बुधबार, जेठ ७, २०८२

हुम्लाको लिमीमा पहिरोबाट विस्थापित भएकालाई स्थानान्तरण गर्न माग

मेरोन्यूज २०८२ जेठ ७ गते १६:४२

काठमाडौँ । राष्ट्रियसभाको बिहीबारको बैठकमा सांसद रेणु चन्दले हुम्लाको लिमी उपत्यकामा गएको पहिरोका बारेमा सरकार बेखबर भएको टिप्पणी गर्दै सो पहिरोबाट विस्थापित भएका नागरिकको यथाशीघ्र सुरक्षित स्थानमा पुनःस्थापना गर्न माग गरेका छन्।

बैठकको विशेष समयमा उनले पीडित जनतालाई तत्काल राहत उपलब्ध गराउन र सुरक्षित स्थानमा बसोबासको व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराए।

“हुम्लाको नाम्खा गाउँपालिका–६ स्थित तिलगाउँमा हिमपहिरोले सिङ्गो बस्ती जोखिममा छ, १८ परिवार घर छाडेर पालमुनि बसेका छन्, सरकार अहिलेसम्म पुगेको छैन। सरकारको उपस्थिति र राहत प्राप्त गर्नलाई काठमाडौँमै बाढीपहिरो आउनुपर्ने हो?”, उनले प्रश्न गरे।

सांसद चन्दले विपद् व्यवस्थापनको कार्यक्रम, पूर्वतयारी तथा बजेटलगायत बारेमा सदनलाई जानकारी गराउन माग गरे। उनले समयमै विपद् पूर्वतयारीमा ध्यान दिन सुझाव दिए ।

सांसद भगवती न्यौपानेले यही जेठ पहिलो साता राजधानीमा आयोजित सगरमाथा संवादबाट नेपालले अन्तरराष्ट्रियस्तरमा आफ्नो छवि उँचो बनाएको जनाउँदै आगामी दिनमा पनि यसखालका संवादलाई निरन्तरता दिनुपर्नेमा जोड दिइन्।

सांसद पूजा चौधरीले वैदेशिक रोजगारीबाट फर्केका युवालाई उद्यमशील बनाउन उचित वातावरण बनाउनुपर्नेमा जोड दिइन्। उनले हुलाकी राजमार्गमा अलपत्र परेको पुलको निर्माण र बाढी पहिरोले क्षतिग्रस्त भौतिक पूर्वाधार निर्माण गर्न सुझाव दिइन्।

सांसद गङ्गाकुमारी बेल्वासेले राष्ट्रिय अर्थतन्त्रको सबलीकरणका लागि कृषि र पर्यटना उच्च प्राथमिकता दिन आग्रह गर्दै गाँजा खेतीलाई प्रवर्द्धन गर्न सरकारलाई सुझाव दिए। सांसद विष्णुदेवी पुडासैनीले स्वास्थ्य, शिक्षालगायत मौलिक हकको सुनिश्चितता गर्न सरकारको ध्यानाकर्षण गराइन्।

प्रतिक्रिया