वन्यजन्तु र मानवबीचको द्वन्द्व न्यूनीकरणका लागि सामुदायिक वनमा पोखरी

तनहुँ। डिभिजन वन कार्यालय तनहुँले चार वर्षको अवधिमा ४२ वटा पोखरी निर्माण गरेको छ । वन्यजन्तु र मानवबीचको द्वन्द्व न्यूनीकरणका लागि सामुदायिक वनमा पोखरी निर्माण गरिएको हो ।
कार्यालयका सूचना अधिकारी राजकुमार श्रेष्ठले वनजङ्गलमा पानी र आहारका अभावले वन्यजन्तु मानवबस्तीमा पस्ने र आक्रमण गर्ने भएकाले तिनलाई वनमै रोक्न पोखरी निर्माण कार्यक्रम सञ्चालन गरिएको बताए ।
उनले चालु आर्थिक वर्षमा मात्रै १० वटा पोखरी निर्माण गरिएको बताए । ‘पानी र आहारको खोजीमा वन्यजन्तु मानवबस्तीमा आउने गर्छन् । यसले मानव—वन्यजन्तु द्वन्द्व बढाइरहेको छ । यसलाई न्यूनीकरण गर्न वनजङ्गलमै पोखरी निर्माण गरिएको होँ, श्रेष्ठले भने ।
चालु आवमा म्याग्दे गाउँपालिका–३ स्थित सिद्धबतास सामुदायिक वन, देवघाट गाउँपालिका–४ स्थित आमडाँडा महोरिया सामुदायिक वन, ऋषिङ गाउँपालिका–३ स्थित जनशक्ति सामुदायिक वन, वडा नं ४ को वराहसेनी सामुदायिक वनमा पोखरी निर्माण गरिएका छन् । यसैगरी शुक्लागण्डकी नगरपालिका–२ को तारा, बन्दीपुर गाउँपालिका–२ को सिद्धथान, भिमाद नगरपालिका–४ को मसुरेगैरा, व्यास नगरपालिका–११ को द्रुपता, यही नगरको वडा नं ७ स्थित क्यामिन हरियाली सामुदायिक वन र भानु नगरपालिका–८ को देउराली सामुदायिक वनमा गरी १० वटा पोखरी निर्माण गरिएका छन् । मानव र वन्यजन्तुबीच द्वन्द्व कम गर्न एउटा पोखरी निर्माणका लागि रु एक लाख अनुदानको व्यवस्था गरिएको छ ।
यहाँ आव २०७७/७८ मा १०, आव २०७८/७९ मा १४, आव २०७९/८० मा आठ वटा पोखरी निर्माण गरिएका थिए । पोखरी निर्माणपछि ती क्षेत्रका वनजङ्गलमा यसपालि आगलागी कम भएको कार्यालयले जनाएको छ । हरियालीमा वृद्धि हुँदा घाँस खाएर बाँच्ने प्रजातिका जनावरको आहार व्यवस्थापनमा सहज भएको छ ।
वन अधिकृत नवीन विश्वकर्माले पानीको मुहानको संरक्षण तथा पोखरी निर्माण गरिएपछि वन्यजन्तुलाई जङ्गलमै रहन सहयोग पुगेकाले द्वन्द्व व्यवस्थापनमा सहज भएको बताए । पानीको खोजीमा वन्यजन्तु मानवबस्तीमा आउन थालेपछि द्वन्द्व बढेकाले न्यूनीकरणका लागि पोखरी निर्माण योजना अघि सारिएको र यो कार्य प्रभावकारी बन्दै गएको उनको भनाइ छ ।
वन अधिकृत विश्वकर्माले भने, ‘जङ्गलमा पानीको स्रोत संरक्षण तथा पोखरी निर्माण गर्दा वन्यजन्तुलाई पानीको अभाव हुँदैन । पानीका स्रोत तथा मुहान नसुक्ने, जैविक विविधता संरक्षण, जलवायु अनुकूलन तथा मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनमा उल्लेख्य योगदान पुग्ने गरेको छ । यस कारण पोखरी निर्माणलाई अभियानका रूपमा सञ्चालन गरिएको हो ।’










तनावका बीच इरानले गर्याे क्षेप्यास्त्र परीक्षण
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
रवि लामिछाने र बालेनबीच भेटवार्ता
कांग्रेस क्रियाशील सदस्यताको फारम पुस ९ गते भित्र भर्नुपर्ने
क्षेप्यास्त्र कार्यक्रममा कुनै सम्झौता हुँदैन -इरान
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
कार्की ब्याङ्क्वेटमा ईश्वर पोखरेल समूहको भेला
प्रतिक्रिया