सधैंका प्रतिस्पर्धी
विद्यार्थी राजनीतिदेखिकै प्रतिस्पर्धी भट्टराई र ढकाल, अब के गर्लान् ?

काठमाडौँ । नेकपा एमालेका दुई आशा लाग्दो नेताहरू हुन्- योगेश भट्टराई र भानुभक्त ढकाल । अनेरास्ववियुको एकै कमिटीमा अध्यक्ष र महासचिव भई काम गरेका उनीहरू एकैसाथ विधार्थी राजनीतिबाट बिदा भए ।
अनेरास्ववियुदेखि नै उनीहरूले फरक–फरक विचार समूहमा रही काम गर्दै आए पनि धेरैपटक एकै ठाउँमा उभिए । जस्तो कि आठौँ महाधिवेशनमा केन्द्रीय सदस्य, नवौँ महाधिवेशनमा केन्द्रीय कमिटीमा तथा एउटै मन्त्रिपरिषदमा बसेर काम गरे ।
नवौँ महाधिवेशनमा भट्टराईले सचिव जिते । उता ढकाल पार्टी अध्यक्ष केपी शर्मा ओलीको सहयोगी बनेर काम गरे । विद्यार्थी संगठनभित्रको राजनीतिमा यी दुई नेताका विचार फरक थिए । त्यसयता अहिलेसम्म उनीहरू एउटै पार्टीभित्र फरक धुव्रमा रही पार्टीभित्रको अन्तर संर्घषमा सहभागी छन् ।
लामो समय पार्टीभित्र माधवकुमार नेपाललाई साथ दिँदै आएका भट्टराई पार्टी विभाजनको विपक्षमा उभिँदै ढकालसँगै एकै ठाउँमा भएका छन् । विद्यार्थी संगठनको नेतृत्वदायी भूमिका छाडेको २४ वर्षपछि ओली नेतृत्वको मन्त्रिपरिषदमा दुवैले काम गर्न भ्याए ।
योगेश र भानुभक्तको इतिहास रोचक छ । ०५३ सालमा अनेरास्ववियुमा योगेश अध्यक्ष थिए भने भानुभक्त महासचिव । २४ वर्षपछि ओली नेतृत्वको एउटै मन्त्रिपरिषदमा भेट हुँदा दुवैले एकै साथ काम गर्न भ्याए ।
तत्कालीन समयमा नेकपाको विभाजन हुँदा २०५४ सालको झल्को दिने गरी दुवै जना दुई धुव्रमा विभाजित भए । सर्वोच्च अदालतले नेकपाको एकता बदर गर्दै एमाले र माओवादीलाई पूर्ववत अवस्थामै अलग-अलग गरेपछि भने अर्न्तसंघर्षका क्रममा भट्टराई र ढकालको भेटघाट भएको छ ।

उनीहरूको धुव्रीकृत इतिहास पनि रोचक छ । ०५३ सालमा अनेरास्ववियुमा भट्टराई अध्यक्ष थिए । ढकाल महासचिव । शंकर पोखरेलपछि अध्यक्ष बनेका भट्टराई त्यतिबेला नै जल्दाबल्दा नेता हुन् । दुवै पूर्वेली भएकाले एकले अर्कोलाई खासै नटेर्ने स्वाभावका कारण अनेरास्ववियुको अध्यक्ष र महासचिवबीच निकै लफडा भए ।
स्ववियु निर्वाचनमा उम्मेदवार छान्नेदेखि केन्द्रीय सदस्य मनोनयन गर्ने तहसम्म लफडा हुन पुग्यो । त्यसबेला भट्टराईमाथि एकलौटी निर्णय गरेर अघि बढ्न खोजेको आरोप ढकालको टिमले लगाएका थिए । भट्टराईले एकलौटी रुपमा केन्द्रीय सदस्य र राष्ट्रिय परिषद सदस्य मनोनयन गरेपछि लफडा बढ्दै गएर पार्टीले हस्तक्षेप गर्ने अवस्थासम्म पुगेको थियो ।
त्यहीबेला तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्व सरकारले भारतसँग महाकाली सन्धी गरे । त्यसको असर एमालेको पार्टीभित्र मात्रै परेन, विद्यार्थी संगठनमा पनि देखियो । भट्टराई सो सन्धीको विपक्षमा उभिए भने ढकाल पक्षधर भए । त्यतिबेला ढकाल महासचिव माधव नेपाल र केपी ओली निकट रहेका थिए ।
भट्टराई वामदेव गौतम, सिपी मैनाली नजिक उभिए । उनीहरू दुवैले पक्ष र विपक्षमा वकालत गर्न थाले । त्यस क्रममा भट्टराईले आफूनिकट विद्यार्थीहरूको भेला बोलाए । कीर्तिपुरमा उनले राष्ट्रिय भेलाको आयोजना गर्ने भएपछि ढकालले आफूनिकट विद्यार्थीहरूलाई पार्टी कार्यालय बल्खुमा बोलाए । तर, यी दुवै भेला हुन पाएनन् ।

पार्टीले हस्तक्षेप गरी विकल्पका रूपमा उनीहरू दुवैलाई अनेरास्ववियुबाट बिदा गर्यो । १७ पुस ०५३ मा बल्खुमा संयुक्त राष्ट्रिय भेला राखियो । त्यो भेलामा विद्यार्थी इञ्चार्ज सुरेन्द्र पाण्डेले सिन्धुपाल्चोकका अरुण नेपाल र उदयपुरका जगन्नाथ खतिवडालाई क्रमशः अध्यक्ष र महासचिव बनाए । एकले अर्कालाई अस्वीकार गरिरहेका बेला उनीहरूलाई पार्टीमा जिम्मेवारीविहीन बनाइयो ।
दुवै पूर्वेली भएकाले एकले अर्कोलाई नटेर्ने स्वाभाव छ यी दुवैको । अनेरास्ववियुको अध्यक्ष र महासचिव रहँदा दुईबीचमा निकै लफडा भयो । स्ववियु निर्वाचनमा उम्मेदवार छान्नेदेखि केन्द्रीय सदस्य मनोनयन गर्ने तहसम्म दुईको लफडा अहिले पनि त्यसबेला अनेरास्ववियुमा काम गरेकाहरू सम्झिने गर्छन् ।
त्यसको एक वर्षपछि २१ फागुन ०५४ मा महाकाली सन्धीका कारण एमाले विभाजित भयो । तर, पार्टी विभाजनको बिउ भने भट्टराई-ढकाल कलहको त्यही प्रकरणकै बेला रोपिएको थियो । त्यसमा मलजल गर्दै छैटौँ महाधिवेशनमा भट्टराई र रुपनारायण श्रेष्ठमाथि कारबाही गरियो ।
महाधिवेशनपछि एमाले विभाजन भयो । एमाले विभाजनपछि भट्टराई मालेतर्फ लागे भने ढकाल एमालेमै रहे । माले अखिलमा भट्टराई र रवीन्द्र अधिकारीले नेतृत्व गरे भने एमाले अखिलमा हिक्मत कार्की अध्यक्ष चुनिए । जगन्नाथ खतिवडा अध्यक्षका बलिया दाबेदार थिए । तर, ०५४ को भेलामा विद्यार्थी इञ्चार्ज प्रदीप नेपालले कार्कीलाई अध्यक्ष घोषणा गरिदिए । त्यसबेलादेखि चित्त दुखाएका खतिवडालाई आउँदो निर्वाचनमा सांसद उम्मेदवार बनाउने आश्वासन दिइयो ।
उनी ०५६ को चुनावमा उदयपुरबाट उम्मेदवार भए र जिते । त्यसयता खतिवडाले खासै अवसर पाएका छैनन् । उनी अहिले माधव नेपालसँग छन् । नयाँ पार्टी निर्माणमा उनको महत्वपूर्ण भूमिका रहेको छ ।
भट्टराई र ढकालको कार्य शैली भने निकै फरक छ । भट्टराई शुरुदेखि जनसम्पर्क गर्न रुचाउने नेतामा पर्छन् । उनको अहिले पनि देशव्यापी नेटवर्क छ । जनसम्पर्क राम्रो छ । मानिससँग सम्बन्ध विस्तारमा भट्टराई सिपालु छन् । मिडियासँग नजिक छन् ।
भट्टराईको तुलनामा ढकाल अन्तरमुखी स्वभावका छन् । उनी साँघुरो घेरामा रमाउने नेता हुन् । एक दुई जनालाई साथ लिएर बस्न चाहन्छन् । लामो समय आफूभन्दा माथिका नेताको वरिपरि बसेका कारण बाहिरी सम्पर्कमा त्यति केन्द्रीत छैनन् । तर, आफूलाई लागेको काम भने पूरा गर्ने स्वभाव उनीसँग छ । आफूलाई लागेको कुरा नलुकाई ढकाल भन्न सक्छन् ।

उनीहरू सधैँ एउटै पार्टीमा छन्, तर फरक धुव्रमा । दुवै नेता एकैपटक आठौँ महाधिवेशनबाट केन्द्रीय कमिटीमा पुगे । तर, भिन्न प्यानलबाट । नवौँ महाधिवेशनमा पनि उसैगरी छुट्टाछुट्टै प्यानलबाट भट्टराई पार्टी सचिवमा निर्वाचित भए भने ढकाल केन्द्रीय सदस्य मात्रै भएपछि भट्टराईभन्दा तलको पोर्टफोलियो भयो ।
तर, ओलीसँगको निकट सम्बन्धका कारण पार्टी केन्द्रमा उनको भूमिका भट्टराईको भन्दा बलियो देखिन्थ्यो । एमाले विभाजनअघि माधव नेपालसँग रहेका भट्टराई १० बुँदे सहमति गरेर पार्टीमा फर्केका छन् । यो क्रममा एमालेको दशौँ महाधिवेशन नजिक आउँदै गरेको अवस्थामा यी दुई नेता अब कसरी अघि बढ्छन ? त्यो भने हेर्न बाँकी छ ।










प्रधानमन्त्री कार्कीद्वारा सतर्कता केन्द्रलाई प्रभावकारी रुपमा काम गर्न निर्देशन
सञ्चारमन्त्री खरेल र पूर्वराष्ट्रपति भण्डारीबीच भेटवार्ता
आशिफ बने अर्धशतक हिर्काउने पहिलो खेलाडी
एमाले चुनावबाट भाग्ने पार्टी होइनः महासचिव पोखरेल
जिपी कोइराला फाउन्डेशन अमेरीका च्याप्टरको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न
आज कात्तिक कात्तिक २९ गते शनिबार, कस्ताे रहला तपाइकाे राशिफल ?
भण्डारीले गरे नेपाली समाज टेक्सासको अध्यक्षमा उमेदवारी घोषणा
जेनजी आन्दोलनका अमर प्रहरी राय, यही वर्ष जापान जाने तयारीमा थिए
एनपिएलको तयारी पूरा
प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता माघ ६ गते
प्रतिक्रिया