बुधबार, वैशाख १७, २०८२

पूर्वराष्ट्रपति भण्डारीलाई स्याङ्जामा स्वागत

मेरोन्यूज २०८१ पुष ५ गते १२:२१

वालिङ (स्याङ्जा) । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई आज स्याङ्जाका विभिन्न स्थानमा स्वागत गरिएको छ । 

कालीगण्डकी गाउँपालिकामा अवस्थित प्रसिद्ध धार्मिक स्थल आलमदेवीको दर्शन तथा अवलोकनका लागि आज स्याङ्जा आइपुगेकी पूर्वराष्ट्रपति भण्डारीलाई स्याङ्जा र कास्कीको सिमाना फेदीखोला देखि पुतलीबजार, भिरकोट, वालिङ, गल्याङ र कालीगण्डकीमा स्थानीय लगायतले स्वागत गरेका हुन् ।

सडकमार्ग हुँदै यहाँ आएकी पूर्वराष्ट्रपति भण्डारीलाई जिल्लाका विभिन्न स्थानमा नागरिकले फूलमाला, बाजागाजा सहित स्वागत तथा सम्मान गरेका थिए । 

भण्डारीले आज दिउँसो शाह वंशको कुलदेवताको रुपमा रहेको आलमदेवी मन्दिरमा पूजाआजा र अवलोकन गर्ने कार्यक्रम रहेको कालीगण्डकी गाउँपालिका स्याङ्जाका अध्यक्ष खिमबहादुर थापाले जानकारी दिए । 

“पूर्वराष्ट्रपति भण्डारी आलमदेवी मन्दिरमा पूजाआजा तथा यस ठाउँको अवलोकन गर्नका लागि आउनुभएको हो”, उनले भने, “नितान्त पूजाआजाका लागि आउनुभएकाले औपचारिक कार्यक्रमको आयोजना गरिएको छैन ।” 

प्रतिक्रिया