राजदूतमा सिफारिस सुशील प्याकुरेलद्वारा पद अस्वीकार !

काठमाडौँ । मन्त्रिपरिषद् बैठकबाट दक्षिण कोरियाको राजदूतमा सिफारिस भएका मानवअधिकारकर्मी समेत रहेका सुशील प्याकुरेलले उक्त पद अस्वीकार गरेका छन् ।
प्याकुरेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पत्रनै लेखेर आफूलाई दक्षिण कोरियाको राजदूत पदका लागि गरिएको सिफारिस फिर्ता लिन आग्रह गर्न लागेको निकटस्थसँग बताएका छन् । एमालेको कोटाबाट सिफारिस उनले एमालेलाई पनि यसबारे जानकारी गराइसकेको स्रोतले जानकारी दिएको छ ।
प्याकुरेलले आफूलाई राजदूत पदमा सिफारिस गर्नुअघि परराष्ट्र मन्त्रालय वा मन्त्रिपरिषद् सचिवालयबाट कुनै सम्पर्क समेत नगरेको गुनासो गरेका छन् ।
‘मलाई दक्षिण कोरियाको राजदूत पदमा सिफारिस गर्नुअघि परराष्ट्र मन्त्रालय वा मन्त्री परिषद् सचिवालयबाट कुनै सम्पर्क वा सङ्केत समेत दिइएन’, प्याकुरेलले निकटस्थसँग भनेका छन्, ‘राजदूत जस्तो राष्ट्रको प्रतिनिधित्व गर्ने पदको जिम्मेवारी प्रदान गर्नुअघि सम्बन्धित व्यक्तिको पृष्ठभूमि, कार्यदक्षता, रुचि, कूटनीतिको विषय र सम्बन्धित मुलुकको राजनीतिक, आर्थिक, सामाजिक स्थिति सम्बन्धी ज्ञानका विषयमा पूर्व विमर्श नगर्ने सरकारको प्रचलनबाट म आश्चर्यचकित छु ।’ उनले यही बेहोराको पत्र प्रधानमन्त्रीलाई बुझाउने तयारी गरेको स्रोतको भनाइ छ ।
साथै, उनले राजदूत नियुक्तिसम्बन्धी विगतमा सरकारले तय गरेको मापदण्ड र संसदीय सुनुवाइको औचित्य र राजदूतको कार्यकालका विषयमा समेत गम्भीर विमर्श आवश्यक भएको औँल्याएका छन् ।
यस सम्बन्धमा प्याकुरेलले अहिले राजदूतमा रुचि नरहेको स्वीकार गरे पनि थप प्रतिक्रिया दिन चाहेनन् ।
‘अहिले किन हतार गर्नुपर्यो । प्रक्रिया पुरा गर्दै छु’, प्याकुरेलले भने ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न आठ देशमा राजदूत नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको थियो ।



















सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा मनाइयो आरोग्य दिवस
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
एकद्वार सेवा प्रणाली लागू गर्न गृह मन्त्रालयको नौ बुँदे निर्देशन
इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन गर्ने दुर्गा प्रसाईंको घोषणा
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
यस्तो छ आज तरकारीको थोक मूल्य
इरानमा पक्राउ परेका अमृत झा रिहा
२०६२ सालपछिका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन
पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो
प्रतिक्रिया