बुधबार, फागुन २०, २०८२

प्रेम, सद्भाव र समर्पण भावको प्रतीक राखी पर्व मनाइँदै

मेरोन्यूज २०७८ भदौ ६ गते ६:५८

महोत्तरी । महोत्तरीसहितका मिथिला क्षेत्रमा ‘राखी’ पर्व मनाइँदै छ । साउन पूर्णिमाका दिन दिदीबहिनीले दाजुभाइको सौर्य वृद्धिको कामना गर्दै दाहिने हातका नाडीमा रक्षासूत्र (डोरा, धागो) बाँधिदिने परम्पराको यस पर्वलाई मिथिलामा ‘राखी’ भनिने गरिएको हो ।

Advertisement
nepal life insurencenepal life insurence

पर्वका लागि दाजुभाइ तथा दिदीबहिनीको तयारीले सम्पूर्ण मिथिला नै आज राखीमय देखिँदो छ । आज एकाबिहानैदेखि यस क्षेत्रका बजार खुलेका छन् ।

रङ्गीचङ्गी ‘राखी’ जताततै बेच्न राखिएका छन् । पसलमा आफ्ना दाजुभाइका लागि विभिन्न रङका रक्षासूत्र किन्न बस्तीका चोकचोकमा मिथिलानी (मिथिलाका नारी)को भीड नै देखिएको छ ।

राखीसँगै मिथिलानी दाजुभाइलाई खुवाउन मिष्ठान्न परिकारका जोहोमा लागेकाले मिठाइ पसल पनि भरिभराउ छन् ।

पर्वका लागि दिदीबहिनीको राखी बाँध्ने निम्ता मान्न टाढाटाढा बस्ने दाजुभाइ घर फर्केका छन् । मिथिलामा यस पर्व विवाह भएका दिदीबहिनीले आफ्नै घर वा माइतमा सुविधाअनुसार मनाउँछन् ।

अविवाहित चेलीको त दाजुभाइकै घर आफ्नो भएकाले घरमै पर्वका तयारीमा किशोरी र मैथिल नवयौवना व्यस्त देखिएका छन् । स–साना नानीहरुका घरका अभिभावकले सहयोग गर्दछन् ।

मिथिलाका सबै क्षेत्रमा आज दाजुभाइ÷दिदीबहिनीबीच प्रेम, सद्भाव र एकअर्काप्रतिको समर्पण भाव झल्कने गीत गुञ्जिरहेका छन् । मिथिलामा यो पर्व लोकसंस्कृतिको अभिन्न अङ्ग नै बनेकाले विगतमा हिन्दू, मैथिल परम्पराको यो पर्व अब सबै भाषाभाषी र धर्म समुदायमा पनि उत्तिकै लोकप्रिय बनेको बर्दिवास जनता बहुमुखी क्याम्पसका प्राचार्य तोपबहादुर ठकुरी बताउँछन् ।

सबैतिर राखी पर्वको रमझम र तयारीले सम्पूर्ण मिथिला क्षेत्रमा आज बजारु चहलपहल ह्वात्तै बढेको छ । मिथिलामा साउन शुक्लपक्ष सुरु भएसँगै यस पर्वको तयारी सुरु हुने गरेको छ ।

पर्वमा दिदीबहिनीले राखी बाँधिदिएर मिष्ठान्न परिकार खुवाएपछि दाजुभाइले वस्त्रआभूषण र नगद दक्षिणा चेलीलाई दिने गर्दछन् । हिन्दू परम्पराको रक्षावन्धन पर्वकै एक अङ्गका रूपमा राखी स्थापित भएको यहाँका वुद्धिजीवी बताउँछन् ।

रक्षावन्धन पर्वमा गुरुपुरोहितले अभिमन्त्रित डोरा शिष्य र यजमानलाई बाँधिदिने चलन पनि मिथिलामा छ । यद्यपि पर्वको मुख्य आकर्षणचाहिँ दिदीबहिनीले बाँधिदिने राखीकै हुने गरेको बर्दिवास–९ पशुपतिनगरस्थित राष्ट्रिय माध्यमिक विद्यालयका प्रधानाध्यापक हरिदेव महतो बताउँछन् ।

अघि सत्ययुगमा तीनै लोक (स्वर्ग, मत्र्य र पाताल)को अधिपति रहेका दानवराज बलिलाई उनका गुरु शुक्राचार्यले देवतासँगको युद्धमा जानअघि शास्त्रोक्त विधिले अभिमन्त्रित गरिएको डोरा (रक्षाकवच, रक्षासूत्र) बाँधिदिएका विश्वासको परम्परामा पुरोहितबाट डोरा बाँध्ने चलन छ ।

त्यसैसँग जोडिएका अर्को प्रसङ्गमा बलिका बहिनी गङ्था र यमुनाले युद्धमा जानअघि विजयको कामना गर्दै हातमा रक्षावन्धन (रक्षाकवच) बाँधिदिएका र सो युद्धमा बलिको जित भएको सम्झनामा प्रत्येक वर्षको साउन पूर्णिमाका दिन दिदीबहिनीले आफ्ना दाजुभाइको सौर्य वृद्धिको कामना गर्दै राखी बाँधिदिने परम्परा बसेको जिल्लाकै मटिहानीस्थित याज्ञवल्क्य लक्ष्मीनारायण संस्कृत विद्यापीठका मैथिली भाषा साहित्यका उपप्राध्यापक मनोज झा मुक्तिको भनाइ छ ।

राखी पर्व मिथिलामा सबै जातजाति, सम्प्रदाय र धर्मावलम्बीले मनाउने गरेका छन् । एक अर्को परम्पराभित्रका समुदायले आपसी देखासिकी र घुलमिलले पर्व साझा बन्दै गएका पाका मैथिल बताउँछन् ।

पछिल्लो दशकमा अत्याधुनिक सूचना र सञ्चार प्रविधिको विकासले फरक–फरक परम्पराका समुदाय एकाकार बन्दै गएर पर्व साझारूपमा मनाउन थालेका जिल्लाकै रामगोपालपुर नगरपालिका–२ महनपुरका इस्लाम धर्मावलम्बी सकिवुल खानले जानकारी दिए ।

मिथिलामा केही वर्षयता मधेशमा बस्ने पर्वते मूलका हिन्दू मात्र नभएर इस्लाम धर्मावलम्बी युवा पनि हिन्दू परिवारकी चेलीलाई दिदीबहिनी मानेर राखी बधाउन थालेका छन् ।

यो आपसी हेलमेल र सामाजिक, सांस्कृतिक सद्भावको अपूर्व नमूना बनेको भङ्वगाहा नगरपालिका–५ स्थित माध्यमिक विद्यालय भङ्गाहा सिद्धपुरका नेपाली भाषाका शिक्षक कमलबहादुर श्रेष्ठको भनाइ छ ।

प्रतिक्रिया