शनिबार, पुष ५, २०८२

पन्ध्र लाख लगानीमा खोलिएको ‘फुटुङ फुड् क्याफे’

नरेन्द्र रौले २०७८ मंसिर ४ गते १९:०५

काठमाडौं । बालाजुको माछापोखरी कटेर उत्तर पूर्वतिर लाग्ने हो भने आइपुग्छ, गाउले परिवेशको बस्तिमा एउटा चिटिक्कको क्याफे ।

बालाजु बाइपासबाट २ किमी टाढाको यो क्याफेको माहोलले यति लोभ्याउँछ कि टाढा–टाढाबाट मानिसहरु पनि यहाँ आइपुग्ने गर्छन् । शहरको भिडभाड भन्दा अलि टाढा यहाँको शान्त र सुन्दर परिवेशले जोकोहीलाई मोहित बनाउँछ ।

हालैको एक मध्यान्ह शहरी कोलाहल भन्दा परको ‘फुटुङ फुड् क्याफे’ पुग्दा यहाँ बाक्लै चहलपहल थियो । पहिलो लकडाउन हुनु तीन महिनाअघि खोलिएको यस क्याफेकी सञ्चालक हुन्, नुवाकोटकी गीता लामिछाने । हँसिलो चेहरा भएकी उनी लकडाउनको कठोर समय पार गरेर थालिएको व्यवसायिक यात्राको कथा सुनाउन तम्तयार भइन् ।

प्रारम्भमा गीताको ब्यापारिक साझेदार अर्की साथी पनि थिइन् । बीचैमा पार्टनर विदेश हिंड्नु परेकोले गीता एक्लैले यो क्याफे सञ्चालन गर्दै आएकी छिन् । सुरुमा १५ लाख रुपैंयाँ लगानी भएपनि अहिले सम्म १८ लाख रुपैंयाँ लगानी पुगिसकेको गीता बताउँछिन् ।

बिहान ७ बजेदेखी राती १० बजेसम्म खुल्ने यो क्याफेमा अचेल उनी खटेकी हुन्छिन् । आफूबाहेक उनले तीन जनालाई रोजगारी दिएकी छिन् ।

क्याफे सुरु भएको तीन महिनामै लकडाउन भयो । त्यसले उनको व्यापारमा ठूलो असर गर्‍यो । दोस्रो लकडाउनपछि पुन: असारमा सञ्चालनमा आयो । अब भने विस्तारै राम्रो बजार लिदैछ । लकडाउनमा भएको घाटा अब पूर्ति हुने क्रममा छ ।

अंग्रेजीमा मास्टर्स सकेकी गीताले काम गर्दा गर्दै रेस्टुराँ र हस्पिटालिटि क्षेत्रबारे राम्रै अनुभव बटुलिसकेकी छन् । सुरुमै ज्ञान हासिल गरेर उनले यो क्षेत्रमा हात हालेकी होइनन् ।

त्यसो त उनलाई खानाका परिकार बनाउन र यसबारे विशेष तालिम लिन मन नभएको होइन । तर, सिक्नका लागि पर्याप्त समय नै भएन । ‘सिक्ने रहर भएर पनि समय नै मिलेन ।’ उनले आफ्नो बाध्यता सुनाइन्, ‘सिक्ने समयमा कामको दवाव बढी थियो ।’

गीताले सञ्चालन गरेको क्याफे यतिखेर फुटुङमा मात्र सीमित छैन । गोंगबु, सांगला, टोखा, सामाखुसी, टोखा क्षेत्रका बासिन्दा उनको क्याफेका नियमित ग्राहक छन् ।

यस्तै, फुटुङको फुटसल, स्वास्थ्य चौकी र यहाँका स्कुलमा नियमित रुपमा खाजा जान्छ ।

यस क्याफेमा नियमित धाईरहने स्थानीय बासिन्दा पारसविक्रम शाह यहाँको वातावरणले लोभ्याएको बताउँछन् । ‘यहाँको जस्तो शान्त वातावरण शहरी क्षेत्रमा भेटिदैन । ठाउकै कारण पनि आइरहन मन लाग्छ ।- पारसले प्रतिक्रिया दिए ।

फुटुङ फुड् क्याफेको मेनु

सञ्चालक गीता लामिछानेका अनुसार यो क्याफेको मेनु त्यति महंगो छैन । सामान्य व्यक्ति, विद्यार्थीदेखी सबै वर्गका लागी लक्षित गरेर सञ्चालनमा ल्याइएको हो । ‘गाउँको क्षेत्र हो, धेरै महंगो मूल्य राख्यो भने चल्दैन ।’ गीता भन्छिन्, ‘शहरमा जस्तो प्रतिष्पर्धा पनि हँुदैन ।’

फुटुङ फुड् क्याफेमा १४ प्रकारका ५० भन्दा बढी आइटमहरु उपलब्ध छन् । मटनका प्रायजसो: सबै आइटम पाइन्छन् । मटन करी, छोयला, मटन खाना सेट सबैभन्दा धेरै अर्डर हुने परिकारभित्र पर्छन् ।

यहाँको स्पेशल परिकार भनेकै म:म हो । ७ प्रकारका म:मका भेराइटी यहाँ उपलब्ध छन् । ‘अन्यत्र नपाइने यो क्याफेमा मात्र पाइने आइटम के छ ?’ ठट्यौलो स्वभावकी उनले हाँसेरै भनिन् ‘त्यो त म मात्र हो ।’

प्राय: शुक्रबार र शनिबार क्याफेमा अरु दिन भन्दा बढी भीड लाग्छ । अरु दिनमा १५ देखि २० हजार रुपैंयाँ बराबरको कारोबार हुन्छ । शुक्रबार र शनिबार भने २५, ३० रुपैंयाँ बराबरको कारोबार हुने सञ्चालक गीताले बताइन् ।

होम डेलिभरीको सुविधा

फुटुङ, गोंगबु, सांगला, टोखा, सामाखुसी, टोखा आसपास क्षेत्रमा फ्रि होम डेलिभरीको ब्यवस्था पनि छ । क्याफेले दैनिक फास्टफुड म:म, चाउमिन, बर्गर, पिज्जा लगायतका आइटम होम डेलिभरी गर्दै आएको छ ।

संघर्षको अर्को नाम गीता

परिवारकी जेठी छोरी हुन्, गीता । उनले भोगेको र सामना गरेको संघर्षको कथा भने लामै छ । आफूभित्रका पीडालाई लुकाएर सधैँ मुस्कुराइरहने तागत छ उनमा । त्यहि आत्मबलको भर त उनले आफ्नो जीन्दगी अघि बढाइरहेकी छिन् ।

गीताले आफू मात्र होइन आफू पछिका दुई भाइलाई हुर्काइन्, बढाइन् र पढाइन् । मामाघरमा बसेर पढेकी उनले प्लस टु पछि गाउकै स्कुलमा पढाइन् । गाउमै कस्मेटिक पसल खोलेर बसिन्, साथीहरुसँग मिलेर मन्टेश्वरी स्कुल खोलिन् । त्यही मन्टेश्वरी स्कुलको प्रिन्सिपलसम्म बन्न सफल भइन् । स्टडी प्लस भन्ने कन्सल्टेन्सीमा ७ महिना काउन्सिलरका रुपमा काम गरिन् ।

कैयौं कठिनाइ र अप्ठेरोका बाबजुत पनि पनि गीताले आफ्नो संघर्षलाई अघि बढाइरहेकी छिन् । कामबाट फुर्सद मिलेकोबेला उनलाई घुम्न एकदमै मनपर्छ । सोलो ट्रिपमा हिंड्न उनलाई विशेष मन पर्छ ।

प्याराग्लाइडिङ र बन्जि जम्प जस्ता शाहसिक खेलको मजा लिइसकेकी उनी छिटै नै मनाङ, मुस्ताङतिर घुम्न चाहन्छिन् ।

त्यसो त उनलाई एसएलसी पास गर्ने बित्तिकै एयर होस्टेस बन्ने रहर थियो । त्यो बेला आर्थिक अवस्थाले गर्दा एयर होस्टेसको कोर्ष पढ्ने अवस्था थिएन ।

जब उनले काठमाडौं पाइला टेकिन्, त्यसबेला एयर होस्टेसको कोर्षबारे बिभिन्न इन्स्टिन्यूटहरु धाइन् । अहिले भने उनी एयर होस्टेज बन्न अयोग्य भइसकेकी छन् । किनकी उनको उमेर २५ घर्किसकेको थियो । २५ कटेपछि एयर होस्टेस पेशामा प्रवेश गर्न नपाइने रहेछ ।
अबको सपना के छ ? गीतालाई सोधियो ।

‘देश घुम्नु छ ।’ उस्तै हँसिलो मुहारमा उनले सुनाइन्, ‘काठमाडौंमा घर बनाउनु छ । संसार घुम्ने । त्यत्ति हो ।’ यसो भनिरहँदा उनमा बलियो आत्मविश्वास झल्किन्थ्यो ।

प्रतिक्रिया