शनिबार, फागुन २, २०८२

सदियौँदेखि कायम एकता भाड्नेदेखि सचेत रहनुपर्छ : अध्यक्ष ओली

मेरोन्यूज २०८० भदौ २३ गते १९:५६

भक्तपुर । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सबै जातजाति एकै ठाउँमा बसेर सामूहिक रुपमा चाँडपर्व मनाएको देख्न नसक्ने तत्वदेखि राष्ट्रिय एकता खतरामा परेको बताएका छन् ।

Advertisement
nepal life insurencenepal life insurence

आज अखिल नेपाल महिला सङ्घ मध्यपुरथिमि नगर कमिटीले आयोजना गरेको शुभकामना आदानप्रदान तथा हरितालिका तीज विशेष कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले जातजाति, भाषाभाषी, धर्म, संस्कृति, पर्व, चाँडपर्वका नाममा सदियौँदेखि कायम रहँदै आएको एकतालाई भाड्ने तत्व सक्रिय रहेको बताए ।

“यस्ता चाँडपर्व मन नपराउने, एकता मन नपराउने, धर्म, संस्कृति, परम्परा मन नपराउने, खोला वारीका खोला पारीका, एक समाज र अर्को समाजबीचको एकता, सद्भाव देखेर मन भतभती पोल्ने सल बलाएका छन्”, एमाले अध्यक्ष ओलीले भने, “यसरी सबै जातजातिका मानिस मिलेर एकै ठाउँमा बसेर किन रमाएका होलान् भनेर पीर गर्नेहरु र साम्प्रदायिक सद्भाव भड्काउन खोज्नेसँग सचेत हुनुपर्छ ।”

सबै जातजाति एकै ठाउँ बसेको मन नपराउने, झगडा गराएर मारामार गर्न गराउन खोज्ने एकता विरोधीसँग सचेत हुँदै यस्ता साझा चाडपर्व उत्सवका रुपमा मनाउनुपर्ने ओलीले बताए । उनले हामी आफैँ आफ्नै खुट्टामा उभिन सक्ने बनाउनुपर्ने उल्लेख गर्दै देशलाई परनिर्भरताबाट आत्मनिर्भरतातर्फ लैजानुपर्नेमा जोड दिए ।

उनले भने, “हामीले आफैँले आफ्नो खुसी ल्याउनुपर्छ, अरुसँग खुसी सापटी खोजेर पाइँदैन, खेत बाँझो छ भनेर चुप लागेर बस्ने होइन, खोलामा बगेको पानी कुलो लाएर आफैँले ल्याउनुपर्छ, हाम्रो खुसी अरुले ल्याउँदैन, हामी सबैले चाह्यौँ भने हाम्रो खुसी आफँ ल्याउन सक्छौँ ।”

मानिस खुसी भएर मुस्कुराएको, अझ बच्चा बच्चीहरु खुसी भएर मुस्कुराएको क्षण साह्रै आनन्द आउने क्षण रहेको भन्दै उनले खुसी देख्न नसक्नेसँग सचेत हुँदै सबै खुसीले मुस्कुराउने अवस्था ल्याउनुपर्ने बताए । अखिल नेपाल महिला सङ्घ मध्यपुरथिमि नगर कमिटीका अध्यक्ष दीपा अधिकारीले सबै जातजाति एकै ठाउँमा बसेर रमाउँदै तीजलाई साझा पर्वका रुपमा मनाउन लागेको बताए । कार्यक्रममा विभिन्न गीत तथा नृत्य प्रस्तुत गर्दै मनोरञ्जनात्मक प्रस्तुती प्रर्दशन गरिएको थियो ।

प्रतिक्रिया