भियतनाममा भीषण बाढी, कम्तीमा ९० जनाको मृत्यु

हनोई । भियतनाममा भारी वर्षा, बाढी तथा भूस्खलनका कारण गत एक हप्तामा कम्तीमा ९० जनाले ज्यान गुमाएको अधिकारीहरूले आइतबार बताएका छन् ।
धेरै नागरिक अझै छत र पहाडी सडकहरूमा फसिरहेका छन् । अक्टोबरको अन्त्यदेखि दक्षिण–मध्य भियतनाममा निरन्तर वर्षा भइरहेको छ । जसका कारण पर्यटकीय सहरहरूमा बारम्बार बाढी आएको छ भने करोडौँ डलर बराबरको क्षति पुर्याएको छ । तटीय सहर न्हा ट्राङका विस्तृत क्षेत्र डुबानमा परेको छ । प्रख्यात पर्यटन केन्द्र दा लाट वरिपरिका उच्च भूभागमा घातक भूस्खलन भएको छ ।
नोभेम्बर १६ पछि पुष्टि भएका मृतकमध्ये ६० भन्दा धेरै डाक लाक प्रान्तमै रहेका छन् । त्यहाँ दशौँ हजार घर डुबानमा परेको वातावरण मन्त्रालयले बताएको छ । वर्षौंदेखि बाढीबाट जोगिन विक्रेताहरूले पाँच सेन्टिमिटर जति उच्च स्थान सुरक्षित मान्दथे, तर यसपटक पानी एक मिटरभन्दा माथि पुगेपछि त्यो पनि निष्प्रभावी भयो । गत हप्तामै डाक लाकसहित पाँच प्रान्तमा ८० हजार हेक्टरभन्दा बढी चामल तथा अन्य बाली नष्ट भए भने करिब ३२ लाख गाई–वस्तु तथा कुखुरा मरे वा बगे ।
सरकारले बाढीपीडित समुदायहरूमा राहत पुर्याउन हेलिकोप्टर परिचालन गरेको छ । दशौँ हजार कर्मचारीलाई कपडा, पानी शुद्धीकरण ट्याब्लेट, तयारी चाउचाउ र अन्य आवश्यक सामग्री वितरणका लागि खटाइएको राज्य सञ्चालित टुओई ट्रे न्युजले जनाएको छ । राष्ट्रिय राजमार्गका धेरै खण्ड अझै अवरुद्ध छन् भने कतिपय रेलवे सेवाहरू निलम्बित अवस्थामा छन् ।
वातावरण मन्त्रालयले बाढीका कारण पाँच प्रान्तमा करिब ३४ करोड ३० लाख डलर बराबरको आर्थिक क्षति भएको अनुमान गरेको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार यस वर्ष जनवरीदेखि अक्टोबरसम्मको अवधिमा मात्र प्राकृतिक प्रकोपले २७९ जनाको ज्यान लिएको वा बेपत्ता पारेको छ र क्षति २ अर्ब डलरभन्दा माथि पुगेको छ । दक्षिणपूर्वी एसियाली मुलुकमा सामान्यतया जुनदेखि सेप्टेम्बरसम्म भारी वर्षा हुने गर्छ तर वैज्ञानिकहरू मानव–सृजित जलवायु परिवर्तनका कारण चरम मौसमजन्य घटना झन् बारम्बार र विनाशकारी बन्दै गएको चेतावनी दिइरहेका छन् ।
















अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
सबै मन्त्रालयले बुझाए प्रधानमन्त्री कार्यालयमा सुधारका कार्ययोजना
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
आगामी बजेट आर्थिक रूपान्तरणमा केन्द्रित हुन्छ ः अर्थमन्त्री डा वाग्ले
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
यूएईमा क्षेप्यास्त्र इन्टरसेप्ट गर्ने क्रममा अवशेष खस्दा ७ नेपाली घाइते, एकको अवस्था गम्भीर
किन पक्राउ परे व्यवसायी शंकर अग्रवाल ?
प्रतिक्रिया