कांग्रेसद्वारा सभापति देउवा दम्पत्तिमाथिको आक्रमणको भर्त्सना

काठमाडौँ । नेपाली कांग्रेसले सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा तथा उहाकी धर्मपत्नी एवं केन्द्रीय सदस्य डा आरजु राणा देउवामाथिको बर्बतापूर्ण भौतिक आक्रमणको निन्दा र भर्त्सना गरेको छ । कांग्रेसले आज एक वक्तव्यमार्फत लोकतन्त्रका लागि जीवनपर्यन्त अविचलित रूपमा सङ्घर्ष गर्नुभएका पार्टी सभापति देउवा र केन्द्रीय सदस्य डा राणामाथिको आक्रमणको निन्दा गर्दै शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।
‘जेनजी’ आन्दोलनका क्रममा भएको मृत्यु एवं खर्बौको भौतिक संरचनाको विनाश, अन्य कयौँ राजनैतिक नेतृत्वमाथिको भौतिक आक्रमण, राष्ट्रपतिद्वारा गरिएको संवाद पहलकदमी, अन्तरिम प्रधानमन्त्रीको घोषणा, प्रतिनिधिसभा विघटन यी समग्र विषयमा पार्टीको धारणा सार्वजनिक गरिसकेको कांग्रेसले जनाएको छ ।
उपसभापति पूर्णबहादुर खड्काद्वारा जारी विज्ञप्तिमा भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा युवा सहादत हुनु र खर्बौं सम्पत्तिको तोडफोड, आगजनी भई पूर्णक्षति हुनु अत्यन्तै दुःखद् भएको उल्लेख छ । कांग्रेसले आन्दोलनको क्रममा जीवन गुमाउने युवाहरू, सुरक्षाकर्मीलगायतप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै परिवारजनमा समवेदना व्यक्त गरेको छ । यस्तै, सम्पूर्ण घटनाको छानबिन गर्न मागका लागि सरकारलाई पुनःस्मरण गराएको छ ।
“जेनजीको भावनाविपरीत अवाञ्छित घुसपैठ हुँदा सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत, प्रदेशसभा भवनदेखि अनेकौ राजनैतिक, प्रशासनिक, व्यावसायिक प्रतिष्ठान, वित्तीय संस्था, मिडिया संस्था र व्यक्तिका निजी घरमा समेत गरेर खर्बाैंको संरचना ध्वस्त गरिएको छ । यो अत्यन्तै अकल्पनीय र दुःखद् घटना निन्दनीय र भर्त्सना योग्य छ ।
सरकारले क्षतिको वास्तविक आङ्कलन प्रक्रिया अविलम्ब सुरु गरौँ”, विज्ञप्तिमा भनिएको छ । यसैगरी कांग्रेसले पार्टीका अग्रज, नेता, पार्टीका साथी तथा अन्य राजनीतिक दलका नेतामाथि भएको भौतिक आक्रमण निन्दनीय र भर्त्सना योग्य भन्दै आन्दोलनका क्रममा घाइते हुनुभएका सबैको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।
“संविधानबमोजिम जनताबाट लोकतान्त्रिक विधिअनुसार निर्वाचित देशकै सर्वोच्च प्रतिनिधिमूलक संस्था प्रतिनिधिसभाको विघटन पूर्णरूपमा अलोकतान्त्रिक र असंवैधानिक छ । यस कार्यले देशको संविधान, सविधानद्वारा प्रत्याभूत नागरिक अधिकार, सङ्घीय लोकतान्त्रिक गणतन्त्रतात्मक शासन व्यवस्था र समावेशी चरित्रको राज्य निर्माण गर्ने संविधानको भावनामा कुठाराघात भएको छ”, विज्ञप्तिमा उल्लेख छ ।
यस विषयमा अविलम्ब कार्यसम्पादन समितिको बैठक बसेर प्रतिनिधिसभाको अलोकतान्त्रिक र असवैधानिक विघटनको विपक्षमा आफ्नो स्पष्ट धारणा सार्वजनिक गरिएको उपभापति खड्काले विज्ञप्तिमार्फत स्मरण गराएका छन् । समस्त नेपाली दिदीबहिनी, दाजुभाइ, युवा एवं पार्टी साथीहरूको भावनालाई सम्मान गर्दै विद्यमान राजनैतिक घटनाक्रम सम्बन्धमा एकताबद्ध रहेर स्पष्ट धारणा तय गर्दै अघि बढ्न कांग्रेस दृढ प्रतिबद्ध रहेको विज्ञप्तिमा भनिएको छ ।
















संविधान पुनरावलोकनका विषयमा प्रधानमन्त्री कार्कीलाई कानुन आयोगको जानकारी
Qatari delegation engages in high-level meetings at FNCCI’s initiative Discussions held on Nepal-Qatar economic development, tourism and investment cooperation
राष्ट्रिय आर्थिक गणनामा परिसङ्घको सहकार्य
आगामी निर्वाचनबाट प्रदेशलाई सबल र देशलाई सम्मुन्नत बनाउँछौँः सभापति थापा
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
आजका लागि तरकारि तथा फलफुलकाे मूल्य
वरिष्ठ कलाकार सुनिल थापाको हृदयघातका कारण निधन
प्रधान सेनापति खुला म्याराथन सम्पन्न
निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध
प्रतिक्रिया