कांग्रेसलाई क्रियाशील सदस्यबाट सभापति निर्वाचित गर्ने प्रक्रियामा लैजानुपर्छ- गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीका क्रियाशील सदस्यले सभापति निर्वाचित गर्ने प्रक्रियामा पार्टीलाई लैजानुपर्ने बताएका छन् ।
लोकतन्त्र दिवसका अवसरमा लोकतन्त्र संवाद केन्द्रले बिहीबार आयोजना गरेको ‘आजको लोकतन्त्र अवसर र चुनौती’ विषयक संवाद कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टीलाई रूपान्तरण गर्न अब सदस्यबीच यस्तो बहस आवश्यक रहेको बताएका हुन् ।
पार्टीका नेतामा गुटप्रतिको बफादारिता बढेका कारण यस्तो व्यवस्थाले पार्टीप्रति बफादार हुने महामन्त्री थापाको भनाइ थियो ।
गुटका कारण नेतृत्वको ध्यान राष्ट्रिय समस्या समाधानतर्फ जान नसकेकाले पार्टी सभापति क्रियाशील सदस्यले छान्ने व्यवस्थामा पार्टी जानुपर्नेमा उनले जोड दिए ।
विगतमा राजा नै राजावादी नभएका कारणले नेपालबाट राजतन्त्रको अन्त्य भएको उल्लेख गर्दै उनले अब नेपालमा राजतन्त्र फर्कने सम्भावना नरहेको बताए ।
मुलुकको शीर्ष नेतृत्व वैधानिक भए पनि वैध नभएकाले नागरिकमा असन्तुष्टि बढेको उल्लेख गर्दै थापाले वैध नेतृत्व ल्याउन सबैको सहयोग हुनुपर्ने उनको भनाइ थियो ।
प्रतिक्रिया