शनिबार, वैशाख २७, २०८२

सभापति देउवाकै गृह जिल्लामा के हो कांग्रेसभित्रकाे लफडा ?

वडा अधिवेशन अन्योलमा, केन्द्रले क्रियाशील आफुखुसी थप्ने र हटाउँने गर्योे : सभापति मल्ल

सञ्जिता खनाल २०७८ भदौ २३ गते १३:३९

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्लामै क्रियाशील सदस्यता विवाद चुलिएको छ । जिल्ला निर्वाचन समितिको कार्यालयले त भदौँ २५ गते वडा तथा नगर अधिवेशन तोकेछ । तर शनिबार क्रियाशील सदस्यता नामावली सार्वजनिक भएसँगै विवाद थप चर्किएको हो ।


भदौँ २५ मा वडा र नगर अधिवेशन अन्योल बनेको छ । निर्वाचन समितिले डडेल्धुरामा वडा अविधेशनका लागि निर्वाचन अधिकृत पठाइसकेको छ । क्रियाशील विबाद समाधान नगरी अधिवेशन हुन नसक्ने जिल्ला सभापति कर्णबहादुर मल्लले बताए । मल्लले डडेलधुराका ४३ वटा वडाबाट पठाएको क्रियाशील नामावली काटेर केन्द्रले आफै नयाँ थपेर पठाएको बताए ।


मल्लले मेरोन्युसँग भने,“संख्यात्मक रुपमा करिब ५ सय क्रियाशील सदस्य तहगतरुपमा पठाएको भएपनि नाम हटाएर माथिबाट अन्य क्रियाशिल थपिएका छन्,” अहिलेसम्म निर्वाचन कमिटी गठन नभएको र दबाबमा अधिवेशन गराउँन खोजेको उनको आरोप छ । “निर्वाचन अधिकृत देउवाको प्रभावमा रहेर एक पक्षीय रुपमा जुन प्रकारको अधिवेशन गराउन खोजिएको छ, हामी हुन दिदैनौँ,” मल्लले भने ।


मल्लका अनुसार नवदुर्गा वडा नम्बर ५ का नेपाली कांग्रेसको महिला निर्वाचित सदस्यहरुको सदस्यता हटाएको भन्दै उनीहरुले शनिवार पार्टी कार्यालयमा आएर गुनासो गरेका थिए । “पार्टी सभापति देउवा यस्ता क्रियाकलाप गर्दा गर्व लागेको हो,” उनले प्रश्न गरे ।


जिल्लाले पठाएको क्रियाशील सदस्यको नाम हटाउँने र माथिवाट थप्ने विषयमा छलफल गरेर मात्र अधिवेशन अगाडी बढ्न दिने उनले बताए ।
“केन्द्रीय सभापति देउवाले जिल्लाको क्रियाशील समस्या समाधान गर्नुपर्नेमा अहिले आफै क्रियाशील सदस्य तोक्दै हिड्न लाज लाग्दैन्,” उनले थप प्रश्न गरे ।


“पार्टीको गलत, विधि, विधान,संस्कार,मिचेर अगाडी बढ्ने पार्टी सभापतिको खिलाफमा आफूहरु उभिएको छौं”,उनले भने,“१६वर्षदेखि पार्टीको क्रियाशील सदस्यता भएका व्यक्ति अहिले क्रियाशील सदस्यता काटेर पार्टीको किरियामा बस्नु भएको छ ।”

क्रियाशील सदस्यता सूचीबाट आफ्नो नाम हटाएको भन्दै अमरगढी नगरपालिका ९ का वडा सभापति नरबहादुर पालले कपाल मुण्डन गरेर पार्टीविरुद्ध किरिया बसेको तस्बिर सामाजिक सञ्जालमा राखेका थिए । कांग्रेसमा ३० वर्षको योगदान सिध्याउने खेल भएको उनको आरोप छ । देउवा निकट एक नेताले मेरोन्युजसँग भने, “जिल्लाले प्रक्रिया मिचेर नाम पठाएपछि त्यो हटाएको हो ।”

देउवापुत्र राजनीतिमा अाउँदा कुटाकुट

केन्द्रीय सभापति देउवाका छोरा पनि यो पटकबाट क्रियाशील सदस्य बनेकाे मल्लले जानकारी दिए । देउवाका एक्ला सन्तान जयवीर राजनीतिमा आएसँगै जिल्लामा कार्यकताबीच कुटाकुटकै अवस्था बनेकाे छ ।

वडा, पालिका, प्रदेशसभा क्षेत्र र नेपाली कांग्रेस डडेल्धुरा जिल्ला कार्यसमितिले सर्वसम्मत रुपमा क्रियाशील, नयाँ र नविकरण गरी ५ हजार ८०४ जनाको सूची केन्द्रमा सिफारिस गरेको थियो । तर आइतबार सार्वजनिक भएको क्रियाशील सदस्यता सूचीमा जिल्लाले सिफारिस नगरेका ३१२ क्रियाशीलहरु सदस्य थपिएका पार्टी कार्यालयका सचिव रामबहादुर विष्टले जानकारी दिए ।

“चार वटा तहबाट सिफारिस गरेर जिल्लाबाट इन्ट्री भएका क्रियाशील सदस्यता सूचीसहित निर्णय पनि केन्द्रमा पठाएका थियौं,” विष्टले भने, “तर केन्द्रले सार्वजनिक गरेको नामावलीमा ४६० जनाको नाम काटिएको छ ।”

केन्द्रिय निर्वाचन कमिटी लोकेन्द्र बहादुर बमलाई डडेलधुरा खटाएका छ । मंगलबार उनै निर्वाचन अधिकृत बमको आह्ववानमा जिल्ला कार्यसमितिको बैठक बसेको थियो । तर बलले बैठकको माइन्यूटमा हस्ताक्षर नगरी हिँडेको जिल्ला कार्य समिति डडेलधुराको आरोप छ ।

अर्को वडाको अधिवेशन कसरी गर्ने भनेर जिल्ला कार्यसमितिसँग बसेर मिति तय गर्नुपर्ने हो । तर अहिलेसम्म केन्द्रले पठाएको क्रियाशील नामावली निर्वाचन अधिकृतले नै वडामा जानकारी समेत नगराएको पार्टी कार्यालयका विष्ट बताउँछन् ।

“बैठकको आवहान गर्ने तर बैठकमा उपस्थित पुस्तिकामा हस्ताक्षर नगर्ने अझ आफुखुसी निवार्चन मिति तोक्ने?” उनले प्रश्न गरे,“क्रियाशील सदस्यताको अभिलेख पार्टीलाई नदिई निर्वाचन तालिका सार्वजनिक गर्ने ?” क्रियाशिल विबाद जिल्लाकै समस्या रहेको बिष्टले बताए ।

डडेलधुरामा ५२ वटा रहेका छन् । ४३ जिल्लामा क्रियाशील सदस्यको नामावली थपघट गरिएको विष्टले मेरोन्यूजलाई जानकारी दिए । कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत १८ भदौदेखि वडा अधिवेशन जारी छ ।

सञ्जिता खनाल

मेराेन्यूजकर्मी खनाल राजनीति र स्वास्थ्यसम्बन्धी विषयमा कलम चलाउँछिन् ।

प्रतिक्रिया