श्रमिक–कर्मचारीको सामाजिक सुरक्षालाई बोझका रूपमा नलिन प्रधानमन्त्रीको आग्रह

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आफ्ना श्रमिक–कर्मचारीको सामाजिक सुरक्षालाई बोझको रूपमा नलिन निजी क्षेत्रसँग आग्रह गरेकी छन् । आठौँ सामाजिक सुरक्षा दिवसका अवसरमा बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले श्रमिकको सामाजिक सुरक्षालाई शानको रूपमा लिनुपर्ने बताइन् ।
परिपूर्ण सामाजिक सुरक्षाबिना सामाजिक न्याय सम्भव नहुने उल्लेख गर्दै प्रधानमन्त्री कार्कीले नेपाल जस्तो मुलुकमा सामाजिक सुरक्षा अन्तरपुस्ता लागत सन्तुलन र समतामूलक बनाउन योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन हुनुपर्ने बताइन् । “यसको सफल कार्यान्वयनबाट नै हुनेले नहुनेलाई, धनीले गरिबलाई, निरोगीले रोगीलाई प्रणालीबद्ध रूपले सहयोग गर्ने सामाजिक ऐक्यबद्धताको सिद्धान्तमा आधारित उत्पादनमूलक समाजको निर्माण हुने रहेछ”, उनले भनिन् ।
एकीकृत, दिगो र सक्षम सामाजिक सुरक्षा प्रणाली निर्माण गर्न सरोकारवालाबाट उठान भएका विषय सम्बोधन गर्न छलफल भइरहेको उनको भनाइ छ । “औपचारिक क्षेत्रको अनिवार्य आबद्धताको कार्यान्वयन, अनौपचारिक क्षेत्रका श्रमिकलाई कानुनी रूपमा गर्नुपर्ने सह–योगदानमा संघीय सरकारले कति गर्ने, सरकारी संयन्त्रअन्तर्गत करारमा रहेका कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आबद्ध भएको महसुस कसरी गराउनेलगायत विषय सम्बोधन हुने विश्वास दिलाउँछु”, उनले भनिन् ।
दिन प्रतिदिन आकार बढ्दै गएको सामाजिक सुरक्षा कोषलाई राष्ट्र निर्माणमा कसरी उपयोग गर्ने भन्ने सन्दर्भमा पनि गृहकार्य हुन आवश्यक रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले प्रत्येक श्रमिक र रोजगारदाताले जम्मा गरेको रकम सार्थक परिणाम दिने क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिइन् ।
कोषका कार्यकारी निर्देशक कविराज अधिकारीले औपचारिक क्षेत्रका ६ लाख ४९ हजार ५११, वैदेशिक रोजगारीमा रहेका १९ लाख ९६ हजार ५७९, अनौपचारिक क्षेत्रका ७९९ र स्वरोजगार क्षेत्रका ५८२ श्रमिक योजनामा आबद्ध भइसकेका जानकारी दिए ।
कोषका अनुसार बुधबारसम्म साढे २६ लाख नागरिक योगदानमा आधारित सामाजिक सुरक्षाको छाताभित्र समेटिएका छन् । कोषले श्रमिकका लागि औषधि उपचार, स्वास्थ्य तथा मातृत्व, दुर्घटना अशक्तता, आश्रित परिवार सुरक्षा र वृद्धावस्था सुरक्षा योजना सञ्चालन गरिरहेको छ । उल्लेखित योजनाबाट श्रमिक र तिनका परिवारले विभिन्न सुविधा र सहुलियत प्राप्त गर्दै आइरहेको कोषले जनाएको छ ।
कोषमा हालसम्म ९५ अर्ब ६८ करोड योगदानमा आधारित रकम संकलन भइसकेको छ । कोषबाट २ लाख ५३ हजार १४३ श्रमिकले विभिन्न सुविधाबापत १७ अर्ब ७२ करोड दाबी भुक्तानी लिएका छन् । कोषले योगदानकर्तालाई स्वास्थ्य सुविधाको अतिरिक्त बचतको व्याज, निश्चित अवधिपछि मासिक पेन्सन, घर सापटी, शैक्षिक सापटीलगायत सहुलियत प्रदान गर्दै आइरहेको छ ।









चीनमा रेल दुर्घटना हुँदा ११ जनाको मृत्यु
Issues instigating conflict being kept under control: Home Minister Aryal
सुमित बर्माको अर्धशतकमा पोखराले जनकपुरलाई दियो १५६ रनको लक्ष्य
१० अंकले बढ्यो नेप्से, ६ अर्ब ६६ करोडकाे काराेबार
पूर्वसभामुख महरा धरौटी बुझाएर रिहा
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
आज २०८२ साल मंसिर ९ गते मंगलबारको राशिफल
प्रधानसेनापतिद्वारा सहायक रथीलाई दर्ज्यानी चिन्ह प्रदान
संयुक्त राष्ट्रसङ्घका मानवअधिकार प्रमुखद्वा्रा ‘जेनेरेटिभ एआई’ ले ल्याउनसक्ने समस्याबारे चिन्ता व्यक्त
महाधिवेशन नेतृत्व चयनमा मात्र केन्द्रित हुन्छ : महासचिव पोखरेल
प्रतिक्रिया