आइतबार, फागुन ३, २०८२

कोशी सरकारविरुद्धको रिट अब पूर्ण इजलासमा सुनुवाई हुने

कम्तीमा तीन न्यायाधीश रहने पूर्ण इजलासमा भोलि देखि निरन्तर सुनुवाई हुने भएको छ

मेरोन्यूज २०८० भदौ १७ गते १२:२६

काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मत असंवैधानिक रहेको दाबीसहित परेको रिट सर्वाेच्च अदालतको पूर्ण इजलासमा सुनुवाई हुने भएको छ । न्यायाधीशद्वय सपना प्रधान मल्ल र सुष्मालता माथेमाको संयुक्त इजलासले आइतबार कोशीका पूर्व मुख्यमन्त्री तथा एमाले दल नेता हिक्मत कार्कीले दायर गरेको रिटलाई अदालतको पूर्ण इजलासमा पठाउने निर्णय गरेपछि अब उक्त रिट पूर्ण इजलासमा सुनुवाई हुने भएको हो ।

Advertisement
nepal life insurencenepal life insurence

पूर्ण इजलासमा पठाउने निर्णय भएपछि अब यो मुद्दामा कम्तीमा सर्वाेच्च अदालतका तीन न्यायाधीस रहेको बेन्चमा सुनुवाई हुनेछ । पूर्ण इजलासमा पठाउने निर्णय भएपनि यसलाई भोलि देखि नै निरन्तर सुनुवाईमा राखिने भएको छ ।

मुख्यमन्त्री थापाले प्रदेशसभाबाट विश्वासको मत लिँदा प्रदेशसभा बैठक अध्यक्षता फेरबदल गरी अध्यक्षता गरेकै प्रदेशसभा सदस्यले समेत मत दिएपछि एमाले संसदीय दलका नेतासमेत रहेका पूर्व मुख्यमन्त्री कार्कीले सर्वोच्च अदालतमा रिट निवेदन दिएका हुन् ।

यसअघि उक्त रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश ईश्वरप्रसाद खतिवडाले कारण देखाऊ आदेश जारी गरेका थिए ।

गत शुक्रबार पनि पेसी तोकिएको यो रिट निवेदन न्यायाधीश खतिवडासहितको संयुक्त इजलासमा परेपछि ‘हेर्न नमिल्ने’ सूचीमा राखिएको थियो । तर आज न्यायाधीसद्दय सपना प्रधान मल्ल र सुष्मालता माथेमाले पूर्ण इजलासमा लाने निर्णय गरेका हुन् ।

प्रतिक्रिया