आइतबार, पुष १३, २०८२

फागुन ९ गते लुम्बिनीमा ‘क्यालिब्रेशन फ्लाइट’, बुद्ध जयन्तीदेखि नियमित उडान

मेरोन्यूज २०७८ माघ १५ गते १८:२७

भैरहवा । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आगामी फागुन ९ गते ‘क्यालिब्रेशन फ्लाइट’ गर्ने गरी तयारी गरिएको छ ।

शनिवार दिउँसो भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षणपश्चात संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले फागुन ९ गते क्यालिब्रेशन फ्लाइट र बुद्ध जयन्तीमा अन्तर्राष्ट्रिय उडान भर्ने बताए ।

हुस्सु, कुहिरो र भिजीबिलिटी कम लागेको बेला भने ‘क्यालिबे्रशन फ्लाइट’ गर्न नमिल्ने प्राविधिकले बताएका छन् ।

मन्त्री आलेले ढिलाइ नगर्न र क्यालिब्रेशन फ्लाइट नगरेसम्म मन्त्रालय, क्यान र आयोजनाका पदाधिकारी, टिम सदस्य दिनरात काममा खटिनसमेत निर्देशन दिए ।

कुनै पनि हालतमा, कुनै पनि बहानामा काम नरोक्न उनले निर्देशन दिएका छन् ।

छेऊमै रहेका कांग्रेस नेता भरत कुमार शाहलाई देखाउँदै मन्त्री आलेले भने, ‘सार्वजनिक लेखा समितिका सभापति यहीँ हुनुहुन्छ, माननीय प्रमोद यादव यहीँ हुनुहुन्छ । यो निर्वाचन क्षेत्रका माननीय घनश्याम भुसालले दिनदिनै सोध्नुहुन्छ, प्रधानमन्त्री, मन्त्रीज्यूहरू सबैको चासो छ, यो विमानस्थलमा छिटो उडान हुनुपर्छ भन्नेछ । हामी त्यहीअनुसार तयारी गरिरहेका छाँै ।’

लेखा समितिका सभापति भरतकुमार शाह र सांसद प्रमोदकुमार यादवले छिटो उपकरण चेकजाँच गरी उडानको तयारी गर्न आग्रह गरे ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले एरोथाइको टिम काम सकेर मात्रै फर्किन्छ, त्यसपछि परीक्षण उडान नेपाल एयरलाइन्सको ३३० ले गर्ने बताए ।

एरोथाइका नेपाल प्रतिनिधि बिजेन्द्र श्रेष्ठले भने, ‘यहाँको मौसमलाई तीन वर्षमा नियाल्दा भिओएफआरमा उड्न मिल्छ । क्यालिबे्रशन फ्लाइटका लागि सफा मौसम चाहिन्छ । कम्तीमा पाँच किमी भिजिबिलिटी चाहिन्छ । फ्रेबुअरी २१ मा भैरहवामा जहाज ल्याण्डिङ हुनेछ तयारी छ । कुनै पनि हालतमा २१ फेब्रुअरीभन्दा ढिला हँुदैन ।’

भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणमा हालसम्म आइसिपी वान र टु गरेर साढे सात अर्ब लगानी भइसकेको छ ।

प्रतिक्रिया