बुधबार, चैत २५, २०८२

टीकापुर अस्पतालमा अक्सिजन प्लान्ट जडान अझै अनिश्चित

मेरोन्यूज २०७८ भदौ १२ गते १०:१८

भजनी । टीकापुर अस्पतालमा जडान गरिने भनिएको अक्सिजन प्लान्टको काम अनिश्चितजस्तै बनेको छ । कोरोनाको दोस्रो सङ्क्रमणका बेला अक्सिजन अभावमा थुप्रैले ज्यान गुमाउनुपरेको अवस्थामा सुदूरपश्चिम प्रदेश सरकारले टीकापुर अस्पतालमा अक्सिजन प्लान्ट जडानका लागि बजेट पठाएको थियो ।

Advertisement
nepal life insurencenepal life insurence

अस्पतालमै दैनिक छ/सात जना कोरोना सङ्क्रमितले ज्यान गुमाउन थालेपछि नागरिकस्तरबाट समेत सहयोगको आह्वान गरिएको थियो ।

त्यसपछि टीकापुर र भजनी नगरपालिका तथा जानकी गाउँपालिकाले पनि अक्सिजन प्लान्ट जडानका लागि बजेट दिने निर्णय गरी प्रक्रिया अगाडि बढाइएको भए पनि निर्माण कम्पनीको ढिलाइका कारण अक्सिजन प्लान्ट जडानको काम अनिश्चित बनेको हो ।

अस्पतालले अक्सिजन प्लान्ट जडानका लागि हेल्थ केयर सप्लायर्स काठमाडौंसँग २०७८ जेठ १७ गते सम्झौता गरेको थियो । सम्झौताअनुसार सप्लायर्सले गत असार १७ गते काम सम्पन्न गरिसक्नुपर्ने थियो ।

त्यसपछि पनि अस्पतालले थप चार दिनका लागि म्याद थप गर्यो । म्याद सकिएको पनि करिब दुई महिना पुग्नै लाग्दासमेत सप्लायर्स सम्पर्कमा आउन सकेको छैन ।

अस्पताल विकास समितिका अध्यक्ष दीपक रावलले अक्सिजन प्लान्ट जडान यही भदौ १५ गतेभित्र सम्पन्न गर्ने आश्वासन दिएका थिए।

उनले मन्त्रालयमा बुझ्दा अन्य कुनै ठाउँमा पनि अक्सिजन प्लान्ट जडानको काम नभएको र अहिले नै आत्तिहाल्नुपर्ने अवस्था पनि आइनसकेको भन्ने जवाफ आएको बताए ।

“ढुवानीको समस्याका कारण अन्त पनि काम अगाडि बढ्न सकेको छैन, अब यो महिनाभित्र काम सम्पन्न भए पनि राम्रै हुन्थ्यो”, अध्यक्ष रावलले भने, “सम्झौता खारेज गरेर अर्को गर्दा झन बढी समय लाग्ने भएका कारण यसैलाई निरन्तरता दिइएको हो, भदौसम्म काम सकेन भने सप्लायर्सले पैसा पाउँदैन र धरौटीबापतको रु आठ लाख पनि जफत हुन्छ ।”

संघीय सरकारले गत आवमा विनियोजन गरेको अक्सिजन प्लान्ट जडानका लागि विनियोजन गरेको बजेट भदौ मसान्तसम्म खर्च गर्न पाउने व्यवस्था मिलाएको छ ।

भदौ मसान्तसम्म पनि रकम खर्च हुन सकेन भने बजेट फ्रिज जाने भएकाले पनि यही मसान्तसम्म काम हुने अध्यक्ष रावलले विश्वास व्यक्त गरे ।

सप्लायर्सका अमिर खानले अक्सिजन प्लान्टको सामान भन्सार पुगेको जनाउँदै भदौभित्र प्लान्ट जडान गरिसक्ने बताए ।

“सामान भन्सारमा पुगेको छ, केही दिनमा काठमाडौं पुगेपछि हामीले सामान छुट्याएर टीकापुरका लागि पठाउँछौं”, उनले भने, “सामान आपूर्तिमा ढिलाइ भएका कारण समय लागेको हो, अब सामान आइसकेको छ, सामान पुगेपछि तीन/चार दिनमा अक्सिजन प्लान्ट जडानको काम सम्पन्न भइहाल्छ ।”

८९ लाख २७ हजारमा सप्लायर्सले अक्सिजन प्लान्ट जडानको जिम्मा लिएको छ ।

प्रतिक्रिया