आइतबार, पुष ६, २०८२

मोबाइल बजार व्यवस्थित गर्न एमडीएमएस लागु हुँदै

मेरोन्यूज २०७८ मंसिर १५ गते १३:०९

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम एमडिएमएस तत्काल लागु हुने बताएका छन् । नेपाल मोबाइल वितरक संघको दोस्रो राष्ट्रिय महाधिवेशनको उद्घाटनसभामा बोल्दै अर्थमन्त्री शर्माले विभिन्न देशबाट अबैध रुपमा आयात हुने मोबाइल फोनलाई रोक्न एमडिएमएस तत्काल लागु हुने बताएका हुन् ।

कार्यक्रममा बोल्दै उनले भने, ‘मैले अबैध रुपमा मोबाइल फोन आयात हुने विषयलाई व्यवस्थापन गर्न लागु हुने एमडिएमएसबारे हिजो मात्रै थाहा पाएँ । मैले हिजै तत्काल लागु गर्न निर्देशन दिइसकेको छ । तत्काल नै लागु हुन्छ ।’

तर, बैध रुपमै धेरै मोबाइल फोन आयात भइरहेको प्रसंग कोट्याउँदै उनले भने, केलाई अबैध भन्ने हो ? यहाँ त बैध रुपमा अबैध आयात भइरहेको छ । मैले केही दिन अघिदेखि मन्त्रालयका अधिकारीलाई अबैध सुन आयातलाई अनुगमन गर्न विमानस्थलमा खटाएको छु । त्यहाँ दैनिक २० देखि २२ किलोग्राम अबैध सुन आयात भइरहेको छ । यसैगरी मोबाइल फोन पनि आयात भइरहेको रिर्पोट आएको छ ।’

उनले मोबाइल मानिसको क्षमताभन्दा पनि अघि बढिसकेको बताउँदै प्रविधिसँगै मानिसको क्षमता पनि बृद्धि गर्नुपर्ने भएको बताए । उनले भने, ‘मोबाइल फोनले हाम्रो आवश्यकताअनुसार चल्न सहज भएको छ । यसमा कनेक्टिभी, सञ्चार, मनोरञ्जन, सूचना सबै चीज अटाएको छ । यो अत्यावश्यक बस्तु भएको छ । त्यसकारण पनि मोबाइलमा सरकारले कडाइ गर्न नै सक्दैन । बिलासिताको बस्तुभित्र मोबाइल फोन परे पनि यसमा कडाइ हुँदैन ढुक्क हुुनुस् ।’

यस्तै कार्यक्रममा बौल्दै व्यवसायी दीपक मल्होत्राले मोबाइल व्यवसायलाई व्यवस्थित गर्न एमडिएमएस लागु गर्नु अनिवार्य सर्त भएको बताए । उनले भने, चालू आर्थिक वर्षको बजेट दस्तावेजमै समेटिएको विषय भएकाले एमडिएमएस लागु हुनेमा हामी ढुक्क थियौं । तर त्यसो हुन सकेन । अब बल्ल अर्थमन्त्री तात्नुभएको छ । लागु हुन्छ भन्ने विश्वास लागेको छ । मोबाइल बजार व्यस्थित गर्न यो अनिवार्य सर्त हो ।’

महाधिवेशनको उद्घाटन सत्र समापन गर्दै संस्थाका दिनेश चुल्याद्योले मोबाइल बजारलाई व्यस्थित गर्दे माथि उठाउनका लागि सरकारले सहयोग गर्नुपर्ने बताए ।

कार्यक्रममा देशभरी मोबाइल व्यवसायी उपस्थित थिए । संस्थाको दोस्रो महाधिवेशनको बन्दसत्रले अब नयाँ कार्यसमिति चयन गर्नेछ ।

प्रतिक्रिया