शनिबार, फागुन २, २०८२

मेरो राजनीतिक प्रेरणाको स्रोत बिपी नै हुनुहुन्छ : सभापति देउवा

मेरोन्यूज २०८० भदौ २४ गते १३:१८

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं पार्टीका संस्थापक नेता जननायक बिपी कोइराला नै आफ्नो राजनीतिक प्रेरणाको स्रोत भएको बताएका छन्।

Advertisement
nepal life insurencenepal life insurence

पार्टीले आयोजना गरेको आजदेखि प्रारम्भ भएको तीन दिने ‘बिपी साहित्य महोत्सव’को उद्घाटन समारोहमा उनले बिपी आफैमा बहुआयामिक व्यक्तित्व भएको उल्लेख गरे । सभापति देउवाले भने, “उहाँ राजनीतिक जगतमा सबैका अनुकरणीय विचारक, चिन्तक हुनुहुन्थ्यो भने साहित्यिक आकाशमा सधँै अजर र अमर नक्षेत्रको रुपमा आज पनि स्थापित हुनुहुन्छ । उहाँको राजनीतिक चिन्तनले देखाएको मार्ग मै हामी हिँडेका छाँै ।”

विपीकै चिन्तनले मुलुक समृद्ध बनाउन सकिने र प्रयत्न भइरहेको उल्लेख गर्दै उनले नेपालका सबै राजनैतिक दलहरुले कुनै न कुनै दृष्टिकोणले आज पनि बिपीको विचारमा आकर्षित मात्रै होइन अनुकरण पनि गर्दै आएको बताए ।

महोत्सवले बिपीले प्रतिपादन गरेको राजनीतिक विचार, उनका साहित्यिक कृति, उनले भोगेका सङ्घर्षमय जीवन गाथा र उनको सामाजिक, आर्थिक तथा धार्मिक सांस्कृतिक दृष्टिकोणलगायतका विविधि पक्षमा आजको युवा पुस्तालाई गहिरो ज्ञान बाँड्नेमा सभापति देउवाले विश्वास व्यक्त गरे ।

“बिपी सादा जीवनमा विश्वास गर्ने उच्च तहको नेता र प्रसिद्ध साहित्यकार हुनुहुन्थ्यो । हामीले उहाँलाई भेट्दा तिमीहरु ठूलो मान्छे होइन, असल मान्छे बन्नु भन्नुहुन्थ्यो । उहाँले माक्र्स र गान्धीलाई गहिरिएर पढ्नुभएको थियो । प्रेम, शान्ति, अहिंसा र लोकतन्त्रका सन्दर्भमा उहाँ गान्धीसँग र आर्थिक समानताका सवालमा माक्र्सवादी चिन्तनलाई आवश्यक ठान्नुहुन्थ्यो”, सभापति देउवाले भने ।

बिपीले प्रजातान्त्रिक समाजको व्याख्या गर्दै भन्नुभएको र साम्यवादमा प्रजातन्त्र थपिदियो भने समाजवाद हुन्छ र समाजवादबाट प्रजातन्त्र झिकिदियो भने साम्यवाद हुने बिपीको विचार रहेको सभापति देउवाले बताए। उनले आज कांग्रेस बहुदलीय संसदीय शासन प्रणाली र प्रजातान्त्रिक समाजवादी अर्थ व्यवस्थालाई आफ्नो मूल सिद्धान्त र आर्दश कायम गरेर अघि बढेको बताए ।

प्रतिक्रिया