भियतनाममा भीषण बाढी, कम्तीमा ९० जनाको मृत्यु

हनोई । भियतनाममा भारी वर्षा, बाढी तथा भूस्खलनका कारण गत एक हप्तामा कम्तीमा ९० जनाले ज्यान गुमाएको अधिकारीहरूले आइतबार बताएका छन् ।
धेरै नागरिक अझै छत र पहाडी सडकहरूमा फसिरहेका छन् । अक्टोबरको अन्त्यदेखि दक्षिण–मध्य भियतनाममा निरन्तर वर्षा भइरहेको छ । जसका कारण पर्यटकीय सहरहरूमा बारम्बार बाढी आएको छ भने करोडौँ डलर बराबरको क्षति पुर्याएको छ । तटीय सहर न्हा ट्राङका विस्तृत क्षेत्र डुबानमा परेको छ । प्रख्यात पर्यटन केन्द्र दा लाट वरिपरिका उच्च भूभागमा घातक भूस्खलन भएको छ ।
नोभेम्बर १६ पछि पुष्टि भएका मृतकमध्ये ६० भन्दा धेरै डाक लाक प्रान्तमै रहेका छन् । त्यहाँ दशौँ हजार घर डुबानमा परेको वातावरण मन्त्रालयले बताएको छ । वर्षौंदेखि बाढीबाट जोगिन विक्रेताहरूले पाँच सेन्टिमिटर जति उच्च स्थान सुरक्षित मान्दथे, तर यसपटक पानी एक मिटरभन्दा माथि पुगेपछि त्यो पनि निष्प्रभावी भयो । गत हप्तामै डाक लाकसहित पाँच प्रान्तमा ८० हजार हेक्टरभन्दा बढी चामल तथा अन्य बाली नष्ट भए भने करिब ३२ लाख गाई–वस्तु तथा कुखुरा मरे वा बगे ।
सरकारले बाढीपीडित समुदायहरूमा राहत पुर्याउन हेलिकोप्टर परिचालन गरेको छ । दशौँ हजार कर्मचारीलाई कपडा, पानी शुद्धीकरण ट्याब्लेट, तयारी चाउचाउ र अन्य आवश्यक सामग्री वितरणका लागि खटाइएको राज्य सञ्चालित टुओई ट्रे न्युजले जनाएको छ । राष्ट्रिय राजमार्गका धेरै खण्ड अझै अवरुद्ध छन् भने कतिपय रेलवे सेवाहरू निलम्बित अवस्थामा छन् ।
वातावरण मन्त्रालयले बाढीका कारण पाँच प्रान्तमा करिब ३४ करोड ३० लाख डलर बराबरको आर्थिक क्षति भएको अनुमान गरेको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार यस वर्ष जनवरीदेखि अक्टोबरसम्मको अवधिमा मात्र प्राकृतिक प्रकोपले २७९ जनाको ज्यान लिएको वा बेपत्ता पारेको छ र क्षति २ अर्ब डलरभन्दा माथि पुगेको छ । दक्षिणपूर्वी एसियाली मुलुकमा सामान्यतया जुनदेखि सेप्टेम्बरसम्म भारी वर्षा हुने गर्छ तर वैज्ञानिकहरू मानव–सृजित जलवायु परिवर्तनका कारण चरम मौसमजन्य घटना झन् बारम्बार र विनाशकारी बन्दै गएको चेतावनी दिइरहेका छन् ।
















निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका तीन उम्मेदवार र तीन सरकारी निकायलाई मागियो स्पष्टीकरण
नेपाल र चीनका गभर्नरबीच भेटवार्ता, सहकार्यका विषयमा छलफल
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव, कस्ताे रहला आज देशभरकाे माैसम ?
सुनको मूल्यमा आज पनि रेकर्ड, कतिमा हुँदैछ काराेबार ?
स्कटल्यान्डसँग पराजित भएसँगै समूह चरणबाटै बाहिरियो नेपाल
बालेन शाहविरूद्ध निर्वाचन आयोगमा उजुरी
अस्पतालमा राखिएको शव अर्कैले लिएर अन्त्यष्टि गरेपछि…
म दुई दिनको चटक देखाउन होइन, मधेस पढ्न र बुझ्न आएको हुँः सभापति थापा
प्रतिक्रिया