बुधबार, वैशाख ३१, २०८२

साउथ एक्टर नागा चैतन्यले गरे शोभिता धुलिपालासँग इन्गेजमेन्ट (तस्बिर)

मेरोन्यूज २०८१ साउन २५ गते १५:५३

काठमाडौं । साउथ अभिनेता नागा चैतन्यले अभिनेत्री शोभिता धुलिपालासँग इन्गेजमेन्ट गरेका छन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार दुवैले नागाका पिता नागार्जुनको घरमा एक निजी समारोहमा इन्गेजमेन्ट गरेका थिए । नागार्जुनको घर हैदराबादको पोश क्षेत्र जुबली हिल्समा अवस्थित छ।

नागार्जुन आफैले सामाजिक सञ्जालमा इन्गेजमेन्टको तस्बिर सेयर गरेर उनीहरुलाई आशीर्वाद दिएका छन् । उनले सोसियल मिडिया प्लेटफर्म एक्समा लेखेका छन्, ‘छोरा नागा चैतन्यको शोभिता धुलिपालासँग इन्गेजमेन्ट भएको घोषणा गर्न पाउँदा म निकै खुसी छु । दुवैले बिहान ९:४२ मा इन्गेजमेन्ट गरेका हुन् । शोभितालाई परिवारमा स्वागत गर्दछौं। दुबैजनालाई हार्दिक शुभकामना ।’

इन्गेजमेन्टका लागि नागाले आफ्नो आगामी फिल्म ‘ठन्डेल’ को सुटिङबाट एक दिनको ब्रेक लिएको समाचारमा बताइएको छ । सामन्थासँग सम्बन्धविच्छेद गरेपछि नागा चैतन्यको नाम शोभितासँग जोडिन थालेको थियो ।

शोभिता आफ्नो फिल्म ‘मेजर’ को प्रमोशनका लागि बसेको होटलमा चैतन्य धेरै पटक देखिएका थिए । शोभिताले पनि आफ्नो जन्मदिन हैदराबादमै सेलिब्रेट गरिन् । यसपछि पनि नागा र शोभिता धेरै स्थानमा सँगै देखिएका थिए।

सामन्था रुथ प्रभु र नागा चैतन्यले गोवामा ६ अक्टोबर २०१७ मा हिन्दू र त्यसपछि ७ अक्टोबरमा क्रिस्चियन रितीरिवाज अनुसार विवाह गरेका थिए । विवाहपछि सामन्थाले आफ्नो नाम बदलेर अक्किनेनी राखेकी थिइन्, तर सम्बन्धविच्छेदको खबरबीच सामन्थाले आफ्नो ट्विटर ह्यान्डलबाट अक्किनेनीलाई हटाएर सामन्था रुथ प्रभु राखेकी थिइन् । दुवैको अक्टोबर ६, २०२१ मा वैवाहिक जीवनको चार वर्ष पूरा गर्न लागेको थियो तर त्यसअघि नै उनीहरु अलग भएका थिए ।

प्रतिक्रिया