सोमबार, मंसिर २२, २०८२

सबै क्षेत्रको विकासका लागि भरपर्दो उत्तर-दक्षिण राजमार्ग आवश्यक छः अर्थमन्त्री खनाल

मेरोन्यूज २०८२ मंसिर २२ गते १९:२९

काठमाडौँ । अर्थमन्त्री रामेश्वरप्रसाद खनालले देशको समग्र र समष्टिगत विकासका लागि उत्तर-दक्षिण सिधासम्पर्क स्थापित हुने भरपर्दो राजमार्ग आवश्यक रहेको बताएका छन् । 

कैलाली उद्योग वाणिज्य संघद्वारा धनगढीमा आयोजित सुदूरपश्चिम महोत्सव २०८२ को आज उद्घाटन गर्दै उनले गुणस्तरीय र भरपर्दो उत्तर-दक्षिण सडक सञ्जाल नहुँदा सुदूरपश्चिम प्रदेशमा  विकासले गति लिन नसकेको धारणा राखेका हुन्। 

अर्थमन्त्री खनालले भने,“उत्तर-दक्षिण कनेक्टिभिटी अति महत्त्वपूर्ण छ, कनेटिभिटीले नै विभिन्न हावापानी भएको भूगोल, विभिन्न संस्कृति र क्षमता भएकाहरूलाई सहज रूपमा आर्थिक गतिविधिमा सक्रिय बनाउँछ । सुदूरपश्चिममा यही नभएका कारण विकासमा समस्या भयो ।”

उनले स्रोतको उपयोग गर्दै ठूला परियोजना अगाडि बढाउनुपर्ने र अधुरा विकास आयोजना सकेसम्म चाँडो सम्पन्न गर्नुपर्छ भन्ने सोचका साथ आफूले काम गरिरहेको बताए । उनले भने “ जेनजी युवापुस्ताको आवाजले देशलाई परिवर्तनका लागि अगाडि बढ्न सन्देश दिएको छ । नवयुवाको परिवर्तनको चाहनालाई संस्थागत गर्न तोकिएको फागुन २१ मा निर्वाचन गर्नुछ । हामीसँग धेरै समय, सीमा पनि छैन, तथापि विकासका कामलाई एउटा लयमा लिनका लागि हाम्रो प्रयत्न जारी छ ।”

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासघका अध्यक्ष चन्द्र ढकालले सुदूरपश्चिम प्रदेश कृषि, पर्यटन, जलस्रोत, जडिबुटीलगायत स्रोतमा सम्भावनाको खानी भए पनि अपेक्षित विकास हुन नसकेको बताए । अब सबै पक्ष मिलेर प्रदेशको विकासका लागि लाग्नुपर्ने र त्यसमा आफ्नो तर्फबाट पनि भूमिका रहने बताए । 

धनगढी उपमहानगरपालिका प्रमुख गोपाल हमालले पछिल्लो तथ्यांकले सुदूरपश्चिममा गरिबी घट्नुको साटो बढेको देखिएको भन्दै अब सही योजनामा लगानी गरेर स्रोतको उपयोग र आर्थिक गतिविधि बढाउनुपर्नेमा जोड दिए। 

प्रतिक्रिया