बुधबार, माघ १४, २०८२

बैतडीमा शिक्षकको हत्या अभियोगमा श्रीमान श्रीमती सार्वजनिक

मेरोन्यूज २०७९ पुष ७ गते १६:०८

काठमाडौँ । बैतडीको पाटन नगरपालिका ६ स्थित श्री कृष्ण माविमा पढाउँदै आएका शिक्षक धनबहादुर बिष्टको हत्यामा संलग्न अभियुक्त सार्वजनिक गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय बैतडीले बिहीबार पत्रकार सम्मेलन गरी अभियुक्तलाई सार्वजनिक गरेको हो । बिष्टको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका पुर्चौंडी नगरपालिका ३ न्वादेउ घर भएका प्रजाबहादुर बोहरा र विमला बोहरालाई सार्वजनिक गरेको हो । 

कृष्ण माविमै कम्प्युटर डिप्लोमा चौथो वर्षमा अध्ययनरत विमला छात्रावासमा बस्दै आएकी थिइन् । प्रजा र विमला नातामा श्रीमान श्रीमती हुन् । गत पुस १ गते राति शिक्षक विष्टले विमलामाथि अभद्र व्यवहार गरिरहेको देखेपछि उनका श्रीमानले हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

विमलालाई अभद्र व्यवहार गरेको झोँकमा श्रीमानले शिक्षकलाई मुक्का हानेर सिँढीबाट ढलाएको प्रहरीको भनाइ छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक प्रेमबहादुर शाहीले भने, ‘पुस १ गते साँझको समयमा विमला शौचालय जान्छु भनेर निस्केकी र ढिलो गर्दा प्रजाले खोजी गर्दा शिक्षक बिष्टले अँगालो हालेको देखेपछि प्रजाले शिक्षकलाई मुक्का हानेर ढलाए, त्यसपछि प्रजाले उनको छाती र मुखमा हानेर हत्या गरे ।’

प्रजाले शिक्षक बिष्टलाई ढलाएपछि एक जनाले खुट्टा र अर्काले टाउकोतर्फ आक्रमण गर्दै हत्या गरेको प्रहरीले जनाएको छ । हत्यापछि शिक्षको शव दुवै जना मिलेर रम्बासको झ्याङमा फालेको प्रहरीको भनाइ छ । 

अभियुक्तमाथि थप अनुसन्धान भइरहेको डिएसपी शाहीले बताए । जिल्ला अदालतबाट १० दिनको म्याद थपेर अनुसन्धान भइरहेको छ । शिक्षक बिष्टको शव पुस २ गते दिउँसो १ बजे फेला परेको थियो । मृतकका आफन्तले उनको हत्या भएको आशंका गरेपछि प्रहरीले घटनाको अनुसन्धान थालेको थियो । 

घटनाको अनुसन्धानका लागि सीआईबीको टोलीसमेत बैतडी आएको थियो । शिक्षक बिष्टको हत्या भएकाले दोषी पत्ता लगाउन माग गर्दै ६ दिनसम्म लगातार आन्दोलनसमेत गरिएको थियो ।

प्रतिक्रिया