मंगलबार, चैत २४, २०८२

नेपालगञ्ज उपमहानगरको बजेट एक अर्ब ६७ करोड ५६ लाख

मेरोन्यूज २०८० असार ९ गते १९:५३

काठमाडौँ । नेपालगञ्ज उपमहानगरले सामूहिक बस्ती विकास गर्ने योजनाअघि सारेको छ ।

Advertisement
nepal life insurencenepal life insurence

बसोबासलाई व्यवस्थित गर्न रिङरोडको विकाससँगै आसपासका जग्गाको ‘ल्याण्डपुलिङ’मार्फत जग्गा विकास गर्ने योजना उपमहानगरको छ ।

उपमहानगरको १३ औँ नगरसभामा आज नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रमुख प्रशान्त विष्टले नगर विकासलाई विशेष प्राथमिकता दिएको बताए ।

वर्षाको समयमा हुने डुबान कम गर्नका लागि नालीको प्रभावकारी रूपमा सरसफाइ तथा व्यवस्थापन गर्ने र नेपालगञ्जको ऐतिहासिक कला, संस्कृति झल्किने गरी नयाँ योजना ल्याइने नीति कार्यक्रममा उल्लेख छ ।

आधुनिक प्रविधिको प्रयोग गरी कागजको प्रयोग घटाउँदै लगिने र नागरिकका लागि सहज अनलाइन सेवाको विकास गर्नुका साथै ‘डिजिटलाइज्ड’ सेवा प्रदान गर्ने विषयलाई समेत प्राथमिकतामा राखिएको छ ।

नगरप्रमुख विष्टले आगामी आवमा शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, सुशासन प्रवर्द्धनलाई प्राथमिकता दिइएको बताए ।

नीति तथा कार्यक्रममा विद्यालयलाई सूचना प्रविधिमैत्री बनाउने, गुणस्तरीय शिक्षामा जोड, स्थानीय पाठ्यक्रम कार्यान्वयन, निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्ने, योग मैत्री नगर बनाउने, पाँच वर्षभित्र क्षयरोग मुक्त उपमहानगर घोषणा गर्ने, जमुनाहानाकामा हेल्थडेस्क सञ्चालन गरी सरुवाजन्य रोगको रोकथाम, निगरानी र व्यवस्थापन गर्ने, राँझा विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थल बनाउन आवश्यक पहल गर्ने उल्लेख छ ।

नीति तथा कार्यक्रममा आगामी दुई वर्षभित्र १५ शय्याको आधारभूत अस्पताल सञ्चालनका लागि प्रदेश तथा संघीय सरकारसँग पहल गर्ने, ६० वर्ष पुगेका स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन एवं सम्मानसहित बिदाइ गरिने, प्लास्टिकका झोलाको प्रयोगलाई न्यूनीकरण गर्ने, हरित नेपालगन्ज बनाउन सडकको दायाँबायाँ विरुवा रोप्ने, श्रम सूचना बैंक स्थापना, रोजगार मेला सञ्चालन गर्ने, रोजगारी सिर्जना गर्ने, सहकारीको निरन्तर अनुगमन गरी नियमनको दायराभित्र ल्याइने, हामी सुधार्छौं ।

हाम्रो सहकारी भन्ने विशेष अभियानमा सम्पूर्ण सहकारीकर्मीलाई सामेल गराई सहकारीप्रतिको विद्यमान गुम्दो जनविश्वासलाई रोक्दै लैजानेसमेत नीति कार्यक्रममा उल्लेख छ ।

उपप्रमुख राईले आगामी आव २०८०/८१ का लागि एक अर्ब ६७ करोड ५६ लाख एक हजार ५८७ अनुमानित आयव्यय विवरणसहितको बजेट नगरसभामा प्रस्तुत गरे । सो बजेट चालु आवको भन्दा चार करोडले बढी हो ।

चालु आवका लागि एक अर्ब ६३ करोड ६५ लाख ७२ हजार चार सयको अनुमानित बजेट प्रस्तुत गरिएको थियो । संघीय तथा प्रदेश सरकारबाट प्राप्त भएको आय अनुमान तथा आन्तरिक आयसमेतका आधारमा अनुमानित बजेट नगरसभामा प्रस्तुत गरिएको थियो ।

सो अवसरमा राईले समग्र नगर विकासका लागि वडा कार्यालयसँगको सहकार्यलाई आत्मसात गर्दै चालु आवजस्तै आगामी आवका लागि पनि २५ करोडको सिलिङ उपलब्ध गराउने व्यवस्था गरेको उल्लेख गरे ।

नेपालगञ्ज उपमहानगरले आन्तरिक आय १८ करोड र राजस्व र अनुदान बचत मौज्दात २० करोड हुने अनुमान गरेको छ ।

प्रतिक्रिया