बुधबार, फागुन २०, २०८२

कति छ माधव नेपालको शक्ति ?

रामकृष्ण अधिकारी २०७८ भदौ १५ गते २०:३४

१५ वर्ष एमालेको पार्टी नेतृत्वमै रहेका माधव नेपालले नयाँ दल नेकपा (एकीकृत समाजवादी) गठन गरेसँगै एमालेको शक्ति कति क्षयीकरण हुन्छ भन्ने वहस अहिले शुरु भएको छ । केन्द्र देखि स्थानिय तहसम्म माधव नेपाल नेतृत्वको पार्टीमा कति शक्ति जान्छन् भन्ने प्रष्ट चित्र आएको छैन ।

Advertisement
nepal life insurencenepal life insurence


तर मंगलवारबाट प्रदेश तहका सांसदहरु खुल्न थालेका छन् । एमालेमा रहँदा माधव नेपालसँगै साथ रहेका दोस्रो तहका अधिकाशं नेताहरुले नयाँ पार्टी गठनमा नेपाललाई साथ दिएनन । दोस्रो तहका नेताले साथ नदिएपछि २०५४ सालमा एमाले विभाजन हुँदा वामदेव गौतमले फोडे जति पनि एमाले नेपालले फोर्न नसकेको टिकाटिप्पणी पनि हुन थालेको छ ।

पार्टी केन्द्रीय समिति या संसदीय दलमा २० प्रतिशत सम्म संख्या पुगे पार्टी नयाँ दर्ता गर्न पाउने सम्मको अध्यादेशको न्यान्द्रो समातेर नेपालले पार्टी विभाजन गरेकोले उनको शक्ति शुरुमै कमजोर देखिएको विश्लेषण भईरहँदा एमाले कति प्रतिशतसम्म टुक्रिन्छ भन्ने लेखाजोखा अव शुरु भएको छ ।

निर्वाचन आयोगले २२ भदौंसम्म स्थानिय तह र प्रदेश तहका जनप्रतिनिधीलाई दल रोज्न पाउने सुविधा दिएको छ । त्यही अनुसार मंगलवार बागमति प्रदेशका सामाजिक विकासमन्त्री सहित १२ प्रदेश सभा सदस्य र सुदुरपश्चिमका १० प्रदेश सभा सदस्यले नेकपा (एकीकृत समाजवादी) रोजेका छन् । तीन जनाको भने कागजपत्र नपुगेकाले मंगलबार सनाखत हुन सकेन । त्यो संख्या १४ पुग्ने अनुमान गरिएको छ । प्रदेश १ मा पनि १० सांसदले माधव नेपालको पार्टी रोज्ने वताईसकेका छन् । भोलि सम्भवत उनीहरुले दल रोज्न सनाखत गर्नेछन् ।

एमाले छँदा कति थियो माधव सँग शक्ति ?

एमालेमा छँदा माधव नेपाल कमजोर थिएनन । नवौं महाधिवेशनवाट उनी केपी ओलीसँग जम्माजम्मी ४६ मतले मात्र पराजित भएका थिए अध्यक्षमा । तर पदाधिकारीमा उनको समुहको बलियो उपस्थिती थियो । पार्टी अध्यक्षमा पराजित भएपनि उनी एमालेमा जर्वजस्त बलियो शक्तिका रुपमा थिए ।

पदाधिकारीमा उनीसँग उपाध्यक्षत्रय भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली साथमा थिए । अर्का उपाध्यक्ष बामदेव गौतम ओली समुहबाट जितेपनि माधव नेपालसँग पनि उत्तिकै नजिक थिए । अहिले बामदेव एमालेमै रहने या माधव नेपालको पार्टीमा जाने खुलेको त छैन । तर झुकाव उनको ओलीसँग भन्दा नेपालसँगै छ ।

उपमहासचिव घनश्याम भुषाल, सचिवत्रय योगेश भटटराई, गोकर्ण विष्ट र भीम आचार्य उनकै समुहका थिए । केन्द्रीय समितिमा ८७ नेता माधव नेपालको थिए । नेकपाकालिन केन्द्रीय कमिटिमा थप भएका सहित १०३ जना नेताहरु माधव नेपालसँग थिए । यो केन्द्रीय कमिटिको झण्डै आधा हिस्सा अर्थात ४३ प्रतिशत संख्या हो ।

प्रतिनिधीसभामा नेपालपक्षका ३७ जना सांसद आफ्नो पक्षका थिए । ओलीले चुनावमा टिकट नै नेपाल पक्षलाई नदिएको गुनासो नेपाल पक्षको रहँदै आएको थियो । तर त्यक्ति गर्दा पनि १२१ मा ३७ जना सांसद नेपाल पक्षको हुनु राम्रो उपस्थिती मानिएको थियो । राष्टिय सभामा ७ देखि १० जना सम्म नेपालका सांसद रहेको अनुमान गरिएको थियो ।

एमालेको जिल्ला कमिटिमा ४० भन्दा केही वढी जिल्लाको नेतृत्व माधव नेपाल पक्षका नेताकै नेतृत्वमा पार्टी थियो । पार्टीका प्रदेशगत इन्चार्जमा १ मा भीम आचार्य, बाग्मतिमा अष्टलक्ष्मी शाक्य र कर्णालीमा युवराज ज्ञवाली, सुदुरपश्चिममा भीम रावल नेतृत्वमा थिए ।

जवस मोर्चामा पनि नेपाल बलियो उपस्थितीमै थिए ।

नेपाल समुहको नेकपा कालमा र सर्वाेच्च अदालतले एमाले माओवादी अलग गरेपछि एमालेभित्रै अध्यक्ष ओलीसँगको अन्तरसंर्घषमा पनि नेपालसँग यो संख्यामा एकाध नेतावाहेक तलमाथी भएका थिएनन । तर नेपालले ओलीसँग नझुक्ने वरु विद्रोह नै वोल्ने नीति लिएपछि भने नेपालको सारथी दोस्रो पुस्ताका नेता हुन सकेनन ।

उनीसँग न अहिले एमाले कालमा रहेका पदाधिकारी छन, न स्थायी कमिटिकै नेताहरु नै । उनीसँग स्थायी कमिटिमा बेदुराम भुषाल र मुकुन्द न्यौपाने मात्र रहे । झलनाथ खनालले भने नेपाललाई दरिलो साथ दिएका छन् । नेपालसँग केन्द्रीय कमिटिका ५५ जनाले मात्र साथ दिए ।

नेपालसँग अहिले शक्ति कति ?


माधव नेपाललाई पार्टी विभाजनको चरणसम्म आईपुग्दा उनलाई नै ओलीसँग झुक्न नहुने भन्दै उकास्ने नेताहरु धेरैजसोले साथ छोडे । दायाँवायाँ पिल्लरका रुपमा रहेका अष्टलक्ष्मी शाक्य, भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुषाल लगायतका नेताहरुले चटक्कै छोडे । यतिसम्मकी उनको किचेन क्याविनेटमै रहेका रघुजी पन्त, विष्णु रिजालसम्मले पनि माधव नेपालको साथ छोडे ।


तर पनि नेपालले पार्टीभित्रकै तेस्रो पुस्ताको साथ लिएर पार्टी विभाजन गरे । उनको विद्रोहलाई ओलीले एमालेमा खास असर नगर्ने जिकिर गरिरहेका छन् । नुहाउँदा एक दुईओटा कपाल झरेको, चोइदिएको जस्ता अभिब्यक्ति ओलीले दिईरहेका छन् ।

तर नेपालले एमालेमा गरेको विभाजनले ओलीको प्रदेश सरकार भने जताततैको गुमेको छ । केन्द्रमा ओलीको सत्ता ढाल्न निर्णायक बनेको नेपाल समुहकै कारण प्रदेश सरकारवाट पनि एमालेले हात धुनु पर्ने अवस्था निम्तेको छ । नेपाल समुहकै नेताहरु भीम आचार्य र अष्टलक्ष्मी शाक्यलाई क्रमशः प्रदेश १ र वाग्मति प्रदेशको मुख्यमन्त्री बनाएर एमालेमा लाग्ने पहिरो रोक्ने र एमालेकै नेतृत्वको प्रदेश सरकार जोगाउने एमाले अध्यक्ष ओलीको प्रयास कामयावी हुन सकेको छैन ।

मंगलवार सम्मको परिदृश्यले प्रदेश १ र वाग्मतिको एमाले सरकार पनि ढल्ने देखिएको छ । वाग्मतिमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य नै अल्पमतमा परिसकेका छन् ।

बागमति प्रदेशमा एकल बहुमत भएकाले २ भदौमा डोरमणि पौडेलले राजीनामा दिएपछि शाक्य मुख्यमन्त्री बनेकी थिइन् । तर त्यही दिन एमाले फुटेर नेकपा (एकीकृत समाजवादी) दर्ताका लागि निर्वाचन आयोगमा निवेदन परेको थियो । त्यसवेला एमालेमा लाग्ने पहिरो रोक्न अष्टलक्ष्मीले कृष्ण खनाललाई पनि सामाजिक विकास मन्त्री बनाएकी थिइन् ।

उनले माधव नेपाल र केपी ओली दुवैले मुख्यमन्त्री बन्न प्रस्ताव गरे अनुसार बनेको बताएर इमोशनल ब्यल्कमेलिङ गर्न खोजेपनि माधव नेपालको साथ छोडेपछि उनी नेतृत्वको सरकार अव धरमराएको छ ।

राजेन्द्र पाण्डेले मंगलवार नै आफु स्वभाविक मुख्यमन्त्रीको प्रस्तावित उम्मेदवार रहेको बताईसकेका छन् । राजेन्द्र पाण्डे, राजेन्द्रमान श्रेष्ठ, लक्ष्मण लम्साल, बसुन्धरा हुमागाईं, रमा आले मगर, बसन्त मानन्धर, कुसुम कार्की, पार्वती सिलवाल, इन्द्रमाया गुरुङ, मुनु सिग्देल, माधव पौडेल र सामाजिक विकासमन्त्री कृष्ण खनालले नेकपा एकीकृत समाजवादी रोजेका हुन् ।


सुदुरपश्चिममा पनि मंगलवार नै १० प्रदेशसभा सदस्यले नेकपा एकीकृत समाजवादी रोजेका छन् । तीन जनाको भने कागजपत्र नपुगेकाले मंगलबार सनाखत हुन सकेन । १४ जना पुग्ने अनुमान नेकपा (एस)ले गरेको छ ।

सुदुरपश्चिममा दुर्गा विक, पूर्णा जोशी, माया भट्ट, अम्मरबहादुर साउद, कुलवीर चौधरी, मना साउद, सुशीला बुढाथोकी, बलबहादुर सोडारी, लालबहादुर खड्का र चुनकुमारी चौधरीले माधव नेपालको पार्टी रोजेका हुन् । निर्वाचन आयोगको कार्यालयमा पुगेका सांसदहरु दीर्घ सोडारी, तारा लामा तामाङ र अर्चना गहतराजको कागजपत्र नपुगेकाले मंगलबार सनाखत हुन नसकेको हो । उनीहरुको वुधबार सनाखत हुने वताईएको छ ।

कमजोर मानिएको र जनप्रतिनिधी नै नपाउने भन्दै एमालेले बताएपनि लुम्विनी प्रदेशमा पनि माधव नेपाल समुहमा एक जना प्रदेश सांसद खुलेका छन् । लुम्बिनी प्रदेशसभाकी सांसद रमा घर्ती मगरले मंगलवार माधव नेपालको पार्टी रोजेकी हुन् ।

नेपाल समुह रोजेका यी नेताहरुको गणित हेर्दा प्रदेश सरकारबाट अव एमालेले हात धुनु पर्ने अवस्था निम्तेको छ । स्थानिय तहका जनप्रतिनिधी भने अहिले नै खुलिसकेको छैनन । २२ भदौंसम्म यो चित्र स्पष्ट आउने देखिएको छ । जे-जति माधव नेपालको पार्टीमा खुलेका छन्, यो संख्यालाई कमजोर आक्न नहुने राजनीतिक विश्लेषकहरुले वताउँछन् ।

नेपाल निकट नेता जगन्नाथ खतिवडा कति संख्यामा मानिस आए, आउनन भन्ने अंकगणित मात्र ठूलो कुरा नभई उसले लिएको अडान कत्तिको सही र विधिसम्मत छ भन्ने कुराले पनि संगठनको शक्ति मापन हुने वताउँछन् ।

‘माधव नेपाल स्वंयम विधिमा लडने मान्छे भएको, जग देखि नै काम गरेको मेहनती मान्छे भएकोले र उहाँले लिएको विचारका कारण संविधान पनि वचेको र संसद पनि वचेकोले अहिले मान्छे यो आएन, उ आएन भन्ने देखिएपनि तल्लो गा्रउन्डमा राम्रो उपस्थिती देखिएको छ । पार्टी मजवुत बन्ने आधार देखिएको छ,’ खतिवडाले भने ।

नेपाल समुहले यस अगाडी गठन गरेका समानान्तर कमिटिहरु धमाधम अहिले नेकपा (एकीकृत समाजवादी)मा समाहित हुन थालेका छन् । महिला, युवा , विधार्थी र किसान संगठनहरु माधव नेपालको समुहमा खुल्न थालेका छन् ।

कति छन् अहिले माधव नेपालसँग शक्ति (मोटामोटी)


केन्द्रमा : केन्द्रीय समिति ५५ जना (तत्कालिन एमालेका)
सांसद : २३जना प्रतिनिधिसभा र ७जना राष्ट्रियसभा सदस्य
३ जना सनाखत गर्न गएपनि निर्वाचन आयोगले सनाखत मान्यता नदिएका (पछि के गर्छन खुलेको छैन)

प्रदेश १ : कम्तीमा १३ पुग्ने । १० जना तयार भईसकेको नेकपा एकीकृत समाजवादी रोज्न । वुधबार रोज्ने
प्रदेश २ : १३ जना सांसद नेकपा एकीकृत समाजवादीमा
बाग्मति प्रदेश : १२ सांसदले नेकपा एकीकृत रोजिसकेको । थप केही थपिन सक्ने अनुमान ।
गण्डकी मा खुलेको छैन ।
लुम्बिनीमा एक जना सांसद रमा घर्ती मगर ले नेकपा एकीकृत समाजवादी रोजेको ।
कर्णाली : खुल्न नसकेको । नेपालपक्षमा रहेका पहिले नै ४ सांसद पदमुक्त एमालेको कारवाहीमा परेको ।
सुदुरपश्चिम : १० प्रदेशसभा सदस्यले नेकपा एकीकृत समाजवादी रोजेका, तीन जना कागजपत्र नपुगेको , १४ पुग्ने अनुमान ।
स्थानिय तह : खुल्न वाँकी
समानान्तर रुपमा गठन गरिएका कमिटिहरु नेपालको पार्टीमा समाहित हुन थालेको ।
समानान्तर खोलिएका जनवर्गीय संगठनहरु नेपालको पार्टीमा समाहित हुन थालेको ।

०००

रामकृष्ण अधिकारी

अधिकारी मेरोन्यूज डटकमका सम्पादक हुन् ।

प्रतिक्रिया