मेक्सिकोको एक सुपरमार्केटमा विस्फोट हुँदा २३ जनाको मृत्यु

मेक्सिकोको उत्तरी भागमा रहेको एक सुपरमार्केटमा शनिबार भएको भीषण विस्फोटमा कम्तीमा २३ जनाको ज्यान गएको छ भने ११ जना घाइते भएका छन् । स्थानीय अधिकारीहरूका अनुसार विस्फोटका कारण सम्भवतः त्रुटिपूर्ण विद्युतीय ट्रान्सफर्मर रहेको प्राथमिक अनुसन्धानले देखाएको छ ।
सोनोरा राज्यका गभर्नर अल्फोन्सो दुराजोले भिडियो सन्देशमार्फत भने, “दुःखको कुरा, धेरै पीडितहरू नाबालिग रहेका छन्, घाइतेहरूलाई हर्मोसिलो सहरका अस्पतालमा उपचारका लागि लगिएको छ ।”
गभर्नर दुराजोले घटनाको वास्तविक कारण पत्ता लगाउन तथा जिम्मेवार व्यक्तिहरूको पहिचानका लागि विस्तृत र पारदर्शी अनुसन्धानको आदेश दिएका छन् । अभियोजक कार्यालयले जारी गरेको वक्तव्यमा भनिएको छ, “घटना आकस्मिक भएको प्रारम्भिक धारणा छ र अनुसन्धान पसलभित्र रहेको ट्रान्सफर्मरमाथि केन्द्रित गरिएको छ ।”
विस्फोट सहरको केन्द्रमा रहेको ‘वाल्डो’ सुपरमार्केटमा दिउँसो करिब २ बजेतिर (२००० जिएमटी) भएको थियो । स्थानीय सञ्चारमाध्यमहरूका अनुसार विस्फोटपछि पसलभित्र रहेका केही ग्राहकहरू भाग्न नपाई आगोको लप्कामा फसेका थिए । सार्वजनिक भएका तस्बिरहरूमा भवनको अगाडिको भाग कालो देखिएको र झ्यालहरू फुटेका थिए ।
गभर्नर दुराजोले भने, “कसैले पनि यो पीडाको सामना एक्लै गर्नुपर्ने छैन । पहिलो क्षणदेखि नै आपतकालीन, सुरक्षा र स्वास्थ्य निकायहरूले उच्च व्यावसायिकता र प्रतिबद्धताका साथ कार्य गरे, परिस्थितिलाई नियन्त्रणमा लिए र धेरै जीवनहरू बचाए ।”
मेक्सिकोकी राष्ट्रपति क्लाउडिया सेनबामले सामाजिक सञ्जाल एक्समार्फत मृतकका परिवारजन र प्रियजनप्रति हार्दिक समवेदना प्रकट गरे । उनले भने, “म सोनोराका गभर्नरसँग सम्पर्कमा छु र गृह सचिव रोजा इसेला रोड्रिगेजलाई प्रभावित परिवार र घाइतेहरूलाई सहयोगका लागि सहायता टोली पठाउन निर्देशन दिएकी छु ।”
स्थानीय अधिकारीहरूले नागरिकहरूलाई विस्फोट क्षेत्रबाट टाढा रहन आग्रह गरेका छन् । सो अवसरमा आयोजना हुन लागेको मृतकको दिन (डे अफ द डेड) सम्बन्धी उत्सव पनि स्थगित गरिएको छ ।
अखबार एल युनिभर्सलका अनुसार नजिकका व्यवसायहरूले आगो फैलिन नदिन आफ्ना ढोका बन्द गरेका थिए । अनुसन्धानकर्ताहरूले भवनमा प्रवेश अनुमति पाएपछि घटनाको ठ्याक्कै कारण पत्ता लाग्ने अपेक्षा गरिएको छ ।









श्रमिक–कर्मचारीको सामाजिक सुरक्षालाई बोझका रूपमा नलिन प्रधानमन्त्रीको आग्रह
लुम्बिनीले सुदूरपश्चिमलाई दियाे १४४ रनको लक्ष्य
प्रेस काउन्सिलले मेरो न्यूजलाई पत्र काटेकोमा काउन्सिलकै सदस्यकाे फरक मत
कान्तिपथमा कारको ठक्करबाट एक जनाको मृत्यु
मेरो न्यूजलाई प्रेस काउन्सिलले पत्र काटेकोमा प्रेस चौतारीको आपत्ति
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
आज २०८२ साल मंसिर ९ गते मंगलबारको राशिफल
देउवाकै हस्ताक्षर लिएर कांग्रेस चुनावमा जाँदैन : गगन थापा
बलिउड अभिनेता धर्मेन्द्रको निधन
संयुक्त राष्ट्रसङ्घका मानवअधिकार प्रमुखद्वा्रा ‘जेनेरेटिभ एआई’ ले ल्याउनसक्ने समस्याबारे चिन्ता व्यक्त
प्रतिक्रिया