मंगलबार, वैशाख ९, २०८२

मधेस विखण्डनविरुद्ध चलचित्र ‘एक’ ट्रेलर सार्वजनिक

मेरोन्यूज २०७८ भदौ २० गते १०:४१

काठमाडौँ । ‘ग्रेटर नेपाल’को आह्वान गर्दै देशको सीमाना खोज्दै हिँडेका मनोज पण्डित १५ वर्षपछि चलचित्र क्षेत्रमा फर्किएका छन् । चलचित्र ‘एक’मार्फत उनी पुनः चलचित्र क्षेत्रमा फर्किएका हुन् ।

देशको सिमाना मिचियो भनेर चिन्तामा रहने पात्रलाई समावेश गरी निर्माण गरिएको चलचित्र ‘एक’मा मधेसलाई नेपालबाट अलग्याउने प्रयत्नविरूद्ध देशभक्त ‘गुप्तचर’को संघर्षको कथा रहेको छ । डिजिटल प्लेटफर्ममार्फत आगामी असोज २१ गते (घटस्थापना)का दिन प्रदर्शनमा आउने चलचित्रको ट्रेलर ओएसआर डिजिटलले सार्वजनिक गरिसकेको छ ।

‘मधेसको त्यो विखण्डनकारी राजनीतिले अंगाल्न खोजेको अस्थिर मनोविज्ञान तथा काठमाडौँले खेलिरहेको असंवेदनशील राजनैतिक खेलले नेपाल कतै विखण्डनतिर जान्छ कि भन्ने चिन्ताले सताइरहन्थ्यो,’ चलचित्रका लेखक तथा निर्देशक पण्डित भन्छन्, ‘यो सम्भावित खतराप्रति देशका जिम्मेवार निकायहरू गम्भिर हुनु पर्छ भनेर यो फिल्मको परिकल्पना गरिएको हो ।’

यो पनि पढ्नुहोस् : मानिसलाई अध्ययन गरेर सिनेमा क्षेत्रमा आउँदा राम्रो : निर्देशक पण्डित

स्वतन्त्र मधेसको राजनीतिक एजेण्डा देशका लागि निकै षड्यन्त्रमूलक भएको चित्रण फिल्ममा गरिएको छ । कलाकार प्रमोद अग्रहरिलाई स्वतन्त्र मधेसको राजनैतिक एजेण्डा बोकेको पात्रका रुपमा प्रस्तुत गरेको चलचित्रमा विशाल पोखरेल नेपालको गुप्तचर निकाय सिएसआईको गुप्तचर एजेन्टका भूमिकामा देखिएका छन् ।

यी दुई पात्रबीच मिसन केन्द्रीत अन्तर संघर्षको कथात्मक प्रस्तुती रहेको यो स्पाइ जनर एक्सन प्रधान फिल्ममा ज्योत्सना योगी महिला एजेन्टको भूमिकामा देखिएकी छन् । प्रमोद खड्काको एक्सन कोरियोग्राफी रहेको चलचित्र दीपक बज्राचार्यले छायांकन गरेका हुन् । सिनेमाको सम्पादन भरत रेग्मीले गरेका छन् ।

गोविन्द मधुर आचार्य, पुस्कर महतो र हरि लम्सालले चलचित्रमा संगीत भरेका छन् । सिनेमा फ्याक्ट्रीको ब्यानरमा निर्माण भएको यो चलचित्रका निर्माता आत्मा गुरागाईं र सोफिया थापा हुन् ।

घटस्थापनाका दिनदेखि सिनेमा घर एप, डिसहोमको च्यानल ५५५, नेट टिभी, म्याक्स टिभी, र भाइनेट तथा ओहो मुभिजबाट प्रदर्शनमा आउने भएको छ ।

चलचित्रमा प्रमोद खड्का, रामशरण पाठक, मदन ठाकुर, सुरेश शाह, सविर चुरौटे, हरून अली, रमेश महर्जन, रिसिका घिमिरे तथा बालकलाकार विश्वन्त पोखरेललगायतका कलाकारहरूले अभिनय गरेका छन् ।

प्रतिक्रिया