अध्यक्षमा पराजित एमाले नेता रावल अब कता ?

काठमाडौं । संसदमा सबैभन्दा ठूलो दल रहेको नेकपा एमालेमा आन्तरिक लोकतन्त्र कमजोर भएको भन्दै केपी ओलीसँग अध्यक्ष पदमा चुनाव लडेका तत्कालिन उपाध्यक्ष भीम रावल अब के गर्लान भन्ने कौतुहलता सिर्जना भएको छ । चितवन महाधिवेशनमा केन्द्रीय सदस्यको समेत सपथ नलिएका रावलले आफू अध्यक्षको उम्मेदवार भएको केन्द्रीय सदस्यको उम्मेदवार नभएको जिकिर गदै बाहिरिएका थिए ।
नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरुको सपथ ग्रहण अवधिभर मञ्चमा रहेका रावलले केन्द्रीय सदस्यको सपथ लिएनन । रावललाई केन्द्रीय सदस्यमा भोट मागिएको थियो तर रावल आफैले केन्द्रीय सदस्यमा उम्मेदवारी नदिएको बताउदै आएका थिए । उनले निर्वाचन आयोगलाई पनि अध्यक्षको मात्रै उम्मेदवार भएको जानकारी गराएका थिए । चितवनबाट फर्केका रावल केही दिन चुपचाप बसेका थिए ।
ओलीसँग भारी मतले पराजित भएका रावलले केही दिन चुप बसेर आइतबार संसद बैठकबारे धारणा सार्वजनिक गरेका छन् ।
तर आइतबार एमाले नेता रावलले संसद् बैठक अवरुद्ध गर्न नहुने बताएका छन् । आइतबार साँझ ट्विट गर्दै रावलले सरकारका सबै कामकारबाही हुन दिई संसद् अवरूद्ध गरेको भन्नुको औचित्य नहुने बताए ।
यसअघि अध्यक्षको पदबहाली गर्दै केपी ओलीले माधव नेपाललगायत पार्टीले कारबाही गरेका एमालेका तत्कालीन सांसद उपस्थित हुने संसद् बैठक चल्न नदिने बताएका थिए । रावलले संसद् देश र जनताको पक्षमा बहस गर्ने, आवाज उठाउने थलो भएको स्मरणसमेत गराए । ‘संसद् देश र जनताको पक्षमा बहस गर्ने र आवाज उठाउने थलो हो । सरकारका सबै कामकारबाही हुन दिई संसद् अवरूद्ध गरेको भन्नुको औचित्य छैन । कि सरकारले ल्याउने विधेयक र प्रस्ताव रोक्न सक्नुप¥यो । नभए त्यसबारे जनताको आवाज उठाउन पाउनुप¥यो । अन्यथा म कुटेजस्तो गर्छु तँ रोएजस्तो गर् भनेझैँ ठहर्छ,’ उनले सामाजिक सञ्जालमा भनेका थिए ।
ओलीले मध्यवधि निर्वाचनको रटान दिइरहेका बेला रावलले संसद अवरुद्धको औचित्य नभएको बताएका हुन् । एमालेभित्र उनको भूमिका अझै स्पष्ट भएको छैन । नवौ महाधिवेशनपछिको विधानमा अध्यक्षको निर्वाचनमा हार्नेलाई वरिष्ठ नेताको पद दिने भएपनि संशोधित विधानमा भने त्यो व्यवस्था छैन ।
मंसिर २५ र २६ गते हुने केन्द्रीय कमिटी बैठकले १० प्रतिशत केन्द्रीय सदस्य मनोनयन गर्ने भएपनि रावललाई केन्द्रीय सदस्यमा मनोनयन गर्ने र स्थायी कमिटीमा लैजाने कि नजाने भन्ने विषयमा पार्टी अध्यक्ष ओलीले कसैले केही बताएका छैनन । रावललाई केन्द्रीय सदस्यमा मनोनयन गर्न दबाब परिरहेको भएपनि ओलीले केही बताएका छैनन ।
‘राववलाई केन्द्रीय सदस्यमा मनोनयन गरेर स्थायी कमिटी सदस्य बनाउनुपर्छ भन्ने दबाब छ तर यो विषयमा अध्यक्ष केपी शर्मा ओलीले केही बताएका छैनन’,एमालेका एक नेताले भने । तर रावल निकट नेताहरुले तत्कालै रावलले कुनै धारणा सार्वजनिक गरिनसकेको बताएका छन् ।
‘उहाँ अहिले छलफलमै हुनुहुन्छ, पार्टीभित्रको लोकतान्त्रिक पद्धतिलाई जीवित राख्ने उहाँको चाहाना हो यसमा अन्यथा मान्नुपर्ने कुनै विषय छैन’, रावल निकट एक नेताले भने । उनले अहिलेसम्म के गर्ने भन्ने बारेमा कसैलाई केही बताएका छैनन । आफू निकटका नेताहरुसँग छलफलमै रहेको बताएको भएपनि के गर्ने भन्ने बारेमा केही नबताएको ती नेताले दावी गरे ।


















सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा मनाइयो आरोग्य दिवस
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
एकद्वार सेवा प्रणाली लागू गर्न गृह मन्त्रालयको नौ बुँदे निर्देशन
इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन गर्ने दुर्गा प्रसाईंको घोषणा
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
यस्तो छ आज तरकारीको थोक मूल्य
इरानमा पक्राउ परेका अमृत झा रिहा
पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो
३३ अंकले घट्यो सेयर बजार
प्रतिक्रिया