विवादमा प्रहरी
आफै किन चोर बन्छन् प्रहरी ?
व्यक्तिगत बदनियतका कारण उब्जिएको घटनामा संगठनलाई दोष दिनु उपयुक्त हुँदैन : पूर्व प्रहरी अधिकारी

काठमाडौं । नेपालमा एउटा ‘स्लोगन’ प्रत्येकको स्मरणमा छ । त्यो स्लोगन हो – ‘प्रहरी मेरो साथी’ । जनता र प्रहरीबीचको सम्बन्ध हार्दिकतापूर्ण बनाउन र प्रहरीसँग जनताको भरोसा दिलाउन यो ‘स्लोगन’ प्रयोगमा ल्याइएको थियो ।
तर कतिपय घटनामा प्रहरी आफैँ अपराधिक गतिविधिमा संलग्न हुन थालेपछि यो ‘स्लोगन’ खल्लो हुँदै आएको छ । प्रश्नपत्र चोरीदेखि विभिन्न सुन तस्करीमा प्रहरी स्वंयम संलग्न भएको घटना सार्वजनिक हुँदै आएको छ ।
कतिपय घटनामा जनतासँग अमानविय शैली, अनुसन्धानमा ढिलासुस्ती र सरुवा वढुवादेखि नियुक्तिसम्ममा राजनीतिक दलका नेताहरुको घरदैलो चाह्रार्नै प्रवृति र राजनीतिक दलका नेताहरुले प्रहरी संगठनभित्र गर्ने हस्तक्षेपका कारण पनि प्रहरी संगठन पटक–पटक विवादमा तानिदै आएको थियो । यतिबेला राष्ट्रसंघको शान्ति मिशनमा जान नेपाल प्रहरीले लिने आन्तरिक परीक्षा (प्रि–स्याट) को प्रश्नपत्र ‘लिक’ प्रकरणका कारण पनि प्रहरी विवादमा तानिएका छन् ।
गत साता नक्सालस्थित नेपाल प्रहरीको प्रधान कार्यालयबाट संयुक्त राष्ट्रसंघको शान्ति मिशनमा जानका लागि नेपाल प्रहरीले लिने आन्तरिक परीक्षा (प्रि–स्याट) को प्रश्नपत्र ‘लिक’ भयो । उक्त विषयमा छानविन गर्न प्रहरी प्रधान कार्यालयले डिआइजी बसन्त लामाको नेतृत्वमा छानविन समिति गठन गर्यो ।
डिआइजी लामाको नेतृत्वमा गठन गरेको छानबिन समितिले युएन शाखाबाट नै उक्त प्रश्नपत्र चोरी भएको पुष्टि गर्यो । प्रि–स्याट परीक्षाको प्रश्नपत्र चोरी गरेको आरोपमा युएन शाखाका एक जना, साइबर ब्युरोका एकसहित ३ जनालाई छानबिन समितिले पक्राउ गरिसकेको छ ।
छानविन समितका अनुसार प्रहरी हेडक्वार्टरबाट प्रश्नपत्र चोरिएको पुष्टि भएकाे छ र समितिले बुधबार प्रतिवेदन बुझाउने तयारी गरेकाे छ ।
युएन शाखाकै तल्लो दर्जामा कार्यरत दुई जना कर्मचारीले प्रि स्याट परीक्षाको प्रश्नपत्र दराजबाट चोरी भएको हुन सक्ने भन्दै प्रहरी प्रधान कार्यालयले डिआइजी लामाको नेतृत्वमा छानविन समिति गठन गरेको थियो । उक्त छानबिन समितिले दिएको प्रतिवेदनका आधारमा कारबाही प्रक्रिया अघि बढ्ने प्रहरी प्रधान कार्यालयका प्रवक्ता वसन्त कुँवरले जानकारी दिए ।
शनिबार भएको प्रि स्याट परीक्षाको प्रश्नपत्र बाहिरएको आशंका गरिएको थियो । त्यही आधारमा परीक्षा एक घण्टा ढिलो गरी सुरु भएको थियो । यसमा उत्तीर्ण हुनेलाई मात्र मिसनको अन्तिम परीक्षामा सहभागी गराउने गरिएको छ ।
डिआइजी लामा नेतृत्वको छानविन समितिले बिहीबार (२१ साउन) प्रहरी हवल्दार कुमार शाहसँग बयान लिएको थियो । ८ वर्ष प्रहरी प्रधान कार्यालयको युएन शाखामा बसेर केही समय अघि मात्र साइबर ब्यूरोमा सरुवा भएका शाहले आफैँले डिएसपी रुपेश खड्कालाई शान्ति मिसनको प्रश्नपत्र दिएको बयान दिएका थिए । ‘शाहले छानबिन समितिसँगको बयानमा ‘डिएसपी सा’पलाई मैले नै प्रश्नपत्र दिएको हुँ’ भनेका थिए,’ एक प्रहरी अधिकारीले मेरोन्यूजसँगको कुराकानीका क्रममा भने ।
छानविन समितिले युएन शाखामा कार्यरत डिएसपी बासु पाठकसहित दर्जन प्रहरी अधिकारीहरूसँग बयान लिएको थियो । हवल्दार कुमार शाह र युएन शाखामा कार्यरत परिचर सुरेश बमलाई समितिले आन्तरिक नियन्त्रणमा राखेर अनुसन्धान गरिरहेको छ ।
प्रहरी नियन्त्रणमा रहेका उनीहरुलाई नक्सालस्थित सशस्त्र प्रहरी गण नम्बर–१ मा आन्तरिक थुनामा राखिएको छ । कुमार शाहको भाइबरमा प्रश्नपत्र भेटिएको प्रहरीले जनाएको छ ।
संयुक्त राष्ट्र संघको शान्ति मिसनमा सहभागी हुन इच्छुक प्रहरी कर्मचारीको छनोटका लागि शनिबार प्रहरी प्रधान कार्यालयभित्रै १ हजार ४ सय प्रहरी कर्मचारीको प्रिस्याट परीक्षा लिइएको थियो । सातै प्रदेशमा गरी २ हजार ४ सय परिक्षार्थी परीक्षामा सहभागी थिए ।
डीएसपी रुपेश खड्कासहित ८ जना परिक्षार्थीले परीक्षा हुनु अगावै प्रश्नपत्र पाएका थिए । यसअगाडि राष्ट्र संघीय मिसनका प्रतिनिधि नै आएर लिएको परीक्षासमेत प्रश्नपत्र लिक भएको थियो ।
यस घटनाको विस्तृत छानबिन गरिरहेका डिआइजी लामाले छिटोमा एक दुई दिनभित्रमा प्रतिवेदन बुझाउने मेरोन्युज सँग बताए । उनले भने, ‘हामीले प्रतिवेदन तयार पारिसकेका छौँ, सम्भव भएसम्म आजै नभए भोलिसम्म हामी पूर्णतः प्रतिवेदन बुझाउने छौँ ।’
५ वर्ष अगाडिको त्यो चोरी…
प्रहरी संगठनभित्र प्रश्नपत्र चोरीको यो नै पहिलो घटना होइन । यसअघि आजभन्दा ५ वर्ष अगाडि राष्ट्र संघीय मिसनका प्रतिनिधि नै आएर लिएको परीक्षाको समेत प्रश्नपत्र लिक भएको थियो । सशस्त्र प्रहरीको हेडक्वार्टर भएको स्याट परीक्षाकै प्रश्नपत्र मिलोमत्तोमा बाहिरिएको थियो ।
उक्त समयमा भएको प्रश्नपत्र ‘लिक’प्रकरणमा नेपाल प्रहरीका ५ र सशस्त्रका ३ जना कर्मचारी संलग्न रहेको परीक्षाका लागि १२ र ३ बजे परीक्षाको समय तोकिएको थियो । तर परीक्षाअगावै १० बजे नै प्रश्नपत्र बाहिरिएको थियो ।
प्रश्नपत्र बाहिरिएपछि अन्तर्राष्ट्रिय टोली बसेर फोटोकपी गरेर प्रश्नपत्र आफूसँगै लिएर हिँडेका थिए । सशस्त्रले फोटोकपी गरिएका सामग्रीको डिजिटल कपी कम्प्युटरमा रेकर्ड बस्ने पद्धति रहेको थियो । त्यसकारण सशस्त्रका कर्मचारीले प्रश्नपत्र लिक गरेर भाइबरमार्फत परीक्षार्थीलाई पठाएको खुलासा भएको थियो ।
नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका कर्मचारीको योग्यता परीक्षण परीक्षाकै प्रश्नपत्र लिक भएको र सो काम सशस्त्र प्रहरीका कर्मचारीले गरेको पुष्टि भएपछि परीक्षा नै रद्द भएको थियो ।
सुन प्रकरणमा मुछिएको प्रहरी…
नेपालमा सुन तस्करीका घटनाहरु सामान्य होइनन् । कहिले धेरै मात्रामा त कहिले थोरै मात्रामा नेपालमा सुन तस्करीका घटनाहरु चर्चामा आइरहन्छन् । सुन तस्करीका घटनाहरु जति सुकै उत्कर्षमा पुगे पनि केसहरु भित्रभित्रै हराएर जान्छन् तर नेपालमा एउटा यस्तो सुन तस्करीको घटना छ । जुन अहिले पनि उत्तिकै चर्चामा छ ।
२१ पुस ०७३ मा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआइवी)ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साढे ३३ किलो सुन बरामद गरेको थियो । उक्त सुन प्रकरणको विषयमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा विशिष्ट छानबिन समिति गठन गरेको थियो । सोही प्रकरणको छानविनले नेपालका विभिन्न राजनीतिज्ञसँगै सुरक्षाकर्मीको ठूलो जमात नै अनुसन्धानमा तानिएका थिए ।
उक्त सुन प्रकरणमा नेपाल प्रहरीका पूर्व डिआइजीदेखि सईसम्मका सुरक्षाकर्मीहरु संलग्न भएको भन्दै अनुसन्धानमा तानिएका थिए । तत्कालीन प्रधानमन्त्री ओलीको नेतृत्वमा गठन भएको छानबिन समितिले धेरै प्रहरीहरुलाई अनुसन्धानमा खिच्नुका साथै निलम्बनमा समेत परेका थिए ।
छानविन समितिले धेरै प्रहरीहरुलाई पुर्पक्षका लागि थुनामा समेत पुर्याएको थियो । सरकार पक्षको छानबिन समितिले प्रहरीको संलग्नता र प्रहरी भित्रको कुरुपलाई उतारेको थियो । उक्त सुन प्रकरणमा आफै अनुसन्धान गरिरहेका प्रहरीहरु समेत छानविनमा तानिएका थिए । ३३ किलो सुन प्रकरणमा नै सुन तस्करीको लेनदेनमा कुरा नमिलेपछि मोरङको उर्लाबारी–७ स्थायी घर भएका ३३ वर्षीय सनम शाक्यको अपहरणपछि हत्या भएको थियो । सोही हत्याका आरोपी पक्राउ गर्ने महानरीय अपराध महाशाखाका डिएसपी प्रजित केसीसमेत छानविन समितिको फन्दामा परेको थियो ।
आजसम्म पनि अनुसन्धानकै घेराभित्र रहेको यो सुन प्रकरणमा नेपाल प्रहरीको संलग्नतालाई छताछुल्ल देखाइएको थियो । उक्त घटना अझै पनि अनुसन्धानमै छ । तर, अनुसन्धानकै चरणमा नेपाल प्रहरीको अनपेक्षित संलग्नतालाई देख्दा प्रहरीभित्रको यो ‘कुरुपता’ले प्रहरीभित्रको अपराधिक मनस्थितिलाई स्पष्ट झल्काउँछ ।
किन विवादमा आउछ प्रहरी ?
कञ्चनपुर भिमदत्त नगरपालिकाकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको ३ वर्ष पूरा भयो । तर अभियुक्त पत्ता नलाग्नु, जातीयताकै कारण मृत्युवरण गर्न बाध्य भएका काभ्रे पाँच खालका अजित मिजारको हत्याको अभियोगमा पक्राउ परेका आरोपीहरूलाई केही स्वार्थका लागि थुनामुक्त गर्नु, डडेलधुराको स्वास्थ्यकर्मी २८ वर्षीय अस्मिता देवी धामीको हत्यारा पत्ता नलाग्नु जस्ता राष्ट्रिय चासोको विभिन्न घटनाहरूको उचित अनुसन्धान गर्न नसक्दा प्रहरीप्रतिको विश्वास जनमानसमा विस्तारै गुम्दै गएको स्पष्ट देखिन्छ ।
यी त केही शीर्ष घटनाहरू हुन् । प्रहरी कहिले एसइईको प्रश्नपत्र लिक प्रकरणमा तानिन्छ, त कहिले अभियुक्तसँगको साँठगाँठमा पीडित पक्षलाई अन्याय गर्छन्, भने कतिपय घटना ओझेलमै होलान् । विवादका कारण विश्वसनीयता घटाउँदै आएको प्रहरी संगठनमा राजनीतिक हस्तक्षेप, अभियुक्तसँगको साँठगाँठ र अनुसन्धानमा फितलोपन जनताले पटक-पटक व्यर्होदै आएका छन् ।
अपराधीलाई कानुनको कठघरासम्म ल्याउने काम गर्नु पर्ने निकाय आफै अपराधिक क्रियाकलापमा संलग्न हुँदा जनमानसमा प्रहरीप्रतिको विश्वासनीयता घट्दै गएको छ । अनुसन्धानमा तृष्ण मानिने नेपाल प्रहरी किन पटक-पटक विवादमा तानिन्छन् ? प्रश्न उठेको छ ।
व्यक्तिगत बदनियतले यस्ता घटना घट्छन् : पूर्वएआइजी भण्डारी

व्यक्तिगत बदनियत र स्वार्थले यस्ता घटनाहरूले प्रहरी संगठनलाई समस्या भएको नेपाल प्रहरीका प्रहरी पूर्व अतिरिक्त महानिरीक्षक पूर्वएआइजी राजेन्द्र सिंह भण्डारीले मेरोन्युजसँग बताए । उनले भने, ‘यदाकता व्यक्तिगत स्वार्थका लागि लागेका, व्यक्ति विषेश बदनियतका लागि भएका यस्ता घटनामा सिंगो संगठन र प्रहरी संयन्त्र नै फेलिएर हो भनेर भन्नु गलत हो । व्यक्ति विषेशको लोभ लालचमा कुनै स्वार्थका लागि अपराधिक घटनाहरु घटाउँछन् ।’
एउटाको गल्तीका कारण सिंगो संगठनलाई दोष दिनु उचित नभएको पूर्व एआइजी भण्डारी बताउँछन् । उनी भन्छन्, ‘प्रहरी संगठनभित्र नै फितलो हेरचाह भन्ने पनि होइन । भर्खरै युएन मिसनको छनोट प्रक्रिया अगावै प्रश्नपत्र लिक भएको थियो । यो घटना एउटा व्यक्तिको स्वार्थका लागि घटाइएको हो भन्ने कुरा स्पस्ट देखिन्छ । यस्ता स्वार्थका लालचका घटनाहरु प्रहरी संगठनमा मात्रै होइन, विभिन्न निकायहरुमा हुन्छन्, जस्तै लोक सेवा आगोग जस्ता निकायमा समेत प्रश्नपत्र ‘लिक’ हुन्छन् । यसलाई लोक सेवालाई नै फितलो शुरक्षा व्यवस्था भएको भन्ने बुझिदैन । त्यसकारण प्रहरीभित्रको यो घटनालाई समेत व्यक्तिगत स्वार्थका रुपमा लिन सकिन्छ, संगठनको फितलो कार्यसम्पादनलाई दोष दिन सकिदैन ।’
उनले भने, ‘प्रहरी संगठनभित्र रहेर अपराधिक गतिविधि गर्ने व्यक्तिलाई प्रहरीले विभागीय कारबाही गर्दै आएको छ । र पछिल्लो समय घटेको घटनाको विषयमा समेत प्रहरीले कारबाही गर्छ, भन्ने कुरामा विश्वस्त छु । र कारबाही गर्नुपर्छ पनि । छानबिन समितिको निष्कर्ष र समितिको प्रतिवेदन साथै समितिको सिफारिसका आधारमा उनीहरुलाई कारबाही गर्नुपर्छ ।’
यस्ता अपराधिक गतिविधि कसरी रोक्ने ?

नेपाल प्रहरीका पूर्व डिआइजी हेमन्त मल्ल ठकुरीले प्रहरीले यो घटनामा छानबिन गरेको कुरालाई सकरात्मक लिनुपर्ने बताउँछन् । उनले भने, ‘प्रहरी संगठनभित्रको यस्तो घटनाहरू सार्वजनिक गरेको कुरालाई सकारात्मक रुपमा लिनु पर्छ । यदि चोरी भएपछि गुपचुप राख्ने र जनताको अगाडि लुकाउने गरेको भए यस विषयलाई गहन रुपमा लिन सकिन्थ्यो होला । तर यहाँ त प्रहरीभित्रको अपराधिक गतिविधिलाई सार्वजनिक गर्नु र छानबिन समिति गठन गरेर सुसुचित गराउनु निकै राम्रो कुरो हो । प्रहरीले यसरी गरेको गतिविधिले प्रहरीको सबल पक्षलाई स्पष्ट देखाएको छ । यसले गर्दा प्रहरीभित्रको नराम्रो नियत भएका व्यक्तिलाई पाठ पढाउने काम गर्दछ ।’
यो घटनामा संगठनको कुनै गल्ती नभएको पूर्व डिआइजी मल्लले बताए । उनले भने, ‘पछिल्लो समय घटेको प्रहरीभित्रको अपराधिक गतिविधि एउटा व्यक्तिगत बदमासीको घटना हो । यो कुनै सांगठनिक बदमासी होइन । संगठनभित्र बदमासी गर्ने व्यक्तिहरु धेरै हुन्छन् जसकारण संगठनलाई नै नराम्रो रुपमा लिइन्छ । तर संगठन नै गलत भन्नु चै गलत हो । यदि यस्ता घटनामा संलग्न व्यक्तिहरूलाई कारबाही गरिएन भने मात्रै संगठनको बदनियत देखिन्छ ।’
एउटा मात्रै नभई प्रहरी पटक पटक यस्ता घटनामा संलग्न भएको देखिन्छ, । ३३ किलो सुन प्रकरणमा समेत प्रहरीको संलग्नतान देखिएको होईन, प्रहरी संगठनको फितलको कार्य निर्देशनलाई दोष दिन मिल्दैन ? भन्ने मेरोन्युजको प्रश्नमा उनले भने, ‘प्रहरीभित्र यस्ता व्यक्तिहरु छन् किनभने संगठन ठूलो छ, सशस्त्रभित्र ४० देखि ४५ हजार सुरक्षाकर्मीहरू छन्, सेनामा ९० हजार कर्मचारी छन् र प्रहरीमा समेत ७० देखि ७२ हजार जति कर्मचारीहरू छन् । यति धेरै व्यक्तिहरुको जमातमा केही बदनियतका व्यक्तिसमेत छन् । जस्तै उदाहरणको लागि अस्ति भर्खरै चितवनमा एक प्रहरी सैनिकले सेनाको हुद्धाको हत्या गर्यो । यस्ता केही बदनीयत बोकेका व्यक्तिहरू संगठनमा हुन्छन् विभागभित्रका यस्ता व्यक्तिहरूलाई पहिचान गरेर उचित कारबाही हुन्छन् भने यो राम्रो विषय हो ।’
उनले भने, ‘सुन प्रकरणमा समेत प्रहरीहरु जोडिएको होला, घुसखोरीमा समेत प्रहरी जोडिएको होला तर यसको दोष संगठनले बोक्ने होइन । किनभने यो व्यक्तिले गरेको अपराध हो, संगठनले होइन । यदि, प्रहरीभित्रको बदमासहरुको खोजी भएन, उनीहरुको विषयमा छानविन भएन, कारबाही गरेन भने संगठनको बदमासी देखिन्छ । तर यहाँ त प्रहरीले गरेका विभिन्न गतिविधिहरूलाई छर्लङ्ग पारेको छ, यो राम्रो कुरो हो । प्रहरी भित्रमात्रै होइन जुनसुकै संगठनमा हुने बदमास गर्नेहरूलाई पक्राउ गर्नु र कारबाही गर्नु राम्रो पक्ष हो ।’
कर्मचारी नियुक्ति पूर्व नै उनको विगतलाई हेरेर मात्रै संगठनमा प्रवेश गराउनु पर्ने पूर्व डिआइजी मल्ल बताउँछन् । मल्ल भन्छन्, ‘कुनै पनि व्यक्तिहरुको लुकेका चरित्रहरुको पहिचान गर्नु अत्यन्तै अवश्यक छ । कुनै पनि संगठनको कर्मचारी हुनु अगाडि उसको व्यक्तिगत चरित्रबारे बुझ्न अत्यन्तै आवश्यक छ । उसको विगतको बारेमा पहिचान गर्नु अत्यन्तै आवश्यक छ । जस्तै चितवनकै घटनालाई हेरौँ, हत्या गर्ने व्यक्तिको विगत अलि अपराधिक खालको भन्ने कुरासमेत आएको छ । यस्ता घटनाहरूले गर्दा संगठन नै खराब भएको देखिन्छ, यसको नियन्त्रणका लागि संगठनको नियुक्ति हुनु पूर्व नै यस्ता व्यक्तिहरुको विगत पहिचान गर्नु अत्यन्तै आवश्यक छ ।’
उनले थपे, ‘सुरक्षा संगठनहरूमा वा निजामतीमा भर्ना पूर्व नै गाउँ घरतिर यस्ता क्रियाकपालहरू थिए कि ? गाउँ घरमा उसले कस्ता अपराधिक क्रियाकलाप गरेका हुन्छन् । चोरी डकैती जस्ता घटना गरेका छन् कि ? यो विषयको बारेमा बुझ्न आवश्यक छ । तर, पछिल्लो सयम यो विषयप्रति संगठन अल्छि भएको जस्तो देखिन्छ ।’
संगठनभित्रको निगरानीमा जोड दिँदासमेत यस्तो घटनाहरू न्युनीकरण हुने पूर्व डिआइजी ठकुरी बताउँछन् । उनी भन्छन्, ‘संगठनको प्रमुखले वा शाखाको प्रमुखले आफ्नो मातहतमा रहेका कर्मचारीहरूको ख्याल राख्नु पर्ने हुन्छ । उसको नेचर कस्तो कस्तो गतिविधि देखाउँछ ? सबै विषयमा ख्याल राख्नु आवश्यक छ । जसका कारण संगठनभित्रको गलत व्यक्तिको पहिचान हुन्छ र कारबाहीमा सहजता हुन पुग्छ ।’

दया दुदराज
<span style="color: #343f4a; font-family: Mukta, sans-serif; font-size: 18.4px; text-align: justify;">मेराेन्यूजकर्मी दुदराज सुरक्षा, प्रशासन र सामाजिक घटना सम्बन्धी विषयमा कलम चलाउँछन् ।</span>
प्रतिक्रिया