धार्मिक मेलाका लागि दुई दिन सार्वजनिक बिदा

खोटाङ । धार्मिक तथा पर्यटकीयस्थल खोटाङको बराहपोखरीमा लाग्ने धार्मिक मेलालाई लक्षित गरी बराहपोखरी र र जन्तेढुङ्गा गाउँपालिकाले यही कात्तिक–२८ र २९ गते सार्वजनिक बिदा दिएको छ । हरिवोधनी एकादशीका अवसरमा हप्ता दिनसम्म बराहपोखरी मेला लाग्दछ ।
जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारबाट दक्षिणी क्षेत्रमा पर्ने धार्मिक तथा पर्यटकीयस्थल बराहपोखरीमा लाग्ने धार्मिक मेलालाई सभ्य र भव्य बनाउन दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरिएको दुवै गाउँपालिकाले जारी गरेको सूचनामा उल्लेख छ । मेलालाई व्यवस्थित बनाउन दुवै गाउँपालिका तथा बराहपोखरी विकास समितिका तर्फबाट स्वयंसेवकसमेत परिचालन गरिएको छ ।
मेलामा हुनसक्ने आपाराधिक घटनालाई न्यूनीकरण गर्न इलाका प्रहरी कार्यालय चिसापानी र बराहपोखरी तथा सशस्त्र प्रहरी गुल्म चिसापानीबाट प्रहरी टोली परिचालन गरिएको जिल्ला सुरक्षा समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी फणिन्द्र दाहालले जानकारी दिए । “विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरसको संक्रमण जिल्लामा अझै पनि कायमै रहेको छ”, उनले भने, “बराहपोखरीमा लाग्ने मेला धार्मिक भएकाले रोकिएको छैन । स्वास्थ्य सतर्कता अपनाएर मेला लगाउन प्रशासनको तर्फबाट सम्बन्धित निकायलाई आग्रह गरेका छौँ ।”
मेलामा विशेषगरी दिवंगत भएका आफ्ना आफन्तका नाममा सतबीज छर्ने, फूल तार्ने तथा धामीझाँक्री नाच्ने र दर्शन गर्न आउने भक्तजनका साथै अवलोकन भ्रमण गर्न आउने पर्यटकको भीड लाग्ने गर्दछ । चारैतिर घना जंगलले घेरिएको ३३० मिटर लम्बाइ र २१० मिटर चौडाइ क्षेत्रफलमा फैलिएको प्राकृतिकरूपले बनेको बराहपोखरीमा संसारकै दुर्लभ रातो माछासमेत पाइन्छ ।
समुद्री सतहदेखि करिब एक हजार ३०० मिटर उचाइमा रहेको सो स्थानमा हरिवोधनी एकादशीसँगै रामनवमी, शिवरात्रि, बालाचतुर्दशी र माघे सङ्क्रान्तिमा पनि मेला लाग्ने गरेको छ । मेला भर्न छिमेकी जिल्ला उदयपुर, भोजपुर, धनकुटा, इलाम, ओखलढुङ्गा, सुनसरी, सप्तरी, सिरहा तथा भारत, चीन, भुटानलगायतका दर्शनार्थी एवं भक्तजन आउने गरेका छन् ।
परापूर्वकालमा एउटा घरको अगेनो ९खाना पकाउने ठाउँ०बाट माछा निस्किएपछि त्यसलाई मारेर पोलेर खादा त्यहाँबाट पानी निस्किएर १२ घर मगर बस्ती डुबेर बनेको पोखरी भएकाले यसलाई बराहपोखरी भनिएको किंवदन्ती छ । मुहान र निकास दुवै नभएको तर, बाह्रै महिना उत्तिकै मात्रामा पानी जमेर रहने बराहपोखरीको दक्षिणपट्टि अवस्थित बराहमाई र शङ्खेश्वर मन्दिरको पूजा आराधना गरे आफूले चिताएको कुरा पूरा हुने जनविश्वास रहिआएको छ ।
जीवनमा शान्ति मिलोस् भनेर जोडी परेवा उडाउनुका साथै शुद्धताका लागि बराहपोखरीको पानीमा नुहाउने चलनसमेत रहिआएको छ । बाह्रै महिना हरियो देखिने यस पोखरीमा नुहाएमा रोगव्याधी निको हुनुका साथै मोक्ष पाउने जनविश्वास छ ।
विवाह गरेको लामो समयसम्म सन्तान नभएका जोडीले बराहपाखरीमा गएर पूजा गरे सन्तान पाइने जनविश्वास छ । प्राकृतिकरूपमा सुन्दर तथा धार्मिक आस्थाका धरोहर मानिने बराहपोखरीमा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या पनि वृद्धि हुँदै गएको स्थानीय बासिन्दा एवं नेकपा ९माओवादी केन्द्र० बराहपोखरी गाउँपालिका अध्यक्ष युवराज मगरले बताए ।
बराहपोखरीसम्म सडकको पहुँच पुगेसँगै अहिले दैनिक पूजाआजा र अवलोकन भ्रमण गर्ने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या ३०० को हाराहारीमा रहेको स्थानीय बासिन्दाले बताएका छन् । बराहपोखरी आउने पर्यटकलाई लक्ष्य गरेर अहिले तीनवटा डुङ्गा सञ्चालन गरिएको छ । डुंगा शयर गर्ने पर्यटकबाट संकलित रकम पोखरी व्यवस्थापनमा खर्च गरिने बराहपोखरी व्यवस्थापन समितिले जनाएको छ । यो बराहपोखरीलाई सरकारले देशको १०० पर्यटकीय गन्तव्यमध्ये एउटा धार्मिक पर्यटकीय गन्तव्य क्षेत्रका रूपमा घोषणा गरेर प्रवद्र्धनको कामसमेत थालेको छ ।
















यूएईमा घाइते भएका नेपालीहरूको अवस्था बुझ्न दूतावासले पठायो पत्र
सन्तुलित परराष्ट्र सम्बन्ध विस्तारमा मन्त्री खनालको जोड
गाजा व्यवस्थापनका लागि हमासको नयाँ पहल
अन्तरराष्ट्रिय बारूदी सुरुङ सचेतना तथा निवारण सहयोग दिवस मनाइँदै
‘Operation Safety’ over the night: Five gangsters arrested; 18 held from airport
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
संसद् सचिवालयमा सर्वदलीय बैठक
न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल
राष्ट्रिय सुरक्षाको विषयलाई पुनःपरिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति
प्रतिक्रिया