मंगलबार, वैशाख ९, २०८२

उद्योग विभाग र लगानी बोर्डबाट स्वीकृति पाएपछि विदेशी लगानीका लागि राष्ट्र बैंकको स्वीकृति लिनु नपर्ने

मेरोन्यूज २०७८ जेठ २५ गते १८:५७

काठमाडौं । विदेशी लगानीका लागि नेपाल राष्ट्र बैंकको स्वीकृति लिनु नपर्ने भएको छ । राष्ट्र बैंकले मंगलबार विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली, २०७८ जारी गरी नेपालमा विदेशी लगानी ल्याउन स्वीकृति आवश्यक नपर्ने व्यवस्था गरेको हो ।

यसअघि गत जेठ १७ गते राष्ट्र बैंकको सञ्चालक समितिले उक्त विनियमावली स्वीकृत गरेको थियो ।

उद्योग विभाग र लगानी बोर्डबाट स्वीकृति पाएपछि विदेशी लगानी ल्याउन राष्ट्र बैंकको स्वीकृति नचाहिने भएको विदेशी विनिमय व्यवस्थापन विभागका कार्यकारी निर्देशक रामु पौडेलले जानकारी दिए ।

विनियमावलीमा विदेशी लगानीकर्ताले डलरमा लगानी ल्याउन केन्द्रीय बैंक धाउन नपर्ने उल्लेख छ । विदेशी मुद्रा लगानी हुने कम्पनी तथा उद्योगको कायम हुने चुक्ता पुँजीको ३ प्रतिशतमा नबढ्ने गरी लेखापरीक्षकबाट खर्च प्रमाणित गरेबमोजिम विदेशी लगानीमा गणना गर्न सकिने व्यवस्था विनियमावलीमा छ ।

विदेशी लगानी हुन नसकेको खण्डमा वा विदेशी लगानीमा गणना भएको रकमभन्दा बढी रकम भएमा रकम फिर्ता पठाउन सकिने उल्लेख नभएको केन्द्रीय बैंकले जनाएको छ । विदेशीले कम्पनी तथा उद्योगको दर्तालगायतका सम्भाव्यता अध्ययन खर्च र पूर्वसञ्चालन खर्च बापतको विदेशी मुद्रा इच्छुक विदेशी लगानीकर्ताले बैंकिङ प्रणालीमार्फत नेपाल भित्रउन डलरमा हुने लगानीको पूर्वस्वीकृति वा राष्ट्र बैंकको स्वीकृति अनिवार्य नभएको विनियमावलीमा स्पष्ट छ ।

बैंक तथा वित्तीय संस्थाले इच्छुक विदेशी लगानीकर्ता वा निजको आधिकारिक स्थानीय प्रतिनिधिको खातामा जम्मा गरिदिन व्यवस्थाले सबैलाई सहज हुनेछ । नेपाल भित्रिएको विदेशी लगानी बापतको रकम बैंक तथा वित्तीय संस्थाले कागजातको यकिन गरी सम्बन्धित कम्पनी वा उद्योगको खातामा जम्मा गर्नेछ ।

शेयर स्वामित्व परिवर्तन भई गरिने विदेशी लगानी बापतको विदेशी मुद्रा नेपाल पठाउन वा भित्रयाउन भने राष्ट्र बैंकको पूर्वस्वीकृति लिनुपर्नेछ । यसरी राष्ट्र बैंकबाट स्वीकृति प्राप्त गरेको विदेशी लगानीबापतको विदेशी मुद्रा बैंक तथा वित्तीय संस्थाले यकिन गरी सम्बन्धित उद्योग÷कम्पनीको खातामा जम्मा गर्ने व्यवस्था विनियमावलीमा गरिएको छ ।

लगानी ल्याउन स्वीकृति लिनुनपर्ने व्यवस्था गरे पनि फिर्ता लैजान अनुमति लिनुपर्ने व्यवस्थालाई कायम राखिएको छ । विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ को दफा २० तथा दफा २६ का व्यवस्था बमोजिम विदेशी लगानीको सेयर बिक्रीबाट प्राप्त रकम, विदेशी लगानीबाट प्राप्त नाफा वा लाभांश बापतको रकम, उद्योग वा कम्पनी खारेजी वा लिक्विडेसनमा गएकोमा यसपछि सम्पूर्ण दायित्व चुक्ता गरी बाँकी रहन आउने रकम, प्रविधि हस्तान्तरण सम्झौता अन्र्तगत रोयल्टी बापतको रकम रहेको छ ।

शतप्रतिशत मदिरा निकासी गर्ने मदिराजन्य उद्योगबाहेक अन्य मदिराजन्य उद्योगमा हुने प्रविधि हस्तान्तरण अन्तर्गतको ट्रेडमार्क उपभोग हुने बापतको रोयल्टी वा शुल्कको हकमा त्यस्तो लाभ बापतको रकम विदेशी लगानी तथा प्रविधि हस्तान्तरण नियमावली, २०७७ बमोजिम हुनेछ ।

लगानी तथा आर्जित रकम फिर्ता लैजान विदेशी मुद्राको सटही स्वीकृतिका लागि विदेशी लगानीकर्ता वा विदेशी लगानी भएको कम्पनी÷उद्योगले कागजात संलग्न गरी एकाइमा निवेदन पेश गर्नुपर्नेछ ।

विदेशी लगानी तथा आर्जित रकम फिर्ता लैजाने सटही सुविधा प्रदान गर्दा विदेशी लगानी स्वीकृत गर्ने निकाय वा सम्बन्धित निकायको स्वीकृति÷सिफारिसको आधारमा गरिने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया