सोमबार, पुष ७, २०८२

नेपालले वर्षमा दुई अर्बको अल्लो विदेश निर्यात गर्छ

गणेश ऐडी, उपाध्यक्ष, राष्ट्रिय अल्लो व्यवसायी संघ, काठमाडौँ

मेरोन्यूज २०७८ मंसिर २५ गते २०:२८

तलकोट १ सुनिकोट बझाङका गणेश ऐडीले अल्लोको व्यापार थालेको २४ वर्ष भयो । ललितपुरको चाकुपाटबाट उनले सुरु गरेको व्यापारले अहिले ठूलो रुप लिइसकेको छ । बुढानिलकण्ठमा उनले सञ्चालन गरेको फेरस्ट्री हेम्प व्याग उद्योगले ४६ जनालाई रोजगारी प्रदान गरेको छ । उनी राष्ट्रिय अल्लो व्यवसायी संघ, काठमाडौँका उपाध्यक्ष समेत हुन् । उनले बुढानिलकण्ठमा आफ्नै निजी कम्पनी फरेस्ट्री हेम्प व्याग उद्योग सञ्चालन गरेर ४६ जनालाई प्रत्यक्ष रोजगारी पनि प्रदान गरेका छन् । अल्लो खेतीलाई प्रवद्र्धन गर्न र व्यापार विस्तार गर्न उनी सधैँ समर्पित रहे । ऐडीले टोपीदेखि इस्टकोट पनि आफ्नै उत्पादनको लगाउछन् । २०७७ को अन्तिमतिर २ सय २८ स–साना उद्योगीहरु जम्मा भएर उद्योगी ग्रुप पब्लिक लिमिटेड दर्ता गर्न उनको मूख्य भूमिका छ । यस कम्पनीले कृषि र अल्लोको क्षेत्रमा काम गर्छ । मेरोन्यूजका लागि नरेन्द्र रौलेले ऐडीसँग गरेको कुराकानी :

तपाई अल्लो व्यवसायमा कसरी लाग्नुभयो ?

०५४ सालमा बझाङबाट हाजिरी जवाफमा भाग लिन काठमाडौँ आइपुगें । त्योबेला मैले अल्लोको लुगा लगाएर आएको थिएँ । दोस्रो चोटी ०५५ सालमा म काठमाडौँ प्रवेश गरें । त्यो बेला अल्लोको २ वटा रोल बोकेर आएको थिएँ । हनुमानढोकातिर हिंडिरहँदा एक जना विदेशीले १ सय डलर दियो । त्यो साँट्दा मलाई ६ हजार रुपैंयाँ हात पर्‍यो । पछि मैले ०५७ मा ललितपुरको चाकुपाटमा साधारण टहरा लिएर उद्योग खोलें । गाउबाट धागो ल्याउने यहाँ लुगा बनाएर बेच्ने काम सुरु गरें । पहिला घरायसी व्यापार थियो । अहिले व्यवसायिक रुपमा बजार विस्तार गरिसकेको छ । अहिले त आफ्नै कम्पनीले पनि ठूलो आकार लिइसकेको छ ।

नेपालमा अल्लो उत्पादनको अवस्था कस्तो छ ? यसको बजार र माग बराबर छ कि छैन ?

नेपालमा ८३ लाख किलो अल्लो उत्पादन भइरहेको छ । विशेषगरी बझाङ, बाजुरा, संखुवासभा, रोल्पा, रुकुम र दार्चुलामा अल्लो उत्पादन हुन्छ । हामी व्यवसायीले एक, डेढ लाख केजी मात्र किनेका छौं । उत्पादन भए जति बजारमा सबै खपत गर्न सकिएको छैन । यसमा विविध खालका कठिनाईहरु छन् । आर्थिक, प्राविधिक लगायत थुप्रै खालका कठिनाइले गर्दा अल्लो उत्पादन भएको ठाउबाट राजधानीसम्म ल्याउन पनि सकिएको छैन ।

गणेश ऐडी, उपाध्यक्ष, राष्ट्रिय अल्लो व्यवसायी संघ, काठमाडौँ

अल्लो उत्पादन र यसको भविष्य कस्तो छ ?

नेपालमा उत्पादन हुने अल्लो ९० प्रतिशत विदेश निर्यात हुन्छ । अमेरिका, बेलायत, जर्मन, फ्रान्स, जापान, दक्षिण कोरिया र युरोपियन लगायत विश्वका ७० वटा देशमा निर्यात भईरहेको छ । यी मुलुकहरुबाट अल्लोको माग पनि आइरहेको छ । गुणस्तरीय उत्पादन बढाउने हो भने माग धान्न गार्‍हो छ । हाल नेपालले वर्षमा २ अर्ब रुपैंयाँ बराबरको अल्लो विदेश निर्यात गर्छ । सरकारले हामीलाई सहुलियत दिने हो भने अझ ठूलो रकम भित्र्याउन सकिन्छ ।

यस्तै नेपालमा अल्लोमा आधारित ३ सय ७८ वटा उद्योगहरु सञ्चालनमा आएका छन् । १ लाख ३९ हजार हेक्टर क्षेत्रफलमा यो खेती भइरहेको छ । यसमा २ हजार जना भन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन् । एक लाख ५० हजार भन्दा बढी यसमा आश्रित छन् ।

हाल अल्लोबाट के–के सामग्रीहरु उत्पादन भइरहेका छन् ? तिनको मूल्य कति महंगो छ ?

अल्लोबाट झोला, वालेट, जुत्ता, फेसनका आइटमहरु, ज्याकेट, कोट, सर्ट, बेड सिट, पर्दा, सोफा कभर, चप्पल, मोजा, स्वीटर, टोपी, मनि ब्याग उत्पादन भइरहेको छ । बजारबाट प्रतिक्रिया पनि राम्रो आइरहेको छ । हामीले माग अनुसार दिन सकेका छैनौं ।
अल्लोबाट बनेका सामग्रीहरुको मूल्यको कुरा गर्दा पर्दा ४ सय देखी ७ सय रुपैंयाँ पर्छ । जुत्ता १ हजार ५ सय, कोट ५ हजार २ सय रुपंैयाँ, जिन्स पाइन्ट एक हजार ६ सय रुपंैयाँ, झोला ७ सय ५० रुपैंयाँ पर्छ । त्यति धेरै महंगो छैन ।

अल्लो व्यवसायलाई प्रवद्र्धन सरकारले के कस्तो सहयोग पुर्‍याइरहेको छ ?

सरकारबाट हामीले त्यस्तो कुनै सहयोग पाएका छैनौं । बरु केही सहुलियतको अपेक्षा गरेका छौं । राज्यबाट हामीले मुख्य गरी चार वटा माग गरेका छौं । अल्लो उत्पादन दुर्गम क्षेत्रमा हुन भएकाले यसको ढुवानी रकम बढी हुन्छ । ढुवानीमा अनुदान दिनुपर्छ । राज्यले अल्लो व्यवसायीलाई आवश्यक औजार दिनुपर्छ । अल्लोको धागोमा सरकारले भ्याट लगाएको छ । त्यो फिर्ता हुनुपर्छ । र, बिना धितो हामी अल्लो व्यवसायीलाई लोन प्रवाह गर्नुपर्‍यो ।

अल्लो व्यवसायलाई ठूलो परिमाणमा लैजान के–कस्तो पहल गर्नुभयो ?

उद्योगी ग्रुप पब्लिक लिमिटेडमार्फत ४० हजार केजी अल्लो उत्पादन गर्‍यौं । त्यति नै अनुपातमा विक्रि पनि गर्‍यौं । नेपाली बजारमा नेपाली उत्पादनले स्थान पाउनु राम्रो कुरा पनि हो । हामीले नेपालमै बढी मात्रामा उत्पादन गर्न खोजिरहेका छौं । उद्योगी ग्रुप पब्लिक लिमिटेडको संरक्षक राष्ट्रिय अल्लो उद्यमी संघ रहेको छ । २०६७ मा चौध जना व्यवसायी भेला भएर राष्ट्रिय अल्लो उद्यमी संघ गठन गरे । जुन जिल्ला प्रशासन कार्यालयमा दर्ता छ ।

तपाई आफैले अल्लोको व्यवसाय थाल्नु भएको छ । तपाईंको कम्पनीको व्यापार कस्तो छ ?

म सन्तुष्ट छु । मेरो कम्पनीले मात्रै वार्षिक २ करोड रुपैंयाँ कारोबार गरिरहेको छ । ४६ जनालाई रोजगारी दिलाएको छु । एनएमबि बैंकले बिना धितो ऋण प्रदान गरेर सहयोग पुर्‍याएको छ ।

प्रतिक्रिया