उद्धार तथा राहतमा जुट्दा कोरोना संक्रमणबाट जोगिन जनस्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह

काठमाडौं । वाढीपहिरोको जोखिमसँगै कोभिड–१९ संक्रमणको जोखिम बढेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । उद्दार तथा राहत कार्यमा जुट्दा कोभिड–१९ विरुद्ध जनस्वास्थ्यका मापदण्डको ख्याल गर्न मन्त्रालयले आग्रह गरेको हो ।
“यस्तो विषम परिस्थितिमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले घाइते, संक्रमित, तथा प्रभावितहरुको उपचारका लागि आवश्यक सवै प्रवन्ध मिलाउने कार्य समेत गरिरहेको छ,” मन्त्रालयले विज्ञप्ति जारी गर्दै भनेको छ ।
वर्षायाम सुरु भएसँगै पानीजन्य रोगहरु, लामखुट्टेको टोकाइबाट हुने रोगहरु, सरसफाईसम्बन्धि जनस्वास्थ्यका समस्याहरु झनै बढ्नसक्ने तर्फ सवै सजग हुन जरुरी मन्त्रालयले जनाएको छ ।
“उद्दार, राहत आदि कार्यहरुमा जुट्दा सफा पिउने पानीको प्रवन्ध गर्न, उपयुक्त गाँस र वासको प्रवन्धसँगै, सरसफाई तथा लामखुट्टेको टोकाइहरुवाट बच्ने उपायहरुमा ध्यान दिनुहुन सवैमा अनुरोध छ,” विज्ञप्तिमा उल्लेख छ ।
मन्त्रालयले जनस्वास्थ्यको सुरक्षाका लागि आवश्यक औषधि, उपकरण, स्वास्थ्यकर्मीहरुको व्यवस्थापनका लागि स्थानीय जिल्ला स्वास्थ्य कार्यालयहरु, प्रदेशका सम्बन्धित निकायमार्फत स्वास्थ्य आपतकालीन केन्द्रहरुले समन्वयको व्यवस्था गरिरहेको जनाएको छ । जनस्वास्थ्यका मापदण्ड पालना नगरे कोभिड–१९ संक्रमण बढ्न सक्ने भन्दै यसतर्फ सचेत रहन आग्रह गरेको स्वास्थ्य मन्त्रालयले सम्भव भएसम्म दुई मिटरको दूरी कायम गर्न अनुरोध गरेको छ ।
प्रतिक्रिया