मंगलबार, फागुन ५, २०८२

बाढीले पुल बगाएपछि भोजपुरको टेम्केमैयुङको जनजीवन कष्टकर

मेरोन्यूज २०८० भदौ ६ गते ११:१६

भोजपुर । टेम्केमैयुङ गाउँपालिका–९ स्थित राउतेखोलाको झोलुङ्गे पुल बाढीले बगाएपछि स्थानीयलाई समस्या भएको छ । एक गाउँबाट अर्को गाउँ जोड्ने पुल बाढीले बगाएसँगै स्थानीयको जनजीवन कष्टकर बनेको हो ।

Advertisement
nepal life insurencenepal life insurence

गत असार ८ गते आएको बाढीले राउतेखोलामा लगाएको ट्रस्ट ब्रिज बगाएपछि आवतजावतमा समस्या भएको स्थानीयवासीले बताएका छन् । पुल बगेपछि यहाँका बालबालिका ज्यान जोखिममा राखेर विद्यालय जान बाध्य छन् । राउते, हिले, रुपाथुमकी र खानीगाउँका बालबालिकालाई दैनिक विद्यालय आउनजान समस्या भएको सिंहदेवी माध्यमिक विद्यालयका प्रधानाध्यापक राजधन राईले जानकारी दिए । खोलामा ज्यान जोखिममा राखेर विद्यार्थी विद्यालय आउनुपर्ने स्थिति छ ।

‘बाढीले पुल बगाउँदा जनजीवन प्रभावित भएको छ’ उनले भने,–‘पुलको कारण बालबालिकालाई विद्यालयसम्म नै आउन कठिनाइ भएको छ । पानी परेको अवस्थामा उनीहरुलाई झनै जोखिम छ ।’ खोलामा चाँडो पुल बनाउन यहाँका बासिन्दाले स्थानीय, प्रदेश र सङ्घीय सरकारसित माग गरेका छन् ।

ज्यानलाई जोमिखमा राखेर खोला तर्नुपर्ने अवस्था रहेको कक्षा ११ मा पढ्ने छात्र दीपक विष्टले बताए । खोला तर्दा किताब, कपीसँगै कपडा भिज्ने गरेको विष्टको भनाइ छ । कहिलेकाहीँ बाटोमा हिँड्ने मानिसको सहायताले खोला पार गर्ने गरेको उनको भनाइ छ । ‘उर्लिएर आएको खोला तर्न ज्यानको बाजी लगाउनुपरेको छ’, उनले भने,–‘किताब, कपीसँगै कपडा भिज्दा पठनपाठन गर्न समस्या हुन्छ । दिनभर चिसो कपडामा बस्दा बिरामी परेको अवस्था पनि छ । कहिले किताब, कापी त कहिले जुत्ताचप्पल खोलामा बग्छन् । हामी ४०–५० जना साथी यसरी नै विद्यालय जानेआउने गरेका छौँ ।’

अर्को ठाउँको पुलबाट विद्यालयसम्म दुई घण्टा बढी घुम्नुपर्ने अवस्था रहेको सिंहदेवी माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययानरत छात्र दुर्गाबहादुर विश्वकर्माले बताए । बाढीले पुलसँगै बाटो बगाउँदा बालबालिका विद्यालय जानबाट बञ्चित भएको स्थानीयवासी टङ्क विश्वकर्मा बताउँछन् । बालबालिकालाई बाध्य भएर जोखिममा पनि विद्यालय पठाउनुपर्ने अवस्था छ । घरको काम पनि धान्नुपर्ने भएकाले सधैँ अभिभावकले विद्यालयसम्म पुर्याउन सक्ने अवस्था नरहेको विश्वकर्माले भने ।

बाढीले पुल बगाउँदा स्थानीयको जनजीवन निकै कष्टकर बनेको टेम्केमैयुङ गाउँपालिका–९ का वडाध्यक्ष नभराज माङ्गपाहाङ्गले राईले बताए । बाढीले झोलुङ्गे पुल, सडकसँगै १६ वटा सिँचाइ कुलो बगाएको उनको भनाइ छ । यो खोलामा निर्माण भइरहेको पक्की पुलमा समेत क्षति पुर्याएको वडाध्यक्ष माङ्गपाहाङ्गले जानकारी दिए ।

‘झोलुङ्गे पुलसँगै यो खोला भएर बनेका सबै सडक बगाएको छ’, उनले भने, –‘सडक अवरोध हुँदा बालबालिका विद्यालय जान सकेका छैनन् भने सुत्केरी, ज्येष्ठ नागरिक, असक्तलाई उपचारका लागि अस्पताल लैजानसमेत समस्या भएको छ ।’

प्रतिक्रिया