आइतबार, पुष १३, २०८२

सत्ता गठबन्धनको कार्यदलमा सहभागी माओवादीका नेताहरू बिरामी

मेरोन्यूज २०७९ भदौ २७ गते १८:५७

काठमाडौँ । सत्ता गठबन्धन दलका शीर्ष नेताहरू सिट बाँडफाँटको विषय टुंग्गो लगाउन बैठक बस्दै आएका छन् । सत्ता गठबन्धनले बनाएको सिट बाँडफाँट कार्यदलले प्रतिवेदन बुझाएसँगै शीर्ष नेताहरू घनीभूत छलफलमा बस्दै आएका हुन् ।

शनिबार दिउँसो बस्ने भनिएको बैठक गठबन्धनमा सहभागी दल जनता समाजवादी पार्टी (जसापा)का अध्यक्ष उपेन्द्र यादव नआएपछि आइबारका लागि सरेको थियो । आइतबार बिहान ८ बजे बस्ने भनिएको बैठक केही ढिला गरी सुरु भएको थियो ।

सिट बाँडफाँटको टुंग्गो लगाउने गरी सुरु भएको बैठक विना निष्कर्ष सकिएपछि आज पुनः बैठक बस्दै छ । कार्यदलको सदस्य तथा सरकारका प्रवक्तासमेत रहेका कांग्रेस नेता ज्ञानेन्द्र कार्कीका अनुसार दलहरूले आआफ्नै दाबी पेश गर्दै आएको छ ।

‘एउटै सिटमा २–३ पक्षले दाबी गरेको छ, त्यसलाई समाधान गर्न दुई पक्षीय र त्रिपक्षीय र सामूहिक रुपले छलफल भइरहेको छ’, उनले भने, ‘सबैले लचिलो हुनुको विकल्प छैन, सुक्ष्म ढंगले विश्लेषण गरिरहेका छौँ ।’

सिट बाँडफाँटमा सकस भइरहँदा गठबन्धनको अर्को घटक नेकपा माओवादी केन्द्रका तर्फबाट कार्यदलमा सहभागी भएका नेताहरू विरामी भएका छन् । कांग्रेस नेता कृष्णप्रसाद सिटौलाको नेतृत्वमा बनेको ११ सदस्यीय कार्यदलको सदस्यहरूमा माओवादीबाट महासचिव देव गुरुङ र उपमहासचिव वर्षमान पुन सहभागी भएका थिए । उनीहरू दुवैजना विरामी भएपछि माअ‍ोवादी केन्द्रलाई बैठकमा सकस भएको छ ।

जसमा महासचिव गुरुङलाई डेंगु संक्रमण पुष्टि भएपछि उपचार गराइरहेका छन् । एक हप्तादेखि विरामी भएका उनी सत्ता गठबन्धनको बैठकमा सहभागी हुन सकेका छैनन् ।

यस्तै, माओवादीबाट कार्यदलमा सहभागी उपमहासचिव पुन आइतबारदेखि विरामी भएका छन् । उनलाई कोरोना संक्रमण पुष्टि भएको हो । उनलाई दोस्रोपटक कोरोना संक्रमण भएसँगै बैठकमा अनुपस्थित भएका छन् ।

यसअघि कार्यदलका संयोजक तथा नेपाली कांग्रेसका नेता सिटौला विरामी भएका थिए । उनलाई पनि कोरोना संक्रमण पुष्टि भएको थियो ।

कार्यदलमा सिटौलासँगै कांग्रेसबाट महामन्त्री गगन थापा र ज्ञानेन्द्रबहादुर कार्की रहेका छन् । यस्तै माओवादी केन्द्रका दुई नेतासहित नेकपा एकीकृत समाजवादीबाट महासचिव बेदुराम भुसाल र प्रमेश हमाल, जसपाबाट रामसहायप्रसाद यादव र रकम चेम्जोङ सदस्य छन् । त्यस्तै, राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा सदस्य रहेको छन् ।

प्रतिक्रिया