सोमबार, जेठ ५, २०८२

पाकिस्तानी प्रधानमन्त्रीको आग्रह : अफगानिस्तानलाई सहयोग गरौँ

मेरोन्यूज २०७८ असोज १० गते १४:१३

काठमाडौँ । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले अफगानिस्तानलाई सहयोग गर्न विश्व समुदाय परिचालन गर्न सयुक्त राष्ट्रसंघलाई आग्रह गरेका छन् । उनले अफगानिस्तानलाई सहयोग गर्न सयुक्त राष्ट्र संघमार्फत् विश्व समुदाय समक्ष आग्रह गरेका हुन् ।

उनले सयुक्त राष्ट्र संघको ७६ औँ महासभालाई सम्बोधन गर्दै सो आग्रह गरेका हुन् । उनले सयुक्त राष्ट्र संघको ७६ औँ सभालाई शनिबार भर्चुअल माध्यमबाट सम्बोधन गरेका थिए ।

उनले अहिले अफगानिस्तानको अवस्था निकै गम्भीर भइसकेको भन्दै यस देशलाई सहयोग गर्न अब पछि परे विश्व समुदाय नै पछुताउने अवस्था आउने बताए ।

उनले अहिले अफगानिस्तानमा मानवीय सहयता चाहिएको र देशको आर्थिक अवस्था गम्भीर रहेकाले आगामी दिनमा यो संवेदनशीलता बुझेर विश्व समुदायले सहयोग गर्नु पर्नेमा जोड दिए । उनले सम्मेलनलाई गरेको सम्बोधनमा भने, ‘यदि, अहिले नै हामीले अफगानिस्तानको अप्ठेरो अवस्था बुझ्न सकेनौँ, मनन गर्न सकेनौँ भने अर्को वर्षसम्ममा अफगानिस्तानको अवस्था निकै गम्भीर भइसक्ने छ ।’

उनले अर्को वर्षसम्ममा अफगानिस्तानका कम्तीमा ९० प्रतिशत नागरिक गरिबीको रेखामुनि परिसक्ने बताएका थिए । उनले त्यहाँको अवस्था बिग्रिँदो रहेको र अहिले पनि देश आर्थिक रुपमा कमजोर हुँदै गएकाले सबैले चनाखो भएर काम गर्नु पर्ने धारणा राखेका थिए ।

प्रतिक्रिया