मलाई मन पर्ने आफ्नै गीतहरू

काठमाडाैँ । सबै गीतमा उस्तै मेहनत हुने कारण आफूले काम गरेका हरेक सिर्जनाप्रति समान प्रेम रहन्छ । तर, केही विशेष कारणवश म आफैले काम गरेको, आवाज भरेको मध्ये केही सिर्जना उत्कृष्ट लाग्नु स्वाभाविक हुन्छ ।
आज म, मलाई मन परेको मेरा गीतहरूबारे केही चर्चा गर्छु ।
कस्ले बनायो दाजै उडी जाने बस…
मलाई आफूले गाएका गीतहरूमध्ये विशेष उत्कृष्ट लाग्छ, यो गीत । कमर्शियल बजारमा खासै मतलब नराखिने यस्ता गीत जसले सुन्छन्, उनीहरूले एकैपटकमा रुचाइदिँदा रहेछन् । त्यो मेरो अनुभव हो । यो गीत पनि यस्तै मध्येको एक हो । ज-जसले गीत सुन्नुभएको छ, उहाँहरूले असाध्यै रुचाइदिनु भएको छ । धेरै खुशी लाग्दो रहेछ, यस्तो हुँदा ।
विशेषतः यो गीतले देशको बारेमा मान्छेहरूलाई एकछिन सोच्न बाध्य बनाउँछ । देशको जर्जर अवस्था र जनताको कहाली लाग्दो अवस्थाबारे यो गीतले जति उत्कृष्ट ढंगले सायदै अन्य कुनै गीतले अभिव्यक्त गरेको होला जस्तो मलाई लाग्दैन ।
आफ्नै देशमा केही गर्नु पर्ने उमेर समूहका युवाहरू श्रम बेच्न खाडी मुलुक वा अन्य दोस्रो मुलुक पलायन हुनुको बाध्यता गीतमा व्यक्त छ । अब देश बनाउन आफ्नै देशमा फर्कनु पर्छ भन्ने गीतको मूल सार छ । नेत्र विक्रम चन्द (विप्लव)को शब्द र माइला लामाको संगीत रहेको यो गीत मलाई उत्कृष्ट लागेको गीतमध्ये एक हो ।
होई च्याङ्बा….
कमर्शियल बजारमा स्रोताद्वारा असाध्यै रुचाइएको गीत हो यो । विशेष गरी नृत्य प्रयोजनका लागि यो गीतलाई असाध्यै रुचाउनु भएको छ । सेलो लयमा गाएको यस गीतमा विद्यालय र अन्य विभिन्न प्रतियोगितात्मक कार्यक्रमहरूमा नृत्य प्रस्तुत गर्न यसै गीतलाई धेरैले रुचाइदिनु भएको पाएको छु ।
तामाङ सेलो संगीतलाई असाध्यै मिठो लयमा प्रस्तुत गरिएको यो गीतमा देवकी अभिलासीको शब्द र चन्द्र कुमार दोङको संगीत रहेको छ ।तामाङ संस्कृतिलाई संगीतको माध्यमबाट असाध्यै मिठासपूर्ण ढंगले प्रस्तुत गरेकाले यो गीत उत्कृष्ट मध्येको एक लाग्छ, मलाई ।
उकाली ओराली जीवनको…
मेरा लागि यो उत्कृष्ट प्रेम गीत हो । संगितकार भरत लामाको शब्द रचना रहेको यस गीतमा प्रेमलाई असाध्यै सुन्दर र ओजनदार ढंगले वर्णन गरिएको छ । प्रेमका लागि कुनै एकले अर्काेलाई अनुनय विनयभन्दा समान समर्पण र विश्वास प्रस्तुत गरिएकाले यो गीत मन पर्ने आफ्नै सिर्जनामध्येको एक हो ।

तिमी झन आगो बन्नु…..
मेरो जीवनमा सबैभन्दा पहिला रेकर्ड गरिएको गीत हो, तिमी झन आगो बन्नु… । एकदमै फरक परिवेश र माहोलमा यो गीत तयार भएको थियो । यद्यपि, यो गीत पनि मेरो लागि उत्कृष्ट प्रेम गीत हो । जिवन्त प्रेमका लागि भावनाभन्दा विचार प्रधान हुनु पर्ने यो गीतको भाव छ ।
भावना त छिनभरमै टुट्न र गल्न सक्छ । तर, विचारले गाइड गरेको प्रेम हरेक आँधी हुरी आउँदा नडगमगाई जित्न सक्छ भन्ने उत्कृष्टता यो गीतमा प्रस्तुत गरिएको छ । गीत छिन्ताङ् थिङ तामाङको शब्द र चन्द्र अधिकारीको संगीतमा तयार भएको हो ।
काँडाहरूको बिचमा हाँसेर फूल फुल्छ….
यो मेरा लागि जीवनवादी गीत हो । जीवनमा आउने हरेक आरोह अवरोहलाई सहज स्वीकार्दै अगाडि बढ्नु पर्छ भन्ने मूल भाव गीतको छ । आज अध्याारो छ त के भो ? भोलि सूर्य उदाई हाल्छ । त्यसकारण आजको अप्ठेरोमा अल्झी नबसौँ, भोलिको उज्यालो अवष्यम्भावी छ । त्यसकारण निरन्तर यात्रा गरौँ ।
हरेक अप्ठेराहरूका बीच नै सुन्दर जीवन छ । सपाट र सहजता त अप्ठेरोका बीचबाट आउने हो भन्ने प्रेरणादायी शब्दहरू गीतमा छ । मेरो लागि यो एक प्रिय गीत हो । गीतको शब्द रचना आशा नेपाली र संगितकार शुशिल सिङ ठकुरीको छ ।
मन्त्री मायालु…
देशको परिस्थितिप्रति व्यांग्य गरेको यो गीत अहिले पनि उस्तै समसामयिक छ जस्तो लाग्छ । देशको कहाली लाग्दो अवस्था र यस्तो व्यवस्थाको नेतृत्व गर्नेहरूप्रति गीतले मज्जैले व्यांग्य गरेको छ । गीतकार बुद्ध वीर लामाको शब्द र संगीतकार चन्द्र कुमार दोङको जुगल्बन्दिमा तयार भएको यो गीत पनि मेरो खाताको सुन्दर सिर्जना हो ।
जुवा त खेल्ने चौकामा…
यो सुन्दर सेलो सिर्जना हो । सेलो संगीतको मिठास गीतको शब्दमा त छ नै, साथै सेलो संगीत सौन्दर्यको उत्कृष्ट प्रस्तुती व्यक्त गरेको छ, संगीत पक्षले यस गीतमा । बिटलाई र केही शब्दलाई पकड्दैमा सेलो गीत भयो भन्ने हुन्न, सेलो बन्नलाई त गीतमा तामाङ लयको भरपुर सुगन्ध हुन जरुरी छ । यो गीत मेरो लागि सेलो संगीतमा उत्कृष्ट प्रस्तुती हो । गीतमा गायक दिल बोम्जनको शब्द र चन्द्र कुमार दोङको संगीत रहेको छ ।
दरबन्दी….
समग्रमा हरेक प्रकारका स्रोताले रुचाउनु भएको सेलो विधा नेपाली संगीतको सुन्दर पक्ष हो । सुगम संगीतलगायत अन्य विधाका धेरै गीतहरू गाए पनि बढी क्रियाशील म सेलो संगीतमै भएँ, जस्तो लाग्छ । यसैको निरन्तरता हो, दरबन्दी ।
गीतमा बोलीचालीमा विस्तारै लोप हुँदै गएको नेपाली ठेट शब्द दरबन्दी गीतमा सुन्दर ढंगले प्रयोग गरिएको छ । संगीतमा कतै–कतै प्रयोग गरिएको तामाङ सेलोको ठेट ट्युनिङले संगीत पक्षमा अझ सुनमा सुगन्ध भरेको छ । शुसन लामाको शब्द संगीत रहेको गीतलाई स्रोताले असाध्यै रुचाउनु भएको पाएको छु ।

खुशी…
यो असाध्यै उत्कृष्ट सिर्जना हो, मेरा लागि । गीतमा आवाज भर्न पाउनु मेरा लागि मिठो अवसर थियो । जीवन र जगतको नियमलाई स्वीकार्दै सकारात्मक जीवन जिउनु पर्ने र बिक्रीत भावनालाई परास्त गर्नु पर्ने गीतको भाव छ । जीवन दर्शनको रुपमा गीत एक उत्कृष्ट रचना हो । हाम्रो जीवन अनित्य भए जस्तै सुख र दुःख पनि अस्थायी हुन् । यो अनित्य जीवनमा क्रोध र मोहलाई हटाउँदै सबैलाई प्रेम बाँड्नु पर्ने यो गीतको मूल मर्म छ । मिलन लामाको शब्द र चन्द्र कुमार दोङको संगीत रहेको यो गीत छिट्टै रिलिज हुँदैछ ।
प्रतिक्रिया