विद्युत् व्यापारमा ऐतिहासिक फड्कोः मन्त्री खड्का

काठमाडौं । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले नेपालको बिजुली बङ्गलादेश पुर्याउनेसम्बन्धी भएको बहुपक्षीय सम्झौता ऐतिहासिक महत्वको भएको बताएका छन् । नेपालको बिजुली भारतको प्रसारण प्रणाली हुँदै बङ्गलादेश पुग्ने बाटो खुल्नु नै महत्वपूर्ण कदम भएको र यसले आगामी दिनमा थप आयाम विस्तार गर्ने उल्लेख गर्दै उनले त्रिपक्षीय सम्झौता नेपालको ऊर्जा क्षेत्रका लागि कोशेढुङ्गा भएको बताए ।
मन्त्री खड्काले नेपालले इतिहासमै पहिलोपटक जलविद्युत् ऊर्जा तेस्रो मुलुकमा निर्यात गर्न लागेकाले यो समारोह नै ऊर्जा क्षेत्रमा ऐतिहासिक भएको बताए । “आजको यो उपलब्धि सन् २०१८ देखि नेपाल र बङ्गलादेशले ऊर्जा क्षेत्र सहयोगसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गरेपछि संयुक्त कार्यदल र संयुक्त सञ्चालन समितिको छ वटा सफल बैठक तथा त्यसपछिको निरन्तर प्रयासको प्रतिफल हो”, ऊर्जा मन्त्री खड्काले भने ।मन्त्री खड्काले बङ्गलादेशको नयाँ अन्तरिम सरकार र बङ्गलादेशीलाई मुलुक सुधारका एजेण्डामा सफलताको कामना गर्दै बधाई दिए ।
उनले नेपाल र बङ्गलादेशबीचको सम्बन्धलाई ऊर्जा व्यापार सम्बन्धले जनस्तरमा थप सुदृढ एवं प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरे ।उनले नेपालमा उत्पादित विद्युत् सीमापार प्रसारण लाइनबाट बङ्गलादेश पुग्नका लागि सहज बनाउन भारत सरकारको अटल एवं निरन्तर सहयोगप्रति धन्यवाद व्यक्त गरे । मन्त्री खड्काले नेपालले सन् २०३५ सम्ममा २८ हजार पाँच सय मेगावाट जलविद्युत् उत्पादन गर्ने प्रतिबद्धता व्यक्त भएका सन्दर्भमा १५ हजार मेगावाट निर्यातका लागि उपयोग हुने धारणा राखे । त्यसमध्ये पनि पाँच हजार मेगावाट बङ्गलादेशका लागि नै भएको उनको कथन छ ।
ऊर्जा मन्त्री खड्काले छिमेकी देशका सार्वजनिक र निजी क्षेत्रलाई नेपालको जलविद्युत् आयोजनामा लगानी गर्नसमेत आग्रह गरे । उनले बङ्गलादेश, भुटान, भारत र नेपालमा ग्रिड पूर्वाधार एकीकृत गरेर जलविद्युत् विकासलाई गति दिन सकिने बताए । आजको त्रिपक्षीय सम्झौताले फराकिलो बहुपक्षीय ऊर्जा साझेदारीको घोषणा गरेको उनको कथन छ ।
बङ्गलादेशको अन्तरिम सरकारका वन, वातावरण, जलवायु परिवर्तन तथा जलस्रोतमन्त्री सैयदा रिजवाना हसनले दक्षिण एशियाको ऊर्जा सहकार्यका लागि आजको सम्झौता ऐतिहासिक कोशेढुङ्गा भएको बताइन् । आगामी दिनमा यस प्रकारको सहकार्य थप विस्तार हुने विश्वास व्यक्त गर्दै उनिले एक अर्काको पारस्परिक लाभ र साझा सहकार्यका लागि पनि सम्झौता महत्वपूर्ण रहेको धारणा राखिन् ।
नेपालका लागि भारतका राजदूत नीवन श्रीवास्तवले दक्षिण एशिया उपक्षेत्रीय विद्युत् साझेदारीका लागि आफ्नो देश प्रतिबद्ध रहेको उल्लेख गर्दै विद्युत् निर्यातका सन्दर्भमा नेपालका लागि आजको दिन महत्वपूर्ण रहेको बताए । नेपालले भारतमा विद्युत् निर्यात गर्न थालेदेखिकै ठूलो उपलब्धि हासिल गरेको उनको भनाइ थियो ।
कूल ३० मेगावाटबाट सुरु भएको बिजुली निर्यातको यात्रा एक हजार मेगावाट बराबर पुगेको उल्लेख गर्दै उनले भारतीय कम्पनीहरु नेपालमा लगानीका लागि खोजिरहेको बताए ।सो अवसरमा ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङ, ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिवद्वय सुरेश आचार्य र सरिता दवाडीलगायतको सहभागिता रहेको थियो ।
















China pledges support for Nepal’s economic transformation with new government
एकै वर्ष मुलुकमा तीन प्रधानमन्त्री
यस्तो बन्याे प्रधानमन्त्री बालेनको सचिवालय टिम
Ather Rizta S Launches Nationwide in Nepal at an Unmissable Introductory Price
साफ यु–२० फुटबलः नेपाल सेमिफाइनलमा प्रवेश
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
चैत ११ गते बुधबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
रास्वपा सभापति रवि लामिछानेलाई अमेरिकाले दियाे बधाई
प्रतिक्रिया