सोमबार, मंसिर १५, २०८२

कुशलले बनाए अनेकौँ राष्ट्रिय कीर्तिमान, सन्दीपको नाममा विश्व कीर्तिमान

मेरोन्यूज २०८० वैशाख ८ गते १८:५७

काठमाडौँ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा ओमानविरुद्धको खेलमा नेपालको अनेकौँ कीर्तिमान बनेको छ । नेपालका बायाँ हाते ब्याटर कुशल मल्लको शतकीय इनिङमा नेपालले बनाएको योगफल आफैमा कीर्तिमान हो ।

खेलमा नेपालले ओमनलाई ३११ रनकाे लक्ष्य दिएको थियो । यसअघि नेपालले सबैभन्दा धेरै रन २९७ मात्रै बनाउन सकेको थियो ।

एसीसी प्रिमियर कपमा ओमानविरुद्ध कुशलले धुवाँधार इनिङ खेले । उनले व्यक्तिगत करिअरसँगै सर्वोत्कृष्ट इनिङ खेले ।

नेपालले २०.३ ओभरमा ७२ रन मात्रै बनाएर ४ विकेट गुमाइसकेको अवस्थामा पाचौँ विकेटका लागि क्रिजमा पुगेका कुशलले सर्वोष्कृट खेले ।

नेपालका लागि कुशलले एक सय ८ रन बनाए । यो उनको पहिलो वान डे शतक हो । उनले ५९ बलमा शतक पूरा गरे । यो नेपालका लागि सबैभन्दा कम बलमा बनाइएको कीर्तिमानी शतक हो ।

यसअघि यो कीर्तिमान कप्तान रोहित पौडेलको नाममा थियो । उनले ९१ बल खेल्दै सतक बनाएका थिए । कुशलले रोहितभन्दा ३२ बल कम खेलेर शतक बनाए ।

कुशलले समग्रमा ६४ बल खेले र त्यसमा नौ चौका तथा १० छक्का हाने । उनले खेलमा कूल ६४ बल सामना गर्दै १० छक्का प्रहार गरेका छन् ।

समग्रमा एक दिवसीयमा सर्वाधिक छक्का हान्ने कीर्तिमान पनि कुशलकै नाममा पुगेको छ । यसअघि कप्तान पौडेलको नाममा २३ छक्का हानेको कीर्तिमान थियो । तर, आजको म्याचबाट कुशलले ओडीआईमा छक्काको संख्या २८ बनाएको छ ।

यस्तै, कुशलले नेपालका लागि छैटौँ क्रममा आएर शतक बनाउने अर्को कीर्तिमान बनाए । यसअघि दिपेन्द्र सिंह ऐरीले चौँथो र कप्तान पौडेलले पाचौं नम्बरमा आएर शतक बनाएका थिए ।

आजको खेलबाट कुशल नेपालका लागि शतक हान्ने सबैभन्दा कान्छो खेलाडी बनेका छन् । उनी अहिले १९ वर्षका भएका छन् ।

उता, बलिङतर्फ सन्दीप लामिछानेले विश्व कीर्तिमान बनाए । उनले सबैभन्दा छिटो एक सय विकेट पूरा गर्ने कीर्तिमान बनाएका हुन् ।

लामिछानेले ओमानका अलि साफिकको विकेट लिएर नयाँ विश्व कीर्तिमान बनाएका हुन् । उनले ४२ खेल खेल्दै सय विकेट लिएका हुन् ।

यसअघि यो कीर्तिमान अफगानिस्तानका स्पिनर रसिद खानको नाममा थियो । रसिदले ४४ खेलमा सय विकेट पूरा गरेका थिए । योभन्दा अगाडि अष्ट्रेलियाका मिचेल स्टार्कले २०१६ मा ५२ खेल खेल्दै सय विकेट पूरा गरेका थिए ।

प्रतिक्रिया