाउँदै पारदर्शी कायम गर्नका साथै पेशागत मर्यादालाई स्थापित गराउँदै सामुहकि शुद्धताको भावनालाई केन्द्रमा राखेर काम गर्ने नवनिर्वाचित अध्यक्ष पौडेलले बताए । अग्रजलाई सम्मान, युवालाई उचित स्थानको भावना अनुरुप आफ्नो टीमले प्रभावकारी रुपमा कार्य सम्पादन गर्ने उनको भनाइ छ ।

पौडेलसँगै बारको सबै पदाधिकारी डिएलबाट नै निर्वासचत भएका छन् । उपाध्यक्षमा डिएलएकै पुरुषोत्तम अधिकारी विजयी भएका छन । त्यसैगरी सचिवमा उज्वलराम श्रेष्ठ, सहसचिवमा अञ्जु रेग्मी अर्याल र कोषध्यक्षमा सन्तोष भण्डारी निर्वाचित भएका छन् ।

महिला सदस्यहरुमा उमादेवी प्रसाई र गिता श्रेष्ठ यस अघि नै निर्विरोध निर्वाचित भइसकेका छन् । शनिबार भएको निर्वाचनमा सदस्य पदमा भिष्म निरौला, मदनकुमार दाहाल, संकल्प क्षेत्री, सूर्यमणि राई, सुनिल थापा, सूर्यबहादुर दौल्याल, सुवास पाठक, हरिराम लामिछाने, चेतनाथ तिमल्सेना (चेतन), जीवन न्यौपाने, प्रवीण हुमागाई र दिपककुमार साह निर्वाचित भएका छन् ।

योसँगै काठमाडौं जिल्ला अदालत बार एशोसिएशनमा डिएलएकातर्फबाट १९ सदस्यीय कार्यसमिति चयन भएको हो । नयाँ कार्यसमितिको कार्यकाल दुई वर्षसम्म रहनेछ ।

प्रतिक्रिया