अझै गति लिएन छांगरु–तिंकर जोड्ने घोरेटो निर्माणले

दार्चुला । व्याँस गाउँपालिकाको छांगरु तिंकर जोड्ने गरी निर्माण सुरु गरिएको घोरेटो बाटोको कामले गति लिएको छैन । व्याँसीवासीलाई आफ्नै भूमि भएर आवतजावत गर्न गोरेटो निर्माणको लागि ठेक्का भए पनि अहिलेसम्म कामले भने गति लिएको छैन ।
नेपालतिर बाटो नहुँदा व्याँस गाउँपालिका–१ छांगरु, तिंकर, व्याँस –२ को दुम्लिङ, कल्जु, माललगायतका गाउँका स्थानीय आफ्नै भूमि भएर आवतजावत गर्न समस्यामा परेका छन् । दुई वर्षदेखि यहाँका नागरिकले भारतीय भूमि भएर आवतजावत गर्नुपरेको छ । व्याँस–२ दुम्लिङदेखि छांगरुसम्मको ३० किलोमिटर घोरेटो निर्माणका लागि सम्झौता भएको आठ महिनासम्म पनि निर्माणको कामले गति लिन सकेको छैन । संघीय सरकारको पाँच करोडमा बोलपत्र आह्वान गरेकामा कूल तीन करोड ३२ लाखमा लागतमा पुष्पाञ्जलि रिठगडे निर्माण सेवा दार्चुलासँग गत वैशाखमा ठेक्का सम्झौता भएको छ ।
विसं २०७७ फागुनमा बोलपत्र भई २०७८ वैशाखमा निर्माण कम्पनीसँग घोरेटो निर्माणका लागि दुई वर्षको सम्झौता भएको छ तर ठेकेदारले समयमै काम नगर्दा यो पटक व्याँसीले कुञ्चा सर्दा भारतीय बाटोको प्रयोग गर्नुपरेको व्याँसका स्थानीयवासी विमल बोहराले जानकारी दिए । आफ्नै भूमि भएर बाटो नहुँदा व्याँसको छांगरु तिंकर पुग्ने नागरिकले सास्ती भोग्नुपरेको छ । व्याँसी सौका समुदाय छ महिना खलंगा तथा छ महिना छांगरु र तिंकरमा बसाई सर्ने गर्दछन् । हिउँदेयाम सुरु हुने बित्तिकै सौका समुदायका मानिस लालाबालासहित खलंगा झर्ने गर्दछन् । नेपालबाट बाटो नभएकै कारण उनीहरु भारतको बाटो प्रयोग गर्दै आइरहेका छन् । भारतको बाटो प्रयोग गर्दै खलंगासम्म आउन उनीहरुलाई भारतीय सुरक्षाकर्मीले विभिन्न बाहानामा ठाउँ ठाउँमा दुःख दिने गरेको बताइएको छ ।
उनले भने, “आफ्नै देशको भूमि जान भारतीय अनुमति लिनुपर्छ । उनीहरुले अनुमति नदिए गाउँ आउजाउ गर्न सकिने अवस्था छैन । योभन्दा हाम्रो लागि अरु विडम्बना के हुनसक्छे ।” छिटो बाटो निर्माणका लागि पत्रकार शंकरसिंह धामीले सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री दीर्घ सोडारीको ध्यानाकर्षण गराएका छन् । प्रदेश गौरवका योजनाको अनुगमनको लागि दार्चुला पुगेका मन्त्री सोडारीलाई सरकारले व्याँसलाई विशेष क्षेत्रमा राखे पनि नागरिक हिँड्नसमेत बाटो बनाउन नसकेको जनाउँदै पत्रकार धामीले ध्यानाकर्षण गराए । उनले भने, “नेपाली सेनाले साढे ४०० मिटर गोरेटो बाटो बनाइदिएको थियो । ”अहिले त्यही बाटो अवरुद्ध हुँदा पनि मर्मतको काम अघि बढ्न सकेको छैन । यसमा तीन तहको सरकारको ध्यान जानुपर्छ ।
निर्माण व्यवसायी मानबहादुर बमका अनुसार जिरो पोइन्टदेखि दुई/तीन किलोमिटर घोरेटो बाटो निर्माण गरे पनि गत भदौमा आएको बाढी र पहिरोले सबै बगाएर लगेको दाबी गरे । अहिले बयली, दोपाखे र पोला भन्ने ठाउँमा घोरेटो बाटो निर्माणको काम थालिएको उनले बताए । वर्षा तथा कोरोना संक्रमणका कारण भएको लकडाउनले काममा ढिलाइ भएको उनको भनाइ छ ।
तीस किलोमिटर घोरेटो बाटोको कल्जु, बुदी, सगनाडी र अपि भन्ने ठाउँका खोलामा पुल निर्माण गर्नुपर्ने जनाइएको छ । घोरेटोबाट तीव्रगतिमा निर्माण गर्न विष्फोटक पदार्थको अभाव रहेको निर्माण व्यवसायी बमले बताए । आवश्यक विष्फोटक पदार्थ उपलब्ध गराईदिन भन्दै जिल्ला प्रशासनमा निवेदन दिएको छु उनले भने ।
घोरेटो निर्माण गर्नुपर्ने ठाउँमा कडा चट्टानी भू–भाग रहेको भन्दै चट्टान तोड्न विष्स्फोटक पदार्थ आवश्यक रहेको निर्माण व्यवसायी बमले गुनासो गरे । यस्तै भारतले सडक निर्माणका क्रममा कल्जुभन्दा माथिल्लो क्षेत्रमा विष्फोट गराएको ढुंगा नेपालपट्टि आएर बढी क्षति भएको जनाइएको छ । नरेन्द्रसिंह कार्की/रासस
















बलोचिस्तानमा पाकिस्तान सेनाको अपरेशन जारी,९२ आतङ्कवादी मारिए
पत्रकार दिनेश सिटौलाको निधन
महिला टी २० विश्वकप छनोट : आयरल्यान्डसँग थाइल्यान्ड पराजित
4 killed, 27 injured in road accident in E. Pakistan
Gold, silver prices decline
मध्यरातमा यसरी लुटपाट मच्चाउथ्यो विनय तामाङको समूहले
पाँच वर्षमा ठोस रूपमा उपलब्धि हासिल गर्नसक्ने गरी घोषणा पत्र ल्याउँछौँः अध्यक्ष ओली
निर्वाचन सुरक्षाका लागि कुकुरसहितको संयुक्त गस्ती सुरु
अमेरिकासँगको बढ्दो तनावबीच एकहजार लडाकु ड्रोन तैनाथ गरेको इरानको दावी
एकैदिन २० हजार ५ सयले घट्यो सुनको भाउ
प्रतिक्रिया